मालपोत कार्यालय बागलुङमा आजदेखी बैंक मार्फत राजश्व संकलन सुरु !

किरण आचार्य बागलुङ २०७६ असोज १ । मालपोत कार्यालय बागलुङमा आजदेखि बैंकिङ प्रणाली मार्फत राजश्व संकलन शुरु गरिएको छ । प्रभु बैंकले मालपोत कार्यालय भित्रै ‘मालपोत एक्सटेन्सन काउण्टर’ राखेपछि मालपोतमा हुने राजश्व संकलन बैंक मार्फत गर्न लागिएको प्रभु बैंकले जनाएको छ ।

‘मालपोत एक्सटेन्सन काउण्टर’को मालपोत कार्यालय प्रमुख विष्णु प्रसाद शर्मा र कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख केशवराज ढकालले संयुक्त रुपमा उद्घाटन गरेका थिए । मालपोत कार्यालयको सेवालाई पारदर्शी बनाउनका लागि नगद बिहीन (क्यासलेस) कार्यालय बनाइएको जिल्ला मालपोत कार्यालयका प्रमुख विष्णु प्रसाद शर्माले बताए ।

‘मालपोतमा जग्गाको खरिद विक्रि लगायतका काम गर्दा सबै फाँटमा नगद कारोवार हुन्छ’ मालपोत प्रमुख शर्माले भने ‘नगदको सुरक्षा र पारदर्शीताको लागि बैंक मार्फत राजश्व संकलन थालिएको हो ।’ मालोपोत कार्यालयमा हुन आर्थिक अनियमिततालाई समेत बैंक काउण्टर स्थापना पछि निस्तेज पार्ने बताइएको छ ।

कार्यालयको पहलमा प्रभु बैंकले ३१ औं शाखाको रुपमा बागलुङ जिल्लामा पहिलापटक एक्सटेन्सन काउण्टर स्थापना गरिएको प्रभु बैंक बागलुङका प्रमुख अर्जुन शर्माले बताए ।

‘बैंकले देशैभर कार्यक्षमतालाई विस्तार गरिरहेको सन्र्दभमा बागलुङमा पहिलोपटक ‘एक्सटेन्सन काउण्टर’ स्थापना गरेको छ’ शाखा प्रमुख शर्माले भने ‘कार्यालयको राजश्व संकलन बाहेक नगद जम्मा र सटही समेत गर्न सकिन्छ ।’ जग्गाको कारोवार गर्न आउने सेवाग्राहीहरुले कार्यालयले तोकेको राजश्व बैंकमा जम्मा गरेपश्चातको भौचरका आधारमा मालपोत कार्यालयले सेवा प्रदान गर्ने जिल्ला मालपोत कार्यालयले जनाएको छ । बैंकले नगदको बढीमात्रमा कारोवार हुने सरकारी कार्यालय धौलागिरि यातयात व्यवस्था कार्यालय बागलुङ तथा जिल्ला प्रशासन कार्यालय बागलुङमा समेत छिट्टै एक्सटेन्सन काउण्टर स्थापना गरिने बताएको छ । प्रभु बैंकले बागलुङ जिल्लामा आठ ओटा शाखा मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !