लमजुङको बागलुङपानी बालमैत्री वडा घोषणा : शिक्षा विना विकास, समृद्वि र परिर्वतन असम्भव- मन्त्री लम्साल

माधव पराजुली, पोखरा २०७६ भदौ ३० । लमजुङको क्व्होलासोंथार गाउँपालिका वडा नं. १ बागलुङपानीलाई बालमैत्री वडा घोषणा गरिएको छ । बालबालिका सम्वन्धी विभिन्न ३९ बुँदे मापदण्ड पुरा गरेपछि बागलुङपानीलाई आईतवार बालमैत्री वडा घोषणा गरिएको हो ।

बालमैत्री स्थानीय शासनका न्युनतम सूचकहरु बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागीता र संस्थागत विकास सम्बन्धीका सबै सूचकहरु पुरा गरेपछि उक्त वडालाई जिल्लाकै पहिलो बालमैत्री वडाका रुपमा घोषणा गरिएको हो ।

आईतवार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले उक्त वडालाई बालमैत्री वडा घोषणा गरेका हुन् । सो अवसरमा बोल्दै उनले बालबालिकाको स्वास्थ्य, सुरक्षा, पोषण, शिक्षा हक लगाएत संविधानले प्रदान गरेका बालबालिका सम्बन्धी हक कार्यन्वयन गर्न तर्फ लाग्न स्थानियवासीलाई अपिल गरेका थिए । बालबालिकाहरुको जीवन सुखमय र फलदायी बनाउन उनीहरुको नियमित गतिविधिलाई नजिकबाट नियाल्दै मनोरम वातावरणमा हुर्काउदै देशको लागि सक्षम नागरिक तथा समाजको अग्रगामी विकास गर्ने अगुवा बनाउन बालमैत्री स्थानिय शासनको आवश्यता रहेको औल्याए ।

मन्त्री लम्सालले बालबालिका भविष्यका कर्णधार रहेको भन्दै बालबलिकाहरुलाई स्वस्थ, निरोगी र असल आचरणयूक्त बनाई शान्त मनोरम वातावरणमा गुणस्तरिय शिक्षा प्रदान गरि देशको भविष्य सुन्तदर बनाउने जिम्मेवारी सुम्पिनु पर्ने बताए । मन्त्री लम्सालले भने ”हामीले बाबालिकाहरुलाई समयै ज्ञान दिलाउन सकेनौँ भने सुन्दर देश निर्माणमा बाधा पुग्छ । शिक्षा विना विकास, समृद्वि र परिर्वतन सम्भव नरहेको मन्त्री लम्सालको भनाई थियो ।

मन्त्री लम्सालले शिक्षाको गुणस्तर दिनानुदिन खस्किदै गएको तथा बच्चा बढाउन अभिभावकहरुको ध्यान शहरकेन्द्रित भएको वर्तमान अवस्थामा गाउँका बिद्यालयहरुले गुणस्तरयुक्त शिक्षा प्रवाह गर्नुसक्नुपर्ने समेत बताए ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई लमजुङका प्रमुख वीर बहादुर. गुरुङ, वडा नं. २ का वडाध्यक्ष वुद्वि प्रसाद गुरुङ, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङका स्वकीय सचिव सुर्य प्रसाद गुरुङ, वाल क्लवका अध्यक्ष सुनिल तामाङ लगाएतले बोल्नुभएको थियो । सोहि अवसरमा विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !