सामुदायिक रेडियो पुष्पाञ्जलीको आफ्नै भवनबाट प्रशारण सुरु !

अनिश शर्मा गैरे, गुल्मी २०७६ भदौ २९ । सामुदायिक रेडियो पुष्पाञ्जलीले आफ्नो भवन निर्माण कार्य सम्पन्न गरेको छ । गुल्मीको मुसिकोट नगरपालिका ७ वामी बसपार्कमा रहेको भाडाको घरबाट सोही वडाकै पल्टारमा रेडियोले आफ्नै भवन निर्माण गरी आफ्नै निजी भवनबाट प्रशारण पनि सुरु गरेको छ ।

रेडियोको लागि भवन निर्माण गर्न मुसिकोट नगरपालिकाले एक लाख रुपैया सहयोग गरेको थियो भने रेडियोकै सञ्चालक समिति सदस्य अर्जुन सापकोटा तथा बुवा गोबिन्द सापकोटाले प्रदान गरेको जग्गामा रेडियोले भवन निर्माण गरिएको हो । भवन निर्माणकोे लागि आवश्यक अन्य श्रोत रेडियो आफैले जुटाएको हो ।

सो भवनको शिलान्यास मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले गरेका थिए । हालसम्म सामान्य फलामे पाइपमा उपकरण जडान गरि सञ्चालित रेडियोले आफ्नै व्यवस्थित टावर पनि बनाएको छ । आयव्याय विवरण केही समयमा सार्वजनिक गरिने बताउदै रेडियोका अध्यक्ष सुदर्शन शाक्यले केही दिन पछि भवनको उद्घाटन पनि गरिने जानकारी दिए ।

सूर्यनारायण सञ्चार अभियानव्दारा सञ्चालित सामुदायिक रेडियो पुष्पाञ्जली गुल्मीको ग्रामिण भेगबाट २०७० साल जेठ २८ गते परीक्षण प्रशारण सुरु गरी सोही बर्षकै भदौ १ गतेबाट नियमित प्रशारण सुरु गरिएको थियो । ‘सुचना, सञ्चार, कृषि, पर्यटन विकास र समुन्नत समाज निर्माणको लागि’ सामुदायिक रेडियो पुष्पाञ्जली भन्ने नारा सहित स्थापित रेडियो नया भवनमा सरेसँगै यसको प्रशारण क्षेत्र पनि बढेको छ । गुल्मीको मुसिकोट नगरपालिका सहित, चन्द्रकोट गाँउपालिका, इस्मा गाँउपालिका, मालिका गाँउपालिका, रेसुङ्गा नगरपालिका सहित बागलुङको बडीगाड गाँउपालिका, ढोरपाटन नगरापालिका तथा गल्कोट नगरपालिका सहितका अधिकांश क्षेत्रमा स्पष्ट सुनिएको हाम्रा श्रोताहरुले जानकारी दिएका छन् । रेडियोे अव नया व्यवस्थापनका साथ नया कार्यक्रमहरु उत्पादन गर्दै अघि बढ्ने छ ।यसैबिच आफ्नै भवनबाट रेडियोले नियमित प्रशारण पनि सुरु गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !