फलेवास नगरपालिका देविस्थानमा बाख्रामा कृत्रिम गर्भाधान सफल !

लक्ष्मण बीसी,फलेवास २०७६ भदौ २७ । पर्वत फलेवास नगरपालिकामा बाख्रामा कृत्रिम गर्भधान प्रक्रिया सफल भएको छ । परिक्षणको रुपमा नगरको वडा नं. ६ देविस्थानका कृषकहरुका १६ वटा बाख्राहरुमा कृत्रिम गर्भधान गरिएको थियो ।

ती बाख्राहरुमध्ये पहिलो पटक गत हप्ता देविस्थानका वडा अध्यक्ष भोलानाथ भुसालको बाख्राले पाठो जन्माएपछि उक्त कृत्रिम गर्भधान प्रक्रिया सफल भएको पशु सेवा शाखा फलेवासका पशु स्वास्थ्य प्राविधिक प्रताप पौडेलले जानकारी दिएका छन ।

बाख्रामा कृत्रिम गर्भधान गर्दा बाख्राले बोका खोजेको २४ घण्टा र ३६ घण्टा गरि दुई पटक कृत्रिम गर्भधान गराउनुपर्ने र स्थानीय जातका बाख्राहरुमा कृत्रिम गर्भधान गर्दा दोस्रो बेतको जीउ ठूलो भएको माउ हुनुपर्ने उनले बताए । प्रथम पटकको कृत्रिम गर्भधानबाट जन्मिएको पाठापाठी ५० प्रतिशत बोयर हुने र बोयरको वृद्धिदर दैनिक २८० ग्राम हुने पौडेलले बताए । शुद्ध बोयर बोकाहरुको मुल्य ३ लाख पर्ने तर कृत्रिम गर्भाधान हालसम्म निशुल्क गरिएको उनले बताए ।

बाख्रामा कृत्रिम गर्भाधान सेवा अहिले वडा नं.६ देविस्थानमा मात्र परिक्षणको रुपमा संचालन गरिएको छ । अब बाँ वडाहरुमा पनि सेवा बिस्तार गरिने पौडेलको भनाई छ । बाख्रामा कृत्रिम गर्भाधान सेवा बिस्तार गरिएपछि उन्नत जातका बोका उत्पादनमा वृद्धि भै व्यवसायी कृषकहरु आर्थिक रुपमा सबल बन्न सक्ने छन । कृत्रिम गर्भाधानबाट बाख्रा ब्याउने भएपछि बाख्रा पालक कृषकहरु उत्साहित भएका छन् ।

बोका पाल्न नपर्ने तथा आफुलाइ मन लागेको उन्नत जातको बोकाको विर्यबाट कृत्रिम गर्भाधान गराउन सकिने भएपछि कृषकहरु कृत्रिम गर्भाधानतर्फ आर्कषित भएका छन् ।
फलेवास नगरपालिकामा साबिक धौलागिरीमा नै सबैभन्दा बढी गाईभैसीँमा कृत्रिम गर्भाधान गरिएको छ । जसमध्ये ४ सय ६० वटा गाई र २ सय ४० वटा भैसीँमा कृत्रिम गर्भाधान गरिएको कृषि प्राविधिक पौडेलले बताए । फलेवास नगरपालिकाले नश्ल सुधारमा जोड दिदै दुध उत्पादनमा आधारित अनुदान कार्यक्रमको सुरुवात समेत गरेको छ ।
नगरपालिकाले यस आर्थिक बर्षमा कृषि उत्पादन तथा पशु पालन र कृत्रिम गर्भाधानमा बिषेश जोड दिएको छ । आब २०७६ ( ०७७ मा कृषिमा ९० लाख र पशु सेवामा ७९ लाख बजेट बिनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।

कृत्रिम गर्भाधान गरिएका बस्तुभाउको गोठ गोठमा नै पुगेर अनुगमन तथा प्राबिधिक सल्लाह र औषधि उपचार गरिएको पशु सेवा केन्द्र फलेवासले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !