सिंचाई कुलो पहिरोले बगाउँदा ७५ हेक्टर खेत बाँझै, सत्यवती-२ चेहमीका किसानको पुम्पुरामा हात !

प्रेम सुनार, गुल्मी २०७६ भदौं २६ । गुल्मीको सत्यवती गाउँपालिका वडा नम्वर २ चेहमी गाउँका बासीन्दाहरु यस बर्ष आफुहरुको ७५ हेक्टर भन्दा बढी खेतमा धान रोपाई गर्न नपाएर पुम्पुरामा हात लगाएर बस्ने भएका छन । गत आर्थिक बर्षमा उक्त कुलो ममर्त सम्भारका लागि सिचाई डिभिजन कार्यालय गुल्मी मार्फत सरकारले खर्च गरेको सवा दुई करोड भन्दा बढि रकम पनि पहिरोले नै बगाएर क्षति गरेको छ ।

गत साउन ६ गतेको अविरल बर्षा संगै गएको पहिरोले गुल्मीको सत्यवती गाउँपालिका वडा नम्वर ३ र ४ को घटना सञ्चार माध्यमले जोडदार ढंगले उठाए पनि सोही गाउँपालिकाको वडा नम्वर २ मा पर्ने चेहमीमा भएको करोडौंको क्षति भने ओझेलमा परेको छ । साविकको ठुलोलुम्पेक गाविस सत्यवती गाउँपालिकाको दुई वटा वडा बनेको छ । वडा नम्वर २ चेहमी गाउँमा सोही दिन आएको भिषण पहिरोले २ करोड २५ लाख १६ हजार लागतमा असार मशान्त भित्रै सम्पन्न पक्की कुलो बगाएर क्षतिग्रस्त बनेको हो ।

२०१८ सालको बाढिले भन्दा ठुलो क्षति
पहिरोल कुलो क्षतिग्रस्त बनाई दिए पछि चेहमी फाँटमा यस बर्ष धान रोपाई हुन सकेन । जसका कारण चेहमी गाउँका २ सय २५ घरधुरी ठुलो मारमा परेका छन । चेहमी गाउँका ८९ बर्षीया बयोबृद्ध थानेश्वर कुँवर भन्छन –‘मैले २०१८ सालको भिषण बाढी पहिरो पनि देखेँ तर यस बर्षको साउन ६गते जस्तो ठुलो क्षति हुने गरि यस गाउँमा आएको बाढि पहिरो मैले यस अघि जानिन् ।’

उनका अनुसार चेहमी सिचाई योजनालाई गाउँघरमा बनकुलो भन्ने गरिन्छ । २०११ सालबाट चेहमीवासीले उक्त वनकुलो खन्न सुरु गरि २०२० सालबाट ७ सय किलो मिटर कुलो सम्पन्न गरि चेहमीको समथल जमिनलाई फाँट बनाउन सफल भएका थिए । २०६५ सालमा पनि सिचाई डिभिजन कार्यालय गुल्मीबाटै परेको ६८ लाख रुपैयाँबाट कुलो मर्मत सम्भार गरिएको थियो ।
उक्त वन कुला खण्डको ७ किलो मिटर आरसिसी ढलान गरेर पक्की र दिर्घकालिन गराईयो भनेर सन्तोष ब्यक्त गर्दै थियौं , मोही मध्येका स्थानिय शिक्षक शेरबहादुर कुँवरले भने भर्खर कुलो पक्की बनाएर खेत रोप्ने तयारी गरिरहेका बेला माथीबाट खसेको पहिरोले पुरै बगाएर लग्यो । ३० मुरी धान फलाउने कुँवरले भने सिचाई कुलो नभए पछि यसपाली जोतेर गहत छरेका छौं ।

उनले त्यस कुलोबाट चेहमी गाउँका १३ सय घरधुरी लाभान्वित हुने बताए । झण्डै पाँच हजार मुरी धान फल्ने उक्त चेहमी फाँट यति बेला सुख्खा हुँदा किशानहरु चिन्तित बनेका छन । बर्षेनी करिव ४० मुरी सम्म धान फलाउने चेहमीका रविन्द्र कुँवर, २५ मुरी धान फलाउने कल्पना तरामु , २५ मुरी धान फलाउने पिताम्वर कुँवर सहित २ सय २५ घरधुरी फेरी त्यो कुलो निर्माण गर्ने रकम सरकारी निकायबाट पर्ने हो कि होईन भन्ने चिन्तामा छन । त्यस चेहमी सिचाई .( वनकुलो ) उपभोक्ता समितिका अध्यक्ष चित्रबहादुर कुँवरले आज आफु त्यस योजनाको काम लिएर सिचाई डिभिजन कार्यालय तम्घास आएको बताए । कुलो भत्कीदा हामीहरु रनाहमा पर्ने भएका छौं, उनले भने २ सय २५ घरधुरीले खेत रोप्नै पाएनन ।

मुख्यमन्त्री सम्म कुरा पुराएका छौंः गाउँपालिका प्रमुख
यस सम्वन्धमा सत्यवती गाउँपालिका प्रमुख पारिश्वर ढकालको ध्यानकृष्ट गराउँदा आफुले उक्त क्षति अवलोकन गरि आएको बताए । उनले भने –‘ त्यहाँ त बर्बादै भएको छ । मैले गएर हेरं, २८ ठाउँमा पहिरो गएको छ । म आफु नै केन्द्रमा गएर सवा दुई करोड भन्दा बढि रकम पारेर गत बर्ष मात्रै पक्की कुलो बनेकोा थियो । जुन उपभोग गर्न नपाउँदै पहिरोले बगाएको छ ।’
‘हिजो मुख्यमन्त्री ज्यु गुल्मी आएको बेला हामीले कुरा राख्यौं । अहिलेलाई सिचाई डिभिजन कार्यालयले करिव डेढ करोडको डिपीआर तयार पारेको छ । जिल्ला समन्व्य समितिका प्रमुख लक्ष्मण पराजुली र मैले मुख्यमन्त्री शंकर पोखरेलज्यु संग कुरा राख्यौं उहाँ, त्यहाँ रकम पार्ने कुरामा सकरात्मक हुनु भएको छ , हाम्रो गाउँपालिकाकी उपाध्यक्ष सुवर्ण शाही शेरचन जि, म र समन्वय प्रमुखज्यु मुख्यमन्त्री कहाँ जाने कुरा भएको छ’ –उनले भने ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !