मल्ममा नयाॅ ट्रान्सफर्मर मार्फत विद्युत सेवा सञ्चालन : वडा अध्यक्ष थापा द्वारा समुदघाटन !

गल्कोट २०७६ भदौ २५ । नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले आज देखि मल्ममा १ सय केभीको नयॉ ट्रान्सफर्मर मार्फत विद्युत सेवा सञ्चालनमा ल्याएको छ । पण्डित पिताम्बर गौतमले स्वस्तिक वाचन गरि विधिवत पूजा अर्चाना गरि गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले स्विच अन गरि ट्रान्सफर्मरको विधिवत उदघाटन गरेका हुन। वडा नं ७ मल्मको आगाखेत, बामिया र सिरबारेका झण्डै २ सय घरधुरीलाई लक्षित गरि उक्त १ सय केभीको ट्रान्सफर्मर मार्फत विद्युत सेवा सुचारु गरिएको वडा सदस्य तथा घुम्टे विद्युतिकरण उपभोक्ता समिति मल्मका अध्यक्ष लोक बहादुर थापाले जानकारी दिए ।

यसभन्दा पहिले उक्त क्षेत्रमा गलकोट नगरपालिका वडा नं ९ बॉसखोलाको ट्रान्सफर्मर मार्फत विद्युत सेवा उपलब्ध भएको थियो । ग्राहकहरुको संख्या दिनानुदिन बढदै गएपछि उक्त ट्रान्सफर्मरमा लोड बढेकोले नया ट्रान्सफर्मर मार्फत ग्राहकलाई सेवा प्रदान गरिएको नेपाल विद्युत प्राधिकरण नो लाईट कार्यालय गलकोटका प्राविधिक नगेन्द्र पुनले बताए । ट्रान्सफरको लागि जग्गा व्यवस्थापन देखि अन्य व्यवस्थापकीय कार्यमा स्थानियले सहयोग समेत प्रदान गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य दल बहादुर थापाको विशेष उपस्थिती रहेको थियो । स्थानिय जनप्रतिनिधी, समाजसेवी, नेपाल विद्युत प्राधिकरणका प्राविधिक, स्थानियबासीको उपस्थितीमा कार्यक्रम सञ्चालन गरिएको थियो । नयॉ ट्रान्सफर्मर मार्फत विद्युत सेवा सुचारु भए सॅगै बॉसखोलाको ट्रान्सफर्मरमा लोड घटेको छ । अब ग्राहकलाई उद्योग धन्दा तथा घरमा विद्युतिय उपकरण प्रयोग गर्न सहज हुने नेपाल विद्युत प्राधिकरण बागलुङले जनाएको छ । कार्यक्रम पत्रकार थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !