बागलुङ क्षेत्र नं २ प्रदेश (ख) उप निर्वाचन : यस्तो छ, विश्लेषण !

— राम सुवेदी

अबको करिव ३ महिना पछि, बागलुङको निर्वाचन क्षेत्र नं. २, प्रदेश (ख) मा उप—निर्वाचन हुनेछ । अघिल्लो निर्वाचनमा बाम गठबन्धन र प्रजातान्त्रिक गठबन्धनबाट प्रतिस्पर्धा भएको यो प्रदेशमा बाम गठबन्धनले जीत हासिल गरेको थियो । बामपन्थी पार्टीहरु झुण्ड झुण्ड अवस्थामा भइरहँदा जनमत उसको बढी देखिएको त्यसबेलाको निर्वाचन परिणामले बताएको थियो । तर यस पटक बाम गठबन्धन हुन्छ या हुँदैन त्यसको निधो नभइसकेको अवस्थामा सम्भवतः यस पटकको निर्वाचन अलि पेचिलो हुने संकेत छ । चुनावको मिति नजिक÷नजिक सर्दै जाँदा तीज पर्वदेखि नै मञ्चहरुमा चुनावी भाषणहरु फाट्ट फुट्ट सुरु भएको देखिन्छ । कतिपयले फेरिपनि हुन्छ भनेका छन त कतिपयले अव सम्भव नभएकाले नेकपा र काँग्रेसको चुनावी प्रतिस्पर्धा पेचिलो बन्ने तर्क अघि सारेका छन् ।

के थियो विगत ?
२०७४, मंसिर १० मा सम्पन्न निर्वाचन हेर्ने हो भने, पश्चिम बागलुङको प्रदेश (ख) मा कुल मतदाता सँख्या ३३ हजार २ सय ४० रहेकोमा २२ हजार ६९ मत खसेको थियो । यस प्रदेशमा बाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका उमेद्वार टेकबहादुर घर्ति मगरले आफ्ना निकटतम प्रतिस्पर्धिलाई ३ हजार २ सय ६० मतले पराजित बनाएका थिए । विजयी भएका उमेदवार घर्तिले ११ हजार ८ सय ८४ मत पाएका थिए भने, प्रतिस्प्रधि नेपाली काँग्रेसका जीत बहादुर शेरचनले ८ हजार ६ सय २४ मत ल्याएका थिए ।

यतिवेला यस प्रदेशमा ३५ हजार ६ सय ३४ मतदाता मतदान गर्ने प्रक्रियामा छन् । निर्वाचन कार्यालय बागलुङका अनुसार, गत श्रावण १६ गते, निर्वाचन आयोगले उप—निर्वाचनको मिति घोषणा गरेपछि श्रावण १६ पछि थपिएका नयाँ मतदाताले उप—निर्वाचनमा मतदान गर्न पाउने छैनन् । अघिल्लो निर्वाचनमा भन्दा यस पटकको निर्वाचनमा, २ हजार ३ सय ९४ जना नयाँ मतदाता थपिएका छन् । उनीहरु यसपटकको निर्वाचनमा मतदान गर्न पाउने छन् । बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाका मतदाताले प्रदेश (ख) को उपनिर्वाचनमा मतदान गर्नेछन् ।

प्रदेश (ख)मा दलीय मत
२०७४, मा भएको प्रदेश निर्वाचनमा, दलले पाएको समानुपातिक मतपरिणाम हेर्नेहो भने सबैभन्दा बढी मत नेपाली काँग्रेसको देखिन्छ । काँग्रेसले त्यसवेलाको निर्वाचनमा कुल ७ हजार ४ सय १८ मत लिएको छ । काँग्रेस पार्टीले पाएको समानुपातिक मत भन्दा बढी १ हजार २ सय ६ मत काँग्रेसका प्रत्यक्ष उमेदवार जीत शेरचनले ल्याएको देखिन्छ । शेरचनको प्रत्यक्ष मत ८ हजार ६ सय २४ थियो ।

यता तत्कालिन नेकपा एमालेले, यो प्रदेशमा ४ हजार ५६ मत प्राप्त गरेको देखिन्छ भने तत्कालिन माओवादी केन्द्रले ३ हजार ३ सय ६५ मत प्राप्त गरेको निर्वाचन कार्यालयको तथ्याँकले देखाउँछ । यि दुबै पार्टि एकीकरण पछि अहिले नेकपा भएको छ । दुवैको मत जोडदा ७ हजार ४ सय २१ मत हुन्छ । नेकपाको मत त्यसबेला काँगे्रसले लिएको समानुपातिक मत भन्दा ३ मत बढी छ । यस्तै बाम गठबन्धनमा सामेल भएको राष्ट्रिय जनमोर्चाले ४ हजार १ सय ४५ मत प्राप्त गरेको छ । बाम गठबन्धनको यि सबै मत जोडदा ११ हजार ५ सय ७५ मत हुन्छ । तर विजयी उमेदवार घर्तिले प्रत्यक्ष तर्फ ११ हजार ८ सय ८४ मत प्राप्त गर्दे गर्दा उनले प्रत्यक्ष तर्फ ३ सय ९ मत बढी प्राप्त गरेको देखिन्छ ।

कुन पालिकामा कुन दलको कति मत ?
२०७४ सालमा भएको निर्वाचनपछि प्रदेश (ख) अन्तरगत ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकामा विभिन्न दलले प्राप्त गरेको समानुपातिक मत परिणम यसप्रकार थियो ।

पालिकाको वडागत मततालिका

रोचक चर्चा
अघिल्लो निर्वाचनमा देशभर नेकपा एमाले र एमाओवादीको गठबन्धनसँगै बागलुङ, प्यूठान लगायतका स्थानमा राष्ट्रिय जनमोर्चा समेत संयुक्त बाम गठबन्धनमा सामेल भएको थियो । धेरै ठाउँको मत परिणामको आँकलन, एकले अर्काको सहयोग आदान प्रदान तथा बामपार्टिको हैसियतका कारण उनीहरुबीच मतको लेनदेन भएको हो । त्यसकारण पनि बाम गठबन्धनको परिवेश तयार भएको देखिन्थ्यो । विगतको निर्वाचनमा गठबन्धन गर्दा यो प्रदेश राष्ट्रिय जनमोर्चाले हिस्सामा थियो । चुनावी प्रक्रियामा गरिएको गठबन्धनमा के कस्तो समझदारी र संझौता गरियो भन्ने दुवै पार्टिका नेताहरुले केही बोलेको पाईदैन । आफ्नो हिस्सामा परेको प्रदेशका उमेदवारको मृत्यु पश्चात हुन लागेको उपनिर्वाचनका विषयमा राष्ट्रिय जनमोर्चाले समेत आजसम्म औपचाररिक धारणा बनाएको वा त्यसलाई बाहिर ल्याएको देखिन्न । यस अर्थमा त्यो तालमेलको औचित्य नबारिएको होला । यता उपनिर्वाचन हुने भनिएपछि नेकपामा भने उमेदवारहरुका आकाँक्षीहरुले अनौपचारिक छलफल र गफगाप लाएको पाईन्छ । त्यसबै सन्दर्भमा नेकपा समर्थक ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले र्आपचारिक कार्यक्रममै बाम गठबन्धन फेरिपनि हुने संकेत सार्वजनिक गरेका छन् । उनको आफ्नो विचार राख्दै गर्दा सामाजिक सञ्जालहरुमा नेकपा समर्थक केही कार्यकर्ताले भने यसपटक राष्ट्रिय जनमोर्चाले नेकपालाई समर्थन दिनुपर्ने विचार राखेको देखिन्छ ।

यता नेकपा र राष्ट्रिय जनमोर्चाका नेताहरुको मौनताले यस पटकको उपनिर्वाचनसम्मलाई मध्यनजर गरियो भने फेरि हुने अरु निर्वाचनमा राष्ट्रिय जनमोर्चालाई गठबन्धनमा राख्नुपर्ने आवश्यकताका विषयमा विचार गर्नुपर्ने जस्तो पनि देखिन्छ । बागलुङमा अहिलेको नेकपाले मात्र काँग्रेसलाई जित्न नसक्ने अनुमान पक्कैपनि सही आँकलन हुनसक्छ । भोलीको लागि समेत बागलुङमा राष्ट्रिय जनमोर्चालाई गठबन्धनमा ल्याउन आवश्यक रहेको एकमात्र कारणले, हिजोको गठबन्धनबाट पाएको क्षेत्रमा सहयोग हुनसक्ने अनुमान पनि कतिले गर्ने गरेकाछन् । यद्यपि दृघकालिन सोंच अहिलेको नेकपाले राख्न चाहेन भने अहिलेकै परिवेशमा नेकपाभित्र पनि आधा दर्जन बढी उमेदवारका आकाँक्षीहरु देखिन्छन् ।

काँग्रेसको आशय भनौं, या भित्री अपेक्षा पनि राष्ट्रिय जनमोर्चा गठबन्धनबाट अलग होस भन्ने नै छ । नेकपा र काँग्रेसको टक्कर हुनेभएपछि पिल्डमा उत्रने उमेदवारका हिसावले चुनावी रणनीतिमा जाने काँग्रेसले सोंचेको छ । यता प्रतिस्प्रर्धामा काँग्रेस नै हुनेभएपनि उमेदवार गतिलो भए जित्न सकिन्छ भन्ने आशय नेकपाको पनि देखिन्छ । बाम गठबन्धन भए गठबन्धन उमेदवारले सजिलै जित हासिल गर्ने काँग्रेसको आँकलन देखिन्छ । आफ्नो जीतलाई सुनिश्चि बनाउन र भोली अरु चुनावमा पनि जिल्लाभरको तालमेल आवश्यक रहने कारणले मात्र नेकपालाई राष्ट्रिय जनमोर्चा आवश्यकता महसुस हुन्छ । राष्ट्रिय जनमोर्चा उक्लैले यो प्रदेशमा जित्ने जनमत छैन । आफ्नो मत सुरक्षाका लागि उमेदवार ल्याउने वा भोली तालमेलबाट जित्नका लागि पनि यसपटकको तालमेल आवश्यक ठान्ने उसको रणनीति हुनसक्छ । अन्यथा राष्ट्रिय जनमोर्चालाई यसपटकको निर्वाचनले खास हिसाव नराख्ने स्थानीय समर्थकहरुको बुझाई देखिन्छ ।

सम्भावित उमेदवार चर्चा

नेपाली काँग्रेस
उपनिर्वाचनमा पार्टिहरुका तर्फबाट आकाँक्षी उमेदवारहरुको चर्चा पनि चल्न थालेको छ । नेपाली काँग्रेसका तर्फबाट गत निर्वाचनमा टिकट नपाएका नेपाली काँग्रेसका क्षेत्रीय सभापति द्रोर्ण कुमार कुवँर, यस पटकको उमेद्वार हुनसक्ने चर्चा छ । कुवँरले गाउँ गाउँमा पार्टि कार्यकर्ता भेटघाटदेखि अनौपचारिक छलफलमा चलाइरहेको देखिन्छ । उता अघिल्लो निर्वाचनमा उमेदवार बनेका जीत बहादुर शेरचन पनि उमेदवार हुनसक्ने पार्टि कार्यकर्ता तहमा चर्चा छ । काँग्रेसको एक तप्काले भने, द्रोण कँुवर वा जीत शेरचन भन्दा अलग उमेदवारको आवश्यकता रहेको बताउँछन् । जनजातिबाट शिंहबहादुर राना वा तुलाशिंह घर्ति मगरलाई ल्याउनुपर्ने सतहमा चर्चा छ ।

नेकपा
नेकपामा उमेदवार भन्नेको आकाँक्षा अली बढी देखिन्छ । यहाँ पुर्व एमाले र पूर्व माओवादी केन्द्रबाट अलग अलग लविङ भएको देखिन्छ । पुर्व एमालेबाट पूर्व जिविस उपसभापति समेत रहेका मोहनलाल शर्माको चर्चा छ । यदी शर्मा नभए जनजातिबाट बेगबहादुर पुन हुनुपर्ने कार्यकर्ताको भनाई छ । यता पूर्व माओवादी केन्द्रबाट तुल्सीराम अर्याललाई अघि सार्नुपर्ने कार्यकर्ताहरुको तर्क छ । यस्तै युवातहबाट अलि धेरैको आकाँक्षा भएको पाईन्छ । निसीखोलाबाट प्रेम बहादुर घर्ति मगर, ढोरपाटनबाट चन्द्रलाल अर्याल, चिन्तामणी शर्मा, केशर छन्त्याल, शेरमान घर्ति र दलित समुदायबाट बीरबहादुर विक लगायतले आकाँक्षा व्यक्त गरेको कुरा चर्चामा सुनिन्छ । उता अघिल्लो निर्वाचनमा पुर्व एमालेबाट उमेदवारी समेत दर्ता गराएका ददीराम शर्मालाई यस पटक उमेदवार बनाउनु पर्ने एकाथरीको तर्क छ । यद्यपि आकाँक्षा र चर्चा जेसुकै भएपनि उप—निर्वाचनमा कसरी जाने भन्ने वियषमा नेकपाका नेता एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङ सहितको अगुवा कार्यकर्ता भेला र त्यसले नेकपाको तर्फबाट पार्टिको उमेदवारी वा तालमेलमा बाम गठबन्धन के गर्ने निधो लाग्ने नेकपाका एक सदस्यले बताएका छन् । प्रदेश उप—निर्वाचनमा आउने उमेद्वारको हकमा ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपालीको समेत मुख्य भूमिका र निश्कर्ष हुने कतिपयको आँकलन छ ।

राष्ट्रिय जनमोर्चा
यता राष्ट्रिय जनमोर्चामा कस्लाई उमेदवार बनाउने विषयमा छलफल नभएको पार्टिका नेताले बताएपनि चर्चा भने सुरु भएको छ । पार्टिका उपाध्यक्ष समेत रहेका धर्म बहादुर कुँवर हुनसक्ने कतिपयको अड्कल छ । यता उत्तरगंगा माध्यमिक विद्यालयमा लामो समय प्रअ भई, सेवा निवृत्त भएका धनबहादुर कुवँर राष्ट्रिय जनमोर्चाबाट आवको उचित उमेद्वार बन्न सक्ने चर्चापनि उत्ति छ । अर्कोतिर राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य समेत रहेका खीम विक्रम शाही अवको उमेद्वार बन्न सक्ने देखिन्छ ।

अन्य दलहरुबाट यहाँ चुनावी मैदानमा आउन सक्ने सम्भावना कम छ । तर हाल चर्चामा रहेको बाबुराम भट्टराई र उपेन्द्र यादवले निर्माण गरेको समावजादी पार्टी नेपालबाट उमेदवार आउने चर्चा चलेको छ । पार्टीका गण्डकी प्रदेश सदस्य समेत रहेका, बागलुङ पश्चिममा दलित समुदायको विषयमा खरो आवाज उठाउने दलित अधिकारकर्मी अशोक कुमार विश्वकर्मा, समाजवादी पार्टीको तर्फबाट उप—निर्वाचनमा उमेदवार बन्न सक्ने सम्भावनाको चर्चा चलेको छ ।
बुर्तिवाङ २०७६ भदौ २३ ।

लेखक ईबागलुङका संपादक हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !