प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाईएको ताला खोल्न पुगेका प्रहरी र जनप्रतिनिधी बीच हातपात !

प्रेम सुनार, गुल्मी भदौं १९ । विहिवार गुल्मीको रेसुङ्गा नगरपालिका नगरप्रमुख डिल्लीराज भुसाल र प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीको कार्यकक्षमा बुधवार लगाईएको ताला खोल्न प्रहरी पुगेको थियो । बन्द गरिएको ताला प्रहरीले खोल्ने क्रममा तालाबन्दी गर्ने नेपाली कांग्रेसबाट विजयी वडाध्यक्षहरु र अन्य जनप्रतिधीहरु किन ताला खोलेको हो ? भन्दै प्रहरी माथी जाई लागे । त्यस क्रममा प्रहरीले पनि केहि वडाध्यक्षहरुलाई समातेर तान्यो ।

त्यसपछि त्यहाँका केहि वडाध्यक्षहरुले देखाएको हर्कत शहर–बजारमा गुण्डागिरी गर्ने चुल्ठेमुन्द्रे र अल्लारे युवाहरुको भन्दा कम थिएन । त्यहाँ खटिएको प्रहरीहरुको कँठालो समातरे कुटपिटमा उत्रिने देखि क्यामरा खिचिरहेका पत्रकारहरुलाई समेत नखिच भन्दै धम्काउँदै र तपाहात गर्ने प्रयासको दृश्य देख्दा कानुनको राज नभई पाखुराको बलको राज चल्ने मुलुक जस्तो महसूस हुन्थ्यो ।

जिम्मेवार वडाध्यक्ष र कार्यापालिकाका महिला सदस्यहरुले मुखमा जे आयो त्यही बोलिरहेका थिए । प्रहरीलाई ‘साले–गधा ’ सम्मको गाली बेईज्जत गर्न पछि नपरेका कार्यपालिका सदस्यहरुले थोरै पनि पदीय मर्यादाको ख्याल राखेनन् । नगरपालिकाका मन्त्री मानिने वडाध्यक्षहरु नै प्रहरीलाई हातपात गर्न उत्रिए पछि कार्यापालिका सदस्यहरु पनि प्रहरीलाई झम्टिदै थिए । उनीहरुको आक्रमणबाट प्रहरी निरीह जस्तो भएर पछाडी हट्यो । उनीहरु नगरपालिकाको गेटबाट निस्किए पछि जनप्रतिनिधीहरुबाट च्यानल गेट लगाईयो र जथाभावी बोल्ने कार्य रोकिएन ।
कारण यो थियो

आफु निकट एक शिक्षकलाई प्रधानध्यापक नियुक्ति गर्न नपाएको झोंकमा उनीहरु बुधबार र आज विहिवार समेत नगरपालिकाका कर्मचारी, पत्रकार, प्रहरी समेत माथी हातपातमा उत्रिएर उदण्ड मच्चाएका हुन् । तम्घासको महेन्द्र नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक आमा विरामी भई विदा लिएर गएको बेला नेपाली कांग्रेस निकट बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चुरामणि पन्थी सहितको टोलीले सहायक प्रधानध्यापक युवराज ज्ञवालीलाई साउन ९ गते प्रधानध्यापक नियुक्ति गरेका थिए ।

त्यस विरुद्ध रेसुङ्गा नगरपालिकामा उजुरी परेपछि नगरपालिकाले उक्त नियुक्तिको निर्णय बदर गरि प्रधान अध्यापक थापालाई नै सो पदको काम काज गर्ने गरि नयाँ प्रधानध्यापकको छनौटको प्रकृया अगाडी बढाउन पत्र पठाएको थियो । त्यस विरुद्ध नेपाली कांग्रेसबाट विजयी वडाध्यक्ष सहितका जनप्रतिनिधीहरुले नगरप्रमुख डिल्लीराज भुसाल र प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासीनीको कार्यकक्षमा तालबन्दी गर्नु अघि आफु माथी हातपात र टबुुल फुटाउने जस्ता दुब्र्यबहार हुन थाले पछि आफुलाई कुट्ने डरले आफु भागेको मरासीनीले बताए ।
नगरप्रमुख भुसाल भने काठमाण्डौंमा छन् । अन्य कर्मचारी माथी पनि हातपात गरेर वडाध्यक्षहरुले गुण्डागिरीको शैली प्रकट गरेको त्यहाँका कर्मचारी र प्रहरीले बताएका छन् । सो नगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष भरत भलामीले त वर्दीमा रहेका प्रहरीहरुलाई नै घोक्रेठ्याक लगाएर दुब्यवहार गरेका छन् ।

महिला सदस्यहरुले प्रहरीको कठालो समातेको दृश्य पनि पत्रकारहरुले खिची रहेको बेला वडाध्यक्ष भरत भलामीले नेपाल पत्रकार महासंघ गुल्मीका कोषाध्यक्ष तथा नेपाल टेलिभिजनका सम्वादातालाई क्यामरा नखिच भन्दै हातपात गरेका छन् । वडाध्यक्ष भलामी , वडा नम्वर १२ का वडाध्यक्ष कुलबहादुर टण्डन , वडा नम्वर १३ का वडाध्यक्ष खुमबहादुर खत्री , वडा नम्वर ५ का वडाध्यक्ष शोभाखर शर्मा खनालको हर्कत लुल्ठेमुन्द्रहरुकै जस्तो देखिन्थ्यो ।

जिम्मेवार वडाध्यक्षले उत्तेजित कार्यकर्ताहरुलाई सम्हाल्नु पर्नेमा उनीहरु नै हातपातमा उत्रे पछि अरुहरु थप उत्तेजित हुँदै थिए । त्यस नगरपालिकामा कांग्रेसजनको बहुमुत रहेको छ । केन्द्रमा दुई तिहाईको दम्भ नदेखाउ ,नेकपाको सरकार लोकतान्त्रिक भएन भनेर कांग्रेसका शीर्ष नेताहरुले आवाज उठाउँदै आई रहेका बेला यता कार्यकर्ताहरुको लोकतन्त्र भने त्यस्तो देखियो ।

हातपात गरिएको होईन तानातान भएको हो

आन्दोलित ती जनप्रतिनिधीहरु मध्येका वडाध्यक्ष भरत भलामी संग सम्पर्क राख्दा प्रहरीलाई आफुहरु कुटपिट गर्न नभई धकाला धकाल मात्रै भएको प्रतिकृया दिए । तपाईहरु जस्तो जिम्मेवार जनप्रतिनिधीहरुले देखाएको त्यो हर्कत अलि अशोभनीय भएन र ? भन्ने प्रश्नमा उनले भने –‘ प्रहरी र पत्रकार माथी त हामीले हातपात गरेका होईनौं, तानातान मात्रै भएको हो । हामी संग त्यो हर्कतका भिडियोहरु नै छन भन्ने अर्को प्रश्नमा उनले भने–‘ हामी जनप्रतिनिधीहरुलाई पनि प्रहरीले सुरुमा हात हाल्दाको पनि त आवाज उठ्नु पर्ने होला नि ?

हामी दुई जना वडाध्यक्षलाई प्रहरीले समातेर तानेको छ । तपाईहरु जस्तो लोकतान्त्रिक पार्टीका नेता र जनप्रतिनिधीहरु कानुनी रुप मै विवाद समधान तर्फ जानु पर्ने होईन र ? भन्ने प्रश्नमा उनले भने त्यही कानुनी रुपम मै समधान गर्छौं भनेर हामी शुक्रवार प्रमुख प्रशासकीय अधिकृतलाई भेट्न गएका थियौं , त्यस पछि पनि माग सम्वोधन नभए पछि तालाबन्दी गरेका हौं । त्यो हाम्रो नगरपालिका भित्रको आन्तरिक व्दन्व्द हो त्यसमा प्रहरी किन हस्तक्षेप गर्न पुग्यो ? –प्रतिप्रश्न थियो ।

त्यस विरुद्ध नेपाल निजामती कर्मचारी संगठन गुल्मीले विज्ञप्ती जारी गरि जनप्रतिनिधीहरुले रेसुङ्गा नगरपालिकाका राष्ट्र सेवक कर्मचारीलाई कार्यालय मै पुगेर गरिएको अमानवीय र अभद्र ब्यवहार विरुद्ध निन्दा गरेको छ । अध्यक्ष रामप्रसाद पन्थी र सह सचिव ओमबहादुर थापाद्धारा हस्ताक्षरित विज्ञप्तीमा मानव अधिकारको हनन हुने गरिएको अभद्र ब्यवहारको निन्दा गरिएको छ ।

यसै बिच पत्रकार अनिल खत्री प्रति भएको अभद्र ब्यवहार विरुद्ध पनि नेपाल पत्रकार महासंघ गुल्मीले खेद प्रकट गरेको छ । महासंघको उपाध्यक्ष रहेका पत्रकार खत्रीले भने क्यामरा खिच्न लागेको बेला वडाध्यक्ष भरत भलामीले किन खिचेको भन्दै धकाल्नु भयो यस प्रति नेपाल पत्रकार महासंघ खेद प्रकट गर्दछ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !