डेंगु रोगप्रति सजकता अपनाउन डा. राजभण्डारीको आग्रह !
डेंगु रोगबाट संक्रमित भिमापोखराका २० वर्षिय युवक धौलागिरी अस्पताल भर्ना !

रामप्रसाद घिमिरे, बागलुङ २०७६ भदौ १९ । देशका विभिन्न जिल्लाहरुमा डेंगु रोगको प्रकोप बढीरहेको बेला बागलुङ जिल्लामा पनि डेंगु संक्रमित बिरामीहरु देखिएका छन् । हिजाँे बुधवार दिउँसो ३ बजे धौलागिरी अस्पताल आएका एक जना २० वर्षिय युवकको परीक्षण गर्दा उनमा डेंगु रोगको संक्रमण भेटिएको हो ।

लामो समय देखी काठमाडौँ सानोभ-याङमा बस्दै आएका उनी एकहप्ता अघीमात्र तीजको अवसरमा भीपोखरा आएका थिए । उनका अनुसार सामान्य ज्वरो आउने, पेट दुख्ने, टाउको दुख्ने, आँखा दुख्ने, नसामा सल्का हान्ने गरेपछी हिँजो चेकजाँचका लागी अस्पताला आएका थिए । परीक्षण गर्दा पोजेटिव देखिएको उनको भनाई छ ।

बरिष्ठ ल्याब टेक्नोलोजिष्ट सुरज बराल
बागलुङ जिल्लाको काठेखोला गाउपालिका २ भीमापोखराका २० वर्षिय युवकले अहिले अस्पतालमा भर्ना भएर उपचार गराई रहेका छन् । अस्पतालका बरिष्ठ ल्याब टेक्नोलोजिष्ट सुरज बरालले उनको परीक्षण गर्दा डेंगुरोग देखिएको ईबागलुङलाई जानकारी दिए । डेंगु रोग संक्रमित बिरामी अस्पतालमा भर्ना भएको यो पहिलो घटना भएको अस्पताल श्रोतले बतायो ।

बिरामीले थप उपचारका लागी पोखरा जाने बताई रहेका छन् । उता पोखरामा बस्दै आएकी बागलुङकी एक युवतीको पोखरामा उपचार भैरहेको छ । पोखरा र बागलुङमा उपचाररत डेँगु संक्रमित तीनै जना रोगीहरु बागलुङ जिल्ला स्थायी घर भएपनि उनीहरु लामो समयदेखी जिल्ला बाहिर बस्दै आएको खुलेको छ ।

डा प्रणिता राजभण्डारी (निमित्त सिमेअ)
यस सम्वन्धमा धौलागिरी अस्पतालकी डा प्रणिता राजभण्डारी (निमित्त सिमेअ) संग संज्ञान लिँदा एक हप्ता अगाडी यस्तै लक्षण भएका गल्कोट हटियाका एकजना विरामी अस्पताल आएको तर परीक्षण गर्ने किट नहुँदा पोखरा रिफर गरिएकोमा उनमा डेंगु संक्रमण देखिएकोले पोखरा फेवासिटी अस्पतालमा उपचार भैरहेको जानकारी दिईन । उनले गत भदौ १६ गतेमात्र नेपाल सरकारबाट डेंगुुरोग परीक्षण गर्न २५ वटा किट अस्पतालमा पठाएको पनि बताईन् ।

डा. राजभण्डारीले ईबागलुङसंग संक्षिप्त कुरा गर्दै डेंगु रोग प्रति सबैलाई सतर्क एवं सजग रहन र खासगरी लामखुट्टेको टोकाईबाट बच्न आग्रह गरेकी छन् । डा राजभण्डारीले डेंगु बारे जनचेतना आवश्यक रहेको बताउदै शंका लाग्दा साथ नजिकको स्वास्थ्य चौकी, केन्द्र वा अस्पतालमा सम्पर्क गर्न आग्रह गरेकी छन् ।

डेंगु रोगबाट बच्न अपनाउनु पर्ने उपायहरुका बारेमा व्यापक जनचेतना आवश्यक रहेको स्थानीयले बताई रहेका छन् । सरोकारवाला निकायहरु, सामाजिक संघसंस्थाहरुले यस डरलाग्दो रोगप्रति तत्कालै प्रयास थाल्नु जरुरी छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !