अर्नाकोटमा तीज विषेश मेला आरम्भ : यहाँ रहेका समस्याहरुकाे समाधानका लागि हातेमालो जरुरी !

झम सिर्पाली, निसीखोला (बागलुङ) २०७६ भादाै १७ । निसीखोला गाउँपालिका वडा नं २ स्थित अर्नाकोटमा देउरालीमा आईतवार देखि अर्नाकोट बराह युवा क्लवको आयोजनामा विविध प्रतियोगितात्मक कार्यक्रमका साथ तीज विषेश मेला आरम्भ भएको छ ।

एेतिहासिक तथा पर्यटकीय दृष्टिले निकै महत्वपूर्ण स्थानको रुपमा मानिने अर्नाकोट देउरालीमा हरेक बर्ष ठूलो मेला लाग्ने गर्छ भने हजारौं हजार दर्शकहरु मेला भर्न तथा मनोरम दृष्यावलोकन गर्न आउने गर्छन । यसै क्रममा २०७६ सालको तीज विशेष कार्यक्रम सोमबार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।

उद्घाटन समारोहमा बोल्ने अधिकांश वक्ताहरुले अर्नाकोट वातावरणीय एवं प्राकृतिक रुपमा निकै सुन्दर र पर्यटकीय सम्भावना बोकेको स्थान रहेपनि अर्नाकोटवासी जनता भने धेरै कुराको अभावमा रहेको बताए । अर्नाकोटमा खानेपानी, यातायात, स्वास्थ्य, शिक्षा लगायत अन्य विभिन्न क्षेत्रमा समेत उल्लेख्य सुविधा नभएको बताईएको छ । अर्नाकोट निसीखोला गाउँपालिका देखि दुरीका हिसाबले नजिक रहेपनि सडक संजालले जोड्न नसक्दा ढोरपाटन नगरपालिका हुँदै करिब २२ किलोमिटर लामो यात्रा गरेर गाउँपालिका तथा वडाको कार्यलय पुग्नुपर्ने वाध्यता रहेको मेला संयोजक लाल बहादुर कुवंरले बताए । त्यस्तै खानेपानीको समस्या, स्वास्थ्य, सरसफाइको समस्या हुनुका साथै शिक्षाका लागि समेत समस्या रहेको स्थानियको गुनासो रह्यो ।

यसरी समस्या नै समस्याका बाबजुद कठिन जीवनयापन गरिरहेका अर्नाकोट लगायत आसपासका जनताको दैनिकीमा सहजता एवं सुविधा ल्याउन सबै युवा, संघसंस्था, जनप्रतिनिधि एवं राजनीतिक दल एक आपसमा हातेमालो गरेर अघि बढ्नुपर्नेमा उद्घाटन समारोहमा सरिक अतिथिहरुको साझा मत रहेको थियो ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहेका नेपाली कांग्रेस बागलुङ क्षेत्र नं २ का सभापति दोर्ण कुमार कुवंरले अर्नाकोटको विकासको लागि आफू अनवरत रुपमा लागिरहेकाले यो अभियानमा सबैले साथ दिनुपर्ने बताए । अर्नाकोटमा संचालित खानेपानीसम्बन्धि विभिन्न योजना सफल पार्न आफुले सकारात्मक भुमिका खेल्ने, खानेपानी सम्बन्धि समस्याको दीर्घकालीन समाधानका लागि सम्बन्धित ठाउँमा पहल गर्ने, ढोरपाटन सालझण्डी मोटरबाटो देविस्थान हुँदै लैजाने, अर्नाकोट हवाईमार्ग डिपिआर गर्न निकै आफुले महत्त्वपूर्ण भुमिका निभाएको र यस्को यथाशीघ्र निर्माण गर्नेमा पहल गर्ने लगायतका प्रतिबद्धता समेत व्यक्त गरे।

थप बोल्दै नेता कुवंरले बिकासका लागि सत्तापक्ष प्रतिपक्ष सबै एक भएर लाग्नुपर्ने र प्रतिपक्षका हैसियतले आफुले जुनसुकै विकास निर्माणका काममा रचनात्मक सहयोग गर्न तयार रहेको बताउनुभयो । साथै पदमा रहंदा वा नरहँदा कुनै पनि बखत निस्वार्थ समाजसेवाका आफुलाई समर्पित गर्ने जिकिर गरे ।

त्यस्तै कार्यक्रमका अतिथिका रुपमा रहेका निसीखोला गाउँपालिका वडा नं २ का वडाध्यक्ष कुविर विश्वकर्माले अर्नाकोटको सबै समस्याबारे आफू जानकार रहेको त्यस्को समाधानका लागि सशक्त रुपमा लागेको बताए । वडा कार्यलय तथा गाउँपालिकाको आर्थिक सहयोग तथा युनिका फाउन्डेसन नेदरल्यान्ड, नेपाल रेडक्रस सोसाइटी लगायतको सहयोगमा लिफ्टिङ खानेपानीको योजना संचालनमा रहेको, गाउँपालिका र अर्नाकोट जोड्ने मोटरबाटो निर्माण हुँदै गरेको, विद्यालयमा भवन निर्माणका लागि सहयोग गरिएको बताए । अध्यक्ष विश्वकर्माले यस क्षेत्रको विकास निर्माण एवं ग्रामीण सहर निर्माणका लागि प्रदेश तथा केन्द्रका विभिन्न निकायमा पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा निसीखोला गाउँपालिका वडा नं १ का वडाध्यक्ष इन्द्र मल्ल ३ का वडाध्यक्ष जुनवुक्रम शाही, नेपाल कम्युनिस्ट पार्टीका नेता केशर छन्त्याल, शेरमान घर्तिमगर, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तथा भलिबलका राष्ट्रिय रेफ्री सोम बहादुर पौवी यामु, विभिन्न विद्यालयका प्रधानाध्यापक , समाजसेवी, बुद्धिजीवी लगायतको आतिथ्यता रहेको क्लव अध्यक्ष टेक बहादुर कुवंर रमेशले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.