छोराको जन्म दिनमा हुने खर्चबाट चार ठाउँमा जेब्रा क्रसिङ बनाउदै दम्पति !

रामप्रसाद घिमिरे, बागलुङ २०७६ भदौ १६ । पछिल्ला दिनहरुमा विभिन्न पर्व एवं उत्सवहरुमा खर्च गरिने रकम सार्वजनिक हितका कार्यहरुमा खर्च गर्ने प्रचलन बढेको छ ।

यसै सन्दर्भमा बागलुङ बजार निवासी एक दम्पतिले आफ्ना छोराको जन्म दिन मनाउदा खर्च हुने रकमले बागलुङ बजार (बानपा-२ ) स्थित जीप पार्क, लोकतान्त्रिक चोक, हल्लान चोक र ट्राफिक चोकमा जेब्रा क्रसिंग (बाटो काट्ने ठाउँ) बनाउने बताएका छन् ।

पर्वत जिल्ला फलेवास नगरपालिका-३ शंकरपोखरी घर भै हाल बागलुङ बजार बस्ने प्रकाश अधिकारी तथा सीता सापकोटा अधिकारीले आफ्नो छोरा प्रसिस अधिकारीको आज परेको चौथो जन्मदिनको शुभअवसरमा चार ठाउँमा जेब्रा क्रसिङ बनाउने घोषणा गरेका हुन् ।

छोराको जन्मदिनमा हुने खर्च सामाजिक कार्यमा लगाउने मनसुवाले १२ हजार रुपयाँको लागतमा चार ठाउँमा जेब्रा क्रसिङ निर्माण गर्ने योजना बनाएको आमा सीता सापकोटा अधिकारीले ईबागलुङलाई बताईन् ।

जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख प्रहरी नायव निरीक्षक महेन्द्र रानाभाटले फजुलरुपमा हुने खर्चबाट जनहितका कार्यहरु गरिनुलाई राम्रो बताउदै यस्ले समाजमा राम्रो सन्देश दिने विचार व्यक्त गरे । उनले बागलुङ बजारमा यात्रुहरुकालागी सडक पार गर्दा जेब्रा क्रसिङले निकै मद्दत पुग्ने पनि बताए ।

स्मरणीयछ, कुनै एक दम्पतिले एकै पटक चार ठाउँमा जेब्रा क्रसिङ बनाउन लागिएको यो पहिलो पटक हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.