तीज विशेष : त्यो अभागी घर !

सोम शर्मा

ओए दाइ, छिटो उठ्नुस कतिबेरसम्म सुतेको, घाम मुखमा परिसक्यो ! तल आउनु चिया पकाइदेको छु ममी मेलामा जानुभको छ ! जुरुक्क उठ्दै ह्या यो कालिले राम्रोसंग सुत्न नि दिन्ने, ल ल जा गिलासमा चिया हाल्दै गर म मुख धोएर आउंछु ।” सायद यो सम्बाद बोल्ने भाग्य नभएकै ब्यक्ती हुं म, यसर्थमा कि भावनात्मक र अन्य माया गर्ने दिदी बहिनी त छन तर आफ्नै आमाको कोखबाट जन्मेकी छोरीको मेरो घरमा अभाव छ ।

यहि सोच्दा सोच्दै अनि हेर्दा हेर्दै तीज पनि आइसकेछ है, क्यालेन्डरको पन्ना पन्ना पल्टिरह्यो अन्तमा भाद्रको महिना पनि पल्टेछ,त्यहां आउंदै थियो तीजको दिन। मन फेरि भुक्क फुलेर आइदिन्छ, फेरि एकलयको धड्कनको तेजले गति लिन थाल्छ, कता कता निन्याउरो र एकान्तको आभास हुन थाल्दछ। यो सब हुनुमा मात्र एउटै कारण छ मेरै आफ्नै आमाको कोखबाट कोहि दिदी बहिनी नहुनु ! सोच्दछ अनि टोलाइदिन्छ त्यहिबेलामा कि किन यस्तो एक्लो आभाष गराइदियौ जुन बेला दिदी बहिनीको चाड पर्व आउँछ नि त्यहिबेला हाम्रो आगनमा हुमे रित्तोपनाले मन बिरक्तिएको आभाष हुन्छ ।

देख्छु अरुका दाजुभाइ आफ्नै दिदी बहिनीसंग जिस्की जिस्की बसेका, लडी लडी बसेका, एउटै थालमा खाएका, कसैलाइ सानो चोट लाग्दा दुबैलाइ दुख्दा, “ओए बहिनी हेर त तंलाइ मैले तेरो मन पर्ने कुर्था लेइदेको छु”, “ममी हेर्नू त त्यो दाइले यत्तिकै पिट्यो मलाइ”, “दिदीलाइ त्यत्रो बढी दिने मलाइ थोरै, बाबाले मलाइ मायै नगर्ने”, यी शब्द सुन्दा सामान्य छन तर हामीजस्ता आफ्नै आमाको कोखका कुनै दिदी बहिनी नहुनेमा यो हरेक शब्दमा एकदम आत्मिय भावना देखिन्छ, कतै यस्ता शब्द जब कानमा गुन्जिन्छ नि तब टक्क रोकिन्छ पाइला अनि मज्जाले सुनिरहुं जस्तै लाग्छ, किनकी थाहा छ कि यी सब मेरो जीवनमा कहिले मौका आउंदैन, बेला बेलामा गुनासो गर्छु ।

जुन घरमा छोरीको बाँस हुन्छ नि त्यो घरको सौन्दर्यता र त्यस्को रौनक नै निकै फरक हुन्छ, जुन घरमा छोरीको जन्म हुन्छ नि सांची त्यस घरका हरेक सदस्यमा कति धेरै खुसीको आगमन भैदिन्छ, एक त आमा बाबुको निकै आत्मिय सहारा, उन्को पाइला,उन्को संलग्नता अनि उन्को चलबलाओट, यी सबमा स्वणीम आनन्द मिल्दोहो पक्कै पनि, बस एक दिन हुन्छ जुन दिन यस्तो लाग्छ कि कास मेरो घरमा दिदी बहिनीको जन्म नभैदिएको भए, त्यो दिन त्यहि दिनको हो जुन दिन आफ्नै पृय दिदी बहिनी जब कैयौं बर्षदेखी आंफुसंगै हुर्केकी खेलेकी अनि हरेक दुख अनि सुखमा साथ दिएकी आफ्नै घरलाई माइतमा परिवर्तन गरेर कसैको पराइ घरमा पाइला टेक्न जान्छिन, मलाइ त्यो अनुभव त यो जन्ममा हुने भएन,तर म महसुस पक्कै गर्न सक्छु कि त्यो दिनको हरेक सेकेन्ड सेकेन्डको परिभाषा, आफ्नो काखमा खेलेकी हुर्केकी छोरी बिदाइ हुंदाको पीडामा बाबू आमा त हुन्छन नै त्यति नै पीडा त्यो दाइ या भाइलाइ हुन्छ जस्ले आफ्नो जीबनको सबैभन्दा नजिकको साथी गुमाउंदैछ ।

देखेको छु धेरै बिहेमा जब आफ्नै दिदी बहिनी पराइ घर जाँदै हुन्छिन उन्को दाइको या भाइको त्यो भावबिह्वल अबस्था, ती आंखाले सजिलै बोलिरहेका हुन्छन अनि ती ओठले सजिलै बताएका हुन्छन कि उस्ले जीबनको कति महत्वपुर्ण चिजलाइ टाढा बनाउंदैछ, किनकी जब उनी पराइघर जान्छिन नि तब पहिलेको जस्तो सम्बन्धको संवाद हुंदैन। कतै न कतै केही न केही कुराले प्रभाव पार्छ नै पार्छ। धरधर बगेका आँसु अनि त्यो दर्दनाक पिडाको भकारी लिएर उता ती दिदि या बहिनि गैरहेकी हुन्छिन यता तिनै चेलिको यादमा बिछिप्त भएर पल्टेको हुन्छ एउटा भाइ या दाइ ।

हो यस्मानेमा पनि यहि भन्न सकिन्छ कि कति प्यारो अनि चोखो सम्बन्ध हुनेगर्छ है दिदी भाइ या दाजु बहिनिको। कुनै त्यस्तो चाड छैन जहाँ दाइभाइको लागि बनाइएको होस तर दिदीबहिनीको लागि यहाँ अनेक चाड छन कारण एउटै छ यी दुई बिचको आत्मियता अनि महत्व। तर यो संसारमा कोहि त्यस्ता अभागी पनि छन जस्ले यी चाडमा खुसियाली भन्दा बढी एक्लोपन महसुस गरिरहेका छन। उनिहरु अरुकै आत्मियतामा रमाउन सिकेका छन, उनिहरु रमाउन खोजेका छन तर मलाइ लाग्दैन कि उनिहरुको मन भित्रैबाट सांची रमाइरहेको होला, तीज तिहार अनि अहिलेको नया चलन रक्षा बन्धनमा भित्री मन सांचिकै धर धर रोएकै हुन्छ त्यो बेलामा बस यहि सोच्ने गर्छन कि कास मेरो घरमा पनि कुनै दिन च्याँ च्याँ गर्दै एउटि छोरीले जन्म लिएको भए।

हिंड्दा देखिरहन्छु सानो भाइलाइ दिदीले पढाइरहेकी, ओए बाहिर नजा गाडीले हान्ला, अनि देख्छु ठूलो दाइले आफ्नै काखमा राखेर यता हेर अब भन्दै क ख ग भन्दै सिकाइरहेका, हेर हेर यस्को कपाल भन्दै कपाल बाट्दै गरेका, यस्ता दृष्यले मन कटक्क खाने काम भन्दा अरु मैले अहिलेसम्म महसुस गरेको छैन। छोरी भएको घरमा साक्षात लक्ष्मीको बाँस हुन्छ रे, किनकि छोरी आमा बुवाको सहयात्री भएर उभिन्छन, आमालाइ सानो देखि ठूलो काममा सघाउन अगि सरिहाल्ने,आमाले खाइन, खाइनिन, बाबाको औषधि खाने समय भयो या भएन, दाजु कतिखेर आउलान अनि संगै खाना खाउंला, भाइ यस्बेलासम्म कता गएको होला भन्दै उन्को छटपटीमा कति मधुरता अनि कति रमणीय र जिम्मेवार अनि खुसी नै खुसिले भरिएको घर भैदिन्छ होला है, आहा यस्की छोरी र कति राम्री कति सिल श्वभावकी, कस्तो ठ्याक्क देउता जस्तै, कस्ति सोझी, सांची यो घरमा त भगवानकै बाँस नै रहेछ भन्ने छिमेकिको बोलिमा क्या मज्जाको अनुभूति भैदिन्छ होला है।

मलाइ अचम्म लाग्छ बिचरा ती कैयौं छोरीहरु छोरी भएकै कारणले कति पेटमै मारिए,कति जन्मेरै मारिए,कति हुर्किएरै मारिए,कति बिहे गरेरै मारिए, कति बिभिन्न शोषणमा र अन्याय र अपराधको सिकारमा मारिए, बस यहि बेला मेरो जिउको रौं जुरुक्क उठेर आइदीन्छ कास ती दिदी या बहिनी मेरी भैदिए जस्ले गर्भ मै मार्दिए,जस्ले छोरी भएकै कारणले जन्मंदाबित्तिकै झाडिमा सालनालसंगै हुत्ताइए, कास ती मेरा बहिनी दिदी भैदिएको भए, समाजमा छोरीप्रती किन यति फरक सोच छ म अचम्ममा पर्छु, त्यही छोरीकै पेटबाट जन्म लिन्छन, त्यही छोरीकै दस धारा दूध चुसेर त्यति बज्रस्वांठ भैदिन्छन र अन्तमा उन्लाइ नै सामाजिक कुदृष्टिले गर्दा छोरी भनिएर नै हेपिन्छिन ती नारी। कठै बिचरा हाम्रो समाज ।

दिदी बहिनीको मायं नपाएको पक्कै हैन म, भावनात्मक र अन्य दिदीबहिनीहरुको न्यानो मायां धेरै प्राप्त छ तैपनी आफ्नै भनेको आफ्नै हुंदो रहेछ । सोच्नेगर्छ मनले उस्को घर तीन चारवटा दिदी बहिनी छन त्यहांबाट एउटा सापटी लिन मिल्ने भए। होला यी सब भावनाका कुरा होलान तर यथार्थमा यस्ले यहि इंकित गर्छ कि समग्रमा दिदी बहिनी बिनाको दाजु भाइको एक्लोपना कस्तो होला । रहर त कसो नहोला र ती दाजुभाइलाइ, तीज आउन लाग्यो अब मेरी दिदी आएर घर रंग्याउने भै, सुनसानजस्तै घरलाइ फेरि रौनक दिने भै, मज्जाले नाचेर रमाइलो गर्दिन्छे, अनि आइजा आइजा भन्दै तानी तानी मलाइ नि नचाउंछे, अर्कि बहिनीको बिहे भको छैन उ घरमै रमाएकी छे, वरिपरिका साथीलाइ बटुलेर घरको आंगनमा तीजका गीतमा छमछम नाचिरहेकी छे, ममी अनि बाबा यता बसेर ताली पिटेर उनिहरुलाइ हौशला दिनुभएको छ, रहर त कसो नहोला र कुनै दिन स्कुलबाट आउने बेलामा दाइ म स्कुलमा फर्स्ट भएं हेर्नुस त मैले यो उपहार पाएं अब तपाइले के किन्दिने मलाइ, त्यति भन्दाबित्तिकै बहिनीलाइ स्नेहरुपी चुम्बनको साथमा अंगालोमा बेरिदा आफ्ना आंखाका आंशुले मलाइ खस्न दे न खस्न दे यति खुसिमा त खस्न दे भनेर बिन्ती गरिरहेको क्षण । रहर त कसो नहोला र तिहारमा आफ्नै आंगनमा सप्तरंगी टिकाका साथमा आफ्नो निधार सजाउने, अनि दिदीले दिएको उपहार खोलेर हेर्नलाइ कतिखेर रुममा पुगेर हेरिहालौं भन्ने, अनि दिदी बहिनीले मैले दिएको खामलाइ उसैगरी कति दिएको होला भनेर कोठामा पुगिहाल्ने। हो रहर त सबै छ, तर शब्द एउटै छ सायद त्यस्तो भैदिएको भए।

यस्तै छ एउटा दिदी अनि बहिनी नभएको दाइ अनि भाइको पीडा, हरेक पल पल यहि सोच्दै जान्छ कि सायद सायद सायद । अनि हरेक चाड पनि यहि सोच्दै जान्छ कि सायद सायद सायद । त्यो सायदमा निकै ठूलो पीडा र कथा लुकेको हुन्छ ।

बागलुङ २०७६ भदौ १५ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.