बागलुङ, २०७३ चैत २३ । नेकपा एमाले बागलुङले २०७४ बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला स्तरीय निर्वाचन परिचालन कमिटि गठन गरेको छ । चैत २० र २१ गते सम्पन्न पार्टीको तेस्रो पूर्ण वैठकले जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाको संयोजकत्वमा जिल्ला निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।
जिल्ला निर्वाचन परिचालन कमिटीमा जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु, प्रदेश संगठन कमिटीका सदस्य तथा सल्लाहकारहरु, केन्द्रिय निकाय, विभाग र प्रदेश विभागका सदस्यहरु, पुर्व जिल्ला कमिटी सदस्य तथा पूर्व जिल्ला सल्लाहकारहरु, जनसंगठनका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्षहरु रहेका छन् ।
यस्तैगरी संयोजक, जिल्ला पदाधिकारी तथा सचिवालय सदस्यहरु, केन्द्रीय विभागका सदस्यहरु, प्रदेश संगठन कमिटीका सदस्यहरु तथा सल्लाहकारहरु, नगर÷गाँउ संगठन कमिटीका संयोजक र सह–संयोजक, जनसंगठनका केन्द्रीय सदस्यहरु रहेको जिल्ला निर्वाचन परिचालन कमिटिको सचिवालय गठन गरिएको नेकपा एमाले बागलुङले जनाएको छ ।
निर्वाचनमा जनताको मत आफ्नो पक्षमा पार्नका लागि मतदाताहरु संग छलफल गर्ने, एमालेका प्रभावकारी कार्यक्रम संगै आगामी नीति जानकारी गराउने लगाएतका काम गरिने बताइएको छ ।
नेकपा एमालेको अगुवाईमा बाम तालमेल संगै अन्य दलसंग चुनावी एकता गर्न पहल गर्ने, स्थानीय तहमा नै सहज वातावरण बनाउन सहयोग गर्ने एमाले जिल्ला अध्यक्षसापकोटाले जानकारी दिए ।
यस्तै जिल्ला सदस्यहरु, कन्द्रीय विभागका सदस्यहरु, प्रदेश कमिटी सदस्य, सल्लाहकारहरु, प्रदेश विभागका सदस्यहरु, पार्टी सम्बद्ध जनसङ्गठनका के.स तथा अध्यक्ष लगायत पदाधिकारी सदस्यहरुलाई आफ्नो स्थायी ठेगाना रहेको गाउँपालिका संगठन कमिटीसँग समन्वय गरि स्थानीय निर्वाचनमा परिचालित हुन निर्देशित गरिएको छ ।
भूगोलभन्दा बाहिर रहेका सम्पुर्ण पार्टीका नेता तथा कार्यकर्तालाई आ–आफ्नो भूगोल फर्किएर स्थानीय कमिटीसँग समन्वय गरि निर्वाचनमा परिचालित हुन निर्देशन दिएको एमाले जिल्ला अध्यक्ष सापकोटाले बताए । साथै बागलुङ काठमाडौ सम्पर्क मञ्चलाई निर्वाचनमा आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्न आग्रह समेत गरिएको छ ।
आगामी चुनावलाई लक्षित गरी गाउँमा पार्टीका गतिबिधिहरु अघि बढाएको नेताहरुले बताएका छन् । लामो समयपछि जनताले स्थानीय जनप्रतिनिधि छान्ने अधिकार पाएकाले त्यो अधिकार स्थापित गराउन गाउँमा चुनाव लक्षित कार्यक्रम गरिरहेको एमालले जनाएको छ । जिल्लाका गाउँ, शहर सबै स्थानमा अहिले निर्वाचनकै कुराले प्राथमिकता पाएको देखिन्छ । प्रमुख दलका नेताहरु गाउँ पस्न थालेपछि मतदाताहरु चुनाव हुन्छ भन्ने बिषयमा आशाबादी बनेका छन् ।
बैठक नेकपा एमालेका महासचिव इश्वर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।