अवरुद्ध मध्यपहाडी लोकमार्ग अन्तर्गतको खर्बाङ–बुर्तिबाङ सडक खण्ड १५ दिन पछि खुल्यो !

सुमन सुनार, बुर्तिबाङ २०७६ भदौ ५ । तुरतुरे ताल फुटेपछि अवरुद्ध मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने खर्बाङ–बुर्तिबाङ सडक खण्ड करिव १५ दिन पछि पुनः सञ्चालनमा आएको छ । गत साउन २० गते विहान ढोरपाटन नगरपालिका र बडीगाड गाउँपालिकाको सीमानामा पर्ने उक्त तुरतुरे ताल फुटेर बगेको बडीगाड खोलाको पानीले लोकमार्गको करिव २ सय मिटर सडक बगाएको थियो । सडक बगाएपछि अवरुद्ध लोकमार्गको खर्बाङ–बुर्तिबाङ सडक खण्ड पुनः मंगलबारबाट खुलेको र पुर्ण रुपमा सवारी सञ्चालनमा आएको ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले ईबागलुङलाई बताए ।

अवरुद्ध सडक खुलाउनका लागि एसी कन्ट्रक्सन बुर्तिबाङलाई जिम्मा दिइएको थियो । भदै ५ गते अवरुद्ध सडक खुलाउने प्रतिबद्धता सहित काम सुरु गरेको निर्माण कम्पनीले निरधारित समय भन्दा दुई दिन अगावै सडक खुलाउन सफल भएको एसी कन्ट्रक्सन बुर्तिबाङका प्रमुख दिपक अदैले बताए । अदैले भने रात दिन नभनेर निकै जोखिम र चुनौतीका साथ काम गरेर, निरन्तरको प्रयासले निर्धारित समय भन्दा २ दिन अगावै सडक खुलाउन सफल भयौँ । तिन ओटा मेसीनको प्रयोग गरी दैनिक करिव १५, १६ घण्टा काम भएको छ, अदैको भनाई थियो । गत साउन २४ गते शुक्रबार देखि निर्माण सुरु गरेको कम्पनीले भदौ ३ गते शुक्रबार सडक खुलाउन सफल भएको हो ।

सडक खुले संगै सवारी आवागमन पुर्ण रुपमा सञ्चालनमा आएपनि पहरा काटेर सडक निर्माण गरिएकाले त्यसको संरक्षणका लागि ग्याभिन जाली भर्ने काम भने जारी रहेको मध्यपहाडी लोकमार्ग अन्तर्गत हटिया–पातीहाल्ने सडक खण्डका ईन्जीनियर किरण कुमार श्रेष्ठले जानकारी दिए । करिव ३ सय घनमिटर ग्याभिन जाली र वाल लगाउनुपर्ने भएकाले कार्य सम्पन्न गर्न अझै ३ दिन लाग्ने उनको भनाई छ । हाल अस्थायी रुपमा सडक सञ्चालन भएको सडकको, दिगो व्यवस्थापनको काम भने केहि समय पछाडी हुने ईन्जीनियर श्रेष्ठ बताए ।

गत २०७५ भदौ २९ गते राती ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाको सिमानामा पर्ने तुरतुरे देउरालीमा चट्टानसहित गएको भिषण पहिरोले बडिगाड खोला थुनिएर बनेको सो कृत्रिम ताल झण्डै एक वर्षपछि फुटेको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.