तमानखोला गाउँपालिकाव्दारा लाम्मेलाका पहिरो पीडितहरुलाई राहत हस्तान्तरण !

राम सुवेदी बुर्तिवाङ २०७६ भदौ १ । तमानखोला गाउँपालिकाले वडा नं. ४ का पहिरो पीडितहरुलाई राहत हस्तन्तरण गरेको छ । गाउँ कार्यपालिकाको निर्णय अनुसार, गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको पारिश्रमीकबाट समेत गरिएकोे राहत रकम पहिरो पीडितलाई हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए ।

गाउँपालिकाका तर्फबाट ५ लाख ५५ हजार तथा बहराइन र मलेशियामा संकलन गरि गाउँपालिकाको खातामा राखिएको १ लाख ४३ हजार रुपैयाँ गरि कुल ६ लाख ९८ हजार रुपैयाँ त्यहाँका पहिरो पीडितहरुलाई हस्तान्तरण गरिएको हो ।

गत साउन १९ गते राति तमानखोला गाउँपालिको वडा नं ४ लाम्मेलामा पहिरोले घर पुरिंदा ज्यान गुमाएका तीन जनालाई गाउँपालिकाव्दारा प्रति मृतक एक÷एक लाख रुपैयाँ र पहिरोमा परी घाइते भई पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचाररत तीन जनालाई प्रतिव्यक्ति ५० हजार रुपैयाँ तथा अन्य ४ जना घाइतेलाई प्रतिव्यक्ति २० हजार रुपैयाँका दरले गाउँपालिकाले सहयोग गरेको अध्यक्ष बुढाले बताए । त्यो सँगै पहिरोका कारण क्षति भएका अरु पीडितहरुलाई समेत गाउँपालिकाले सहयोग गरेको छ ।

पीडितको राहतको लागि जनप्रतिनिधिले एक महिनाको पारिश्रमिक बाट ५० प्रतिशत र कर्मचारीको पाँच दिन बराबरको तलब सहयोग गर्ने निर्णय गर्दै थप सहयोगको लागि आव्हान गरेको थिए ।
यसैबीच गाउँपालिकाले एक बर्षभित्रै पीडितहरुको लागि पाँच वटा घर बनाईदिने समेत निर्णय गरेको छ । घर बनाउनको लागि तत्काल बजेट व्यवस्थापन गरेर, प्राविधिक स्टमेटको आधारमा भूकम्प प्रतिरोधी घर बनाउने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद गौतमले बताए ।

पहिरोमा पुरिएर घाइतेमध्येका ओमबहादुर श्रीपालीलाई गाउँपालिकाको १ लाख ५० हजार तथा विदेशबाट प्राप्त सहयोग ३० हजार गरी १ लाख ८० हजार रुपैयाँ हस्तान्तरण गरिएको छ । गम बहादुर श्रीपालीलाई गाउँपालिकाको १ लाख ४० हजार र विदेशबाट प्राप्त २८ हजार ६ सय गरि कुल, १ लाख ६५ हजार ६ सय, देबेन्द्र श्रीपालीलाई गाउँपालिकाको २ लाख २० हजार तथा विदेशबाट प्राप्त सहयोग ४३ हजार ३ सय गरी, २ लाख ६३ हजार ३ सय रुपैयाँ, विर्ख बहादुर श्रीपालीलाई २४ हजार ३ सय, कृष्ण श्रीपालीलाई १८ हजार, हेमलाल श्रीपालीलाई ८ हजार र अमृता श्रीपालीलाई ११ हजार रुपैयाँ रहत हस्तान्तरण गरिएको हो ।

यस्तै बैदेशिक रोजगारीका लागि मलेशियामा रहेका ताराबहादुर बुढा, ओमकार बुढा, लालबहादुर बुढा र चित्र बुढाथोकी लगायतको सक्रियतामा संकलन भएको १ लाख ८ हजार २ सय तथा बागलुङ सेवा समाज वहराइनका अध्यक्ष ओम प्रसाद पुनको सक्रियतामा संकलित ३५ हजार रुपैयाँ कार्यक्रमका अवसरमा वितरण गरिएको गाउँपालिका अध्यक्ष बुढाले जानकारी दिए ।

पहिरोमा परि ४५ वर्षीया चन्द्र कुमारी सिर्पाली, ७० वर्षीय अन्सारी सिर्पाली र १२ वर्षीय प्रवीण सिर्पालीको मृत्यु भएकोे थियो भने ४४ वर्षीय ओमबहादुर सिर्पाली, ३४ वर्षीया सुनिता सिर्पाली, १६ वर्षीय अनिल सिर्पाली, ९ वर्षीय राम सिर्पाली, ५ वर्षीय कमल सिर्पाली, ४० वर्षीया चित्रादेवी श्रीपाली, ५० वर्षीया अमेसरा श्रीपाली घाइते भएका थिए ।

गाउँपालिकाले आयोजना गरेको राहत वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष जोकलाल बुढा, उपाध्यक्ष मानसरी शेरचन, प्रशासकीय अधिकृत कमल प्रसाद गौतम, गाउँपालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, गाउँपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.