भिमगिठेको गाउँ परिषद् सम्पन्न: सुकुरकुँडीको खानेपानी योजना निर्माण तीब्र !

बिमल खड्का २०७३ पुस २३ । भिमगिठे गाउँ विकास समितिको २५ औं गाउँ परिषद आज सम्पन्न भएको छ । गत पौष १८ गते गठन भएको एकीकृत योजना तर्जुमा समितिको निर्णय अनुसार उक्त गाउँ परिषद आज सम्पन्न भएको हो ।

गाविस स्तरमा प्राथमीकीकरण भएका योजनाहरु अनुसार उक्त गाउँ परिषदले आर्थिक वर्ष २०७३ । ७४ को बजेट विनियोजन गरिएको छ । जस अनुसार कुल बजेटको ५१ लाख ७५ हजार ८ सय ७७ रुपैयाँ मध्ये पुँजीगत तर्फ २५ लाख ८७ हजार ९ सय ४३ र चालुतर्पm ५ लाख ४५ हजार बजेट विनियोजन गरिएको छ । लक्षित समूह र अन्य गरि पचास पचास प्रतिशतले पुँजीगत तर्फको बजेट विनियोजन गरिएको छ । विनियोजित बजेट अनुसार कृषितर्फ ७ लाख ७६ हजार ३ सय ८३, महिलाका लागि ५ लाख १७ हजार ५ सय ८८, बालबालिका तर्फ ५ लाख १७ हजार ५ सय ८८, अपाङ्ग, दलित, ज्यष्ठ नागरिक, जनजातिका लागि ७ लाख ७६ हजार ३ सय ८३ रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

त्यसैगरि पुँजिगत तर्फ २५ लाख ८७ हजार ९ सय ४३ मा १ लाख ३० हजार ५ सय ८७ कन्टेन्जन्सी कटाई कुल २४ लाख ८४ हजार ४ सय २६ बजेट विनियोजन गरिएको छ । जसमध्ये गाविसलाई मोटर साइकल खरिदका लागि २ लाख ५० हजार, ल्यापटप खरिद ४८ हजार, पूर्ण खोप कार्यक्रमका लागि ७० हजार, प्रशुति सेवाका लागि १ लाख ३० हजार, वडा नं. २ को पम्पीङ सिंचाइका लागि ८६ हजार ४ सय २६, डाँडा गाउँ गाब असारे हुँदै खुँगा जोड्ने मोटर बाटोका लागि ५ लाख, रणसिंह किटेनी मोटर बाटोका लागि ५ लाख,दोबाटा हुँदै डाँडाँ गाउँ जोडने मोटर बाटोका लागि १ लाख ५० हजार, थाम्का हुँदै सैरेनी मोटर बाटोका लागि १ लाख ५० हजार, रानीबन हुँदै घोपर्ना जोड्ने मोटरबाटोका लागि १ लाख, भीमगिठे उमावि भवन मर्मतका लागि २ लाख, बुद्ध मावि भवन निर्माणका लागि १ लाख ५० हजार, सुरकुम्डे प्राविको भवन निर्माणका लागि ५० हजार ,आदित्य प्राविका लागि ५० हजार, इलाका प्रहरी कार्यालय भवन निर्माणका लागि ५० हजार बजेट विनियोजन गरिएको छ ।

कार्यक्रममा राजनितिक दालका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि,समाजसेवी बुद्धिजीवी लगाएत स्थानीयवासीको उपस्थिति रहेको थियो ।
गाउँ विकास समितिका सचिव सुरज कुमार मुलेपतिको अध्यक्षता, सामाजिक परिचालक तुल्सी घर्तीको स्वागत मन्त्व्य रहेको उक्त कार्यक्रमको संचालन स्वास्थ्यचौकी प्रमुख विपेन्द्र प्रताप केसीले गरेका थिए ।

यसैवीच भीमगिठे गाउँ विकास समिति वडा नं. २ स्थित सुरकुडी खानेपानी आयोजनाको काम तीब्र गतिमा अघि बढेको बताइएको छ । रणसिंहकिटेनी वडा नं. ३ घोरघोरे भोटेपिपलमा रहेको पानीको मुहानबाट भीमगिठेको सुरकुडीमा पानी ल्याउन लागिएको हो । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङको आर्थिक सहयोगमा पन्चवर्षिय योजना अनुसार उक्त योजनाको काम तीव्र गतिमा अगाडि बढेको छ । यस खानेपानी आयोजनामा भोटेपिपलदेखि भीमगिठेको सुरकुडीसम्मको दुरी निकै लामो अर्थात १३ हजार ५ सय मिटरको दुरीमा पर्ने गर्छ । पन्चवर्षिय योजना अन्तरगत आ.व. २०७०।७१ मा मुहानमा इन्टेक, कलेक्सन निर्माण गरि १ हजार ८ सय मिटर पाइप लाइन निर्माण भएइको थियो भने आ.व. २०७१।७२ मा ३ हजार ५ सय पाइप लाइन पुरा भएको थियो । त्यसैगरि आ.व. २०७२।७३ को बजेटबाट बाँकी पाइप लाइन ८ हजार २ सय मिटर पुरा गरि आगामी २०७४ साल बैशाख महिनासम्म खानेपानी आयोजनाको काम पुरा गरि सुरकुडी गाउँसम्म पानी ल्याईपुराउने लक्ष्यका साथ काम अघि बढेको सुरकुडी खानेपानी आयोजनाको सदस्य टेक बहादुर थापाले जानाकारी दिए ।
जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङको ३ करोडको आर्थिक लागतमा पन्चवर्षिय योजना मार्फत सम्पन्न गर्न लागिएको यस योजनाबाट भीमगिठेको अत्यन्त दुर्गम बस्ती सुरकुडीका करिब ४६ भन्दा बढी घरका उपभोक्ताहरु लाभान्वित हुनेछन् । खानेपानीको अभावका कारण यस क्षेत्रका उपभोक्ताहरु लामो समयदेखि कुवा र खोल्साको पानी पिउन बाध्य भएका छन् । यो खानेपानी आयोजना सम्पन्न भयो भने सुरकुडी गाउँका सबै बासिन्दाहरुलाई खानेपानीमा सहजता हुने देखिन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *