बागलुङमा गाईजात्रा पर्व : एक दर्जन तायमचा प्रदर्शन !

कोपिला कँडेल, बागलुङ २०७६ साउन ३१ । वर्ष दिन भित्र दिवंगत भएका आत्माको शान्तिको कामना गर्दै बागलुङमा गाईजात्रा प्रदर्शन गरिएको छ । नेवार समुदायले मनाउने गरेको गाईजात्रा पर्वलाई आफ्ना परिवारमा मृत्यु भएको सदस्यको सम्झनामा तायमचा बनाएर नगर परिक्रमा गरिएको छ । यस बर्ष सदरमुकाम भित्रका नेवार समुदायका परिवारमा मृत्यु भएका १२ जनाको तायमचा बनाइएको थियो । बजारको नारायणस्थानबाट सुरु भई बजार परिक्रमा गरी पुन नारायणचोकमा गएर गाईजात्राको समापन गरिएको थियो ।

मृत्यूलाई स्वभाविक र शास्वत सत्यका रुपमा आत्मसाथ गर्दै जीवनमा राम्रो काम गरे हाँसोको पात्र बन्नु पर्दैन भन्ने सन्देशका साथ बागलुङ जिल्लामा रहेका नेवार समुदायद्वारा गाईजात्रा प्रदर्शन गरिएको हो । मृतात्माको स्मरण गर्दै स्वर्गमा वास होस् भन्नाका खातीर एक वर्षसम्म मृत्यु भएका नेवार समुदायको घरघरबाट यस वर्ष गाईजात्रा निकालिएको छ । पुरानो आख्यान अनुसार ने.सं. ५७५ मा राजा प्रताप मल्लका कान्छा छोरा राजकुमार चक्रवतिन्द्र मल्लको शितला रोगका कारण मृत्ुू भएपछि राजकुमारको मृत्यूमा भावविव्हल रानी राजमतीलाई कसैले पनि शान्त राख्न नसकेपछि राजा प्रताप मल्लले जसको घरमा वर्षभरी आफन्तको मृत्यू भएको छ उसको नाममा झाँकी सहित गाईजात्रा निकाल्न उर्दी गरे अनुसार गाईजात्रा पर्व मनाउन शुरु गरिएको मान्यता छ । देशवासीले मृतकका नाउँमा निकालेको झाँकी हास्य प्रदर्शन देखि रानीले अनित्य संसारको सत्य ज्ञान भई मेरो छोरा मात्र होइन थुप्रै जनको मृत्यू भएको रहेछ भनि बुझिछन् । त्यसै वर्षदेखि गाईजात्रा निकाल्न थालनी भएको हो । ३ सय वर्ष अघि काठमाडौं लगायत उपत्यकाका विभिन्न ठाउँबाट बागलुङ आई बसोवास गरेका नेवार समुदायले आफ्नो संस्कृति रुपमा रहेको गाईजात्रा पर्वलाई भने निरन्तर रुपमा मनाउँदै आएका छन् । १ वर्ष भित्र मृत्यु भएका घरबाट गाईजात्राकै दिन प्रसाद बनाएर आफन्त छरछिमेकीलाई खुवाउने चलन रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.