फोनिजको २० औं स्थापना दिवस : आरक्षण गरिबी निवारणको अस्त्र होईन- वक्ता

संगम घर्तीमगर, बागलुङ, २०७६ साउन २७ । सबै जातजाति वर्ग र समुदायलाई राज्यप्रति अपनत्व महसुस गराउन आरक्षणको अवधारणा विकास भएको बागलुङमा आयोजित एक कार्यक्रममा सहभागीले बताएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को २० औं स्थापना दिवसको अवसरमा फोनिज बागलुङले आयोजना गरेको आरक्षण कति उचित कति अनुचित कार्यक्रममा सहभमागीले युगौं देखि राज्यको मूलधारबाट बञ्चित पारिएको वर्ग समुदायलाई सरकार आफ्नो हो भन्ने महसुस गराउन आरक्षणको अवधारण विकास भएको उल्लेख गरे ।

पछि परेका र पारिएका समुदायलाई राज्यको मूलधारमा समावेश गर्नका लागि विश्वमै विभीन्न देशमा आरक्षणको व्यवस्था लागू भएको उनीहरुको भनाई छ । ‘वर्षौंदेखि सरकारको परिपरि बसेर हालीमुहाली गरेको समुदाय र युगौदेखि विभेदमा पारिएका समुदायबीच एकै खालको प्रतिस्पर्धा सम्भव छैन भन्ने राज्यले महसुस गरेर आरक्षणको अवधारणा ल्याएको हो,’ कार्यक्रममा सहभागीले भने,‘अहिलेको सरकार आफै यो आरक्षणको अधिकारलाई खोस्न लागेपछि त्यसको विरोध भएको हो ।’

कार्यक्रममा पत्रकार महासंघ बागलुङका अध्यक्ष एवं फोनिज गण्डकी प्रदेश उपाध्यक्ष दिल शिरीषले आरक्षणको विषयमा सही बहसको प्रारम्भ होस् भनेर कार्यक्रमको आयोजना गरिएको बताए । ‘अहिले भैरहेका सतही प्रकारका विश्लेषण र बहसले हाम्रो समाजलाई गलत बाटोमा डो¥याएको छ,’ उनले भने,‘आरक्षणको विषयमा पनि कम्तीमा यथार्थ बोध हुनेगरी छलफल होस् भनेर यो कार्यक्रम आयोजना गरिएको हो । यसले आरक्षण किन जरुरी छ भन्ने विषयमा पक्कै ध्यानाकर्षण गराएको हुनुपर्छ ।’

सञ्चारमाध्यमहरुमा पनि एकहोरो आरक्षण वर्गीय आधारमा हुनुपर्छ भन्ने भनाईहरु आए पनि किन हुनुपर्छ भन्ने विषयवस्तुहरु नआएको उनको भनाई छ । ‘हामीले पत्रकारिता गर्दा पनि यथार्थ दिनेभन्दा झन भ्रम पैदा गर्ने खालका सन्देशहरु बढि प्रवाह भएजस्तो देखियो,’ उनले भने,‘कतिपय सवालहरुमा कलम चलाउँदा हामी पत्रकारहरु नै स्पष्ट नभएका कारण समस्या देखिन्छ । आज त्यसलाई चिर्ने प्रयास मात्र गरिएको हो ।’ आरक्षणबारे अवधारणा प्रस्तुत गर्दै नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद बागलुङका पूर्व अध्यक्ष अधिवक्ता तेजेन्द्र थापामगरले आरक्षण जनजाति समुदायले मागेको नभई सरकार आफैले दिएको उल्लेख गरे ।

‘विगतमा आदिवासी जनजाति, मधेसी, दलित आन्दोलनमा उठेको कुरा भनेको समानुपातिक समावेशीता हो,’ उनले भने,‘सरकारले आरक्षणबाट लोकसेवामा प्रवेश गराउने नीति अगाडी ल्यायो । अहिले त्यही नीतिबाट पछाडि हट्न खोज्दैछ ।’ संविधान जारी भएको लामो समयसम्म पनि लोकसेवा आयोगको कानुन नबन्नुमा शंका उत्पन्न भएको उनको भनाई छ । ‘अहिले स्पष्ट कानुन नभएको भनेर ९ हजार बढि कर्मचारी माग्दा पनि आरक्षणको सही उपयोग गर्ने वाताबरण भएन,’ उनले भने,‘सबै कानुन बन्ने मिलाएर खानका लागि कानुन बनाउन सकिने लोकसेवाको आयोगको कानुन बनाउन अहिलेसम्म के ले छेक्यो ?’

यदि लोकसेवालाई खुला प्रतिस्पर्धाबाटै लैजाने हो भने शिक्षामा आरक्षणको व्यवस्था हुनुपर्ने बताए । ‘हिजोको वर्णव्यवस्थाले गर्दा केही उपल्लो भनिएको जातिहरुलाई आरक्षण दिएकै हो,’ थापा भन्छन्,‘यो जातिले पढ्ने पूजापाठ गर्ने, त्यो जातिले सत्ता चलाउने अनि यीनी जातिहरुले श्रम गर्ने भन्ने श्रमविभाजन गरेर आरक्षण त दिएकै हो त । अहिले पछि पारिएको समुदायलाई अगाडी बढाउनका लागि केही प्रतिशत आरक्षणको व्यवस्था गर्दा टाउको दुखाईको विषय किन हुनुपर्ने ?’ आरक्षणबाट कम सक्षम मान्छे प्रशासनमा जान्छ भन्नु गलत भएको उनको जिकीर छ ।

‘प्रश्नपत्र उही छ, जाँच्ने मान्छे उही छ, अनि आरक्षणले कसरी कम सक्षम मान्छेलाई लैजान्छ ? आरक्षणमा माग भए अनुसार कसैले उत्तिण गरेन भनेर त्यसलाई खुला कोटामा लग्ने गरेको उदाहरण त हामीसंगै छ नि,’ उनले थपे । नेपाल मगर संघ बागलुङका अध्यक्ष गणेश थापामगरले नेपालमा वर्गिय खाडल निर्माण हुनुमा जाति विभेद र उत्पीडन नै मुख्य भएको बताए । ‘हामीले अहिले वर्गीय मुक्तिको कुरा जोडतोडसंग उठाउँछौं,’ थापाले भने,‘तर वर्गीय खाडल कसरी उत्पन्न भयो भन्ने हे¥यौं भने त्यसमा जाति उत्पीडन र बहिस्करणले सिर्जना गरेको पाउँछौं । यो कुरालाई आत्मसाथ गरेर अगाडी बढ्न सकेनौं भने हामीले चाहेको समाज निर्माण हुन सक्दैन ।’

लेखक दिल निशानी मगरले आरक्षणप्रति गलत धारणाको विकास भएको बताए । ‘अहिले वर्गका आधारमा आरक्षण दिनुपर्छ भन्ने गलत तर्कहरु आएका छन्,’ उनले भने,‘आरक्षण गरिबी निवारणको आधार होईन, खरदार सुब्बामा २०÷२५ हजारको जागिर खाएर कोही पनि धनि बन्दैन । यो त राज्यको निकायहरुमा मेरो उपस्थीति छ हामी पनि यो राज्यका हौं भन्ने अपनत्व दिलाउने माध्यम हो । गरिबी निवारणका लागि राज्यले अरु कार्यक्रम ल्याउनुपर्छ ।’ जनजाति अभियन्ता यामबहादुर घर्तीमगरले यो समाजमा जाति विभेदकै कारण पिछडिएका समुदाय छन् भन्ने स्वीकार गर्न नसकेसम्म समाजले सही दिशाबोध गर्न नसक्ने उल्ले गरे ।

‘जातिय आरक्षणबाट कमजोर मान्छेहरु सत्तामा पुग्छन् र राज्य सञ्चानलनमै समस्या उत्पन्न हुन्छ भन्ने गलत तर्कहरु सुनिन्छन्,’मगर भन्छन्,‘यदि त्यसो नै हो भने अहिलेसम्म सक्षम भनिएकाहरु सत्तामा थिए । अहिले देशको यो अवस्था किन भयो त ? अव पनि विभेद छ, विभेदको न्यूनिकरणका लागि लेनदेन गरौं भन्ने कुरालाई स्वीकार्न किन गाह्रो परेको छ ?’ महिला अधिकारकर्मी भविकला रोकाले जातिय, वर्गीय र लैङ्गिक असमान्ता हटाउनका लागि आरक्षणको सुरुवात भएको बताईन् ।

कार्यक्रममा दलित अधिकारकर्मी भक्त विकले जात बनाएर पढेको पनि सुन्न नदिनु भन्ने व्यवस्था गरेर हेपिएका सुमदायलाई अहिले खुला प्रतिस्पर्धामा आउ भन्न नसुहाउने उल्ले गरे । होटल व्यवसायी संघ गण्डकीका अध्यक्ष अर्जुन चोखाल, पत्रकार प्रकाश बरालले आरक्षणको वर्गीय आधारमा दिँदा राम्रो हुने धारणा राखे ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागलुङका अध्यक्ष संगम घर्तीमगरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष तनमति रोका र सञ्चालन सहसचिव डम्बर बुढाले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *