तीज संस्कार या अहंकार … ?

रामु शर्मा ‘सोम’

नेपालीको महान चाड तीज पर्व हाम्रो दैलोमा अब आउन धेरै समय बांकी छैन, यता उता जाउँ तीजका आधुनिक लोकलयका गीतले गुन्जायमान हुँदा तीजको महसूस बेग्लै हुन्छ, अझै दिदी बहिनी नभएका दाजुभार्इको लागि खल्लो भएतापनी अन्य नातागत र भावनात्मक दिदी बहिनीको आगन भासिने गरि नाँच्ने दिनको व्यग्र प्रतीक्षा भैरहन्छ । हो, यदाकदा खल्लो महसूस पक्कै हुन्छ सोच्ने गर्छ त्यो बेलामा मनले , कास मेरी पनि दिदी बहिनी भैदेको भए … । तैपनि मन रमाउँछ नै किनकी आफ्नै नभएनी आफ्नैले जस्तै गरेर माया दिने थुप्रै दिदी बहिनी छन नि त १११ उनि/हरुकै सामिप्यतामा तीजको रौनकलाई रंगिन बनाउन मज्जाले लागिपरिन्छ ।

बिशेषगरि तीज शब्दको मार्मिक अर्थ नै रहेछ, बर्ष दिनमा एकपटक आउने तीज बिसुद्ध रुपमा महिलाको निम्ति रहेछ । अझ विशेष गरि बिहे गरेका महिला दिदीबहिनीको चाड। दिनहुँ पराइ घरको दुख पीडा अनि विभिन्न खालका अत्याचार सहेर बसेका नारीहरुलाइ तीजले निकै ठूलो महत्व राख्दथ्यो, अगिपछी मार्इत शब्द निकाल्न नसक्ने चेलीले तीजको बेलामा मार्इत शब्द निकाल्न मज्जाले सक्नेरहेछन, किनकी उनिहरुलाइ लाग्थ्यो कि तीज हाम्रो दुख बिसाउने भारीको चाड हो, माईतबाट कोहि लिन आउलान अनि विभिन्न खोला नाला तरेर आफ्नो जन्मघर गएर मीठो चोखो खाएर केही दिन भएतापनी मनमा एक प्रकारको बेग्लै शान्तिको सास फेर्नको निम्ति चिनिएको चाड हो यो।
यसै तिथिमा माता पार्वतीले शिव भगवानलाइ पाउनको लागि कठोर तपस्या गरेर शिवलाई आफ्नो स्वामीको रुपमा पाएको हुनाले यस्लाइ अबिबाहित नारीको लागि असल पति या आफुले चाहेको पति पाउनको निम्ति यो व्रत निर्जल र कठोर रुपमा बसेमा उन्को मनोकामना पूरा हुने बिस्वास छ, भने बिबाहित नारीको हकमा यस तिथिमा निर्जल व्रत बसेमा आफ्नो श्रीमानको आयु लामो हुने, गुण सुशील र असल हुने बिश्वास पनि रहिआएको छ ।

यो हाम्रो धार्मिक मान्यता हो, तर के अहिलेको जमनामा जुन किसिमले तीज पर्वको सुरुवात भएको थियो त्यस्लाई निरन्तरता दिइएको छ त भन्नेमा अन्योल उत्पन्न हुन्छ।

बिशेष गरि आधुनिक युवती मात्र हैन युवाको लागि समेत तीजको रौनक मज्जाले लागेको बुझ्न सकिन्छ, किनकी नारीको पीडा र बेदना पोखिने तीज गीतमा समेत अहिले पुरुषले ठट्टेउली पारामा गीत गाएर तीजको वास्तविक मर्मलाइ कुल्चिदै छन, उबेलामा बेदनाको पोको, चेलीको आँसु, तीजको कोसेली, चेलीको तीज जस्ता गीत सुन्ने यो कानले अहिले पोइला जान पाम, एउटी बुढी चाहियो, एउटीलाइ लब पारम अब, आउ हामी लभ पारम, मागे देलान नत्र भाग्दिम, अनि पछिल्लो समय चर्चित गीत केटी मान्छे मात्र नाँच्ने जैलेको तीजमा हामी केटा पनि नाच्ने हो बिच बिचमा भन्ने भावकी गीतले नै प्रस्ट हुन्छ कि यो पर्वमा कतिसम्म छाडा भित्रिइसकेको छ भनेर, अझ यो मात्र हैन खासमा चेलीलाइ एक दिन मात्रै भएपनी मिठो मीठो ख्वाउ न त भनेर आएको दर खाने चलनको त झन बेजोग नै पाराले बिकृती भित्रिएको छ, तीज आउनुभन्दा एक महिना अघिबाटै दर खाने नाममा अनेक पैसा लिंदै ल है दर खाने कार्यक्रम छ है आउनु भन्दै टिकट काट्दै हिंड्ने, दरको नाममा रक्सी,मासु र भोज भतेर गर्ने, समाजमा भएका सामान्य मानिसलाइ समेत प्रभावित पारेर त्यही दलदलमा फसाउने र अरुको हेरेर आफै पनि फसिने, दरको नाममा विभिन्न संस्था, संगठन, यद्दपो सरकारी निकायसमेत लाखौंको पैसा उडाउने प्रबृत्ती निकै हावी भएको पाइएको छ ।

तीज पर्व के हो र दर खाने पर्व के को लागि हो भने महत्व सायद आजभोलिका पुस्तालाइ थाहै छैन जस्तै लागेको छ । हुनेले त गर्लान तर नहुनेले समेत गर्न बाध्य हुन्छन जब सबैजना त्यस माहोलमा मिसिन्छन भने, ओल्लो छेउ, पल्लो छेउ, तल माथिका सब जना दरको कार्यक्रम भन्दै हिंड्न थाले । आफू कुनामा ह्या भन्दै बस्न सक्ने अबस्था नै रहंदैन र त्यस्ले गर्दा जनतन रिनै खोजेर भएतापनि त्यस्मा सरिक हुन मन लागिहाल्ने, अब हेर्नुस त यो प्रबृत्तिले कस्लाइ असर गरेको छ, आखिर मर्ने र पर्ने त गरिब नै रहेछन नि है, अझ साथीभाइ, विभिन्न क्लब, संघ संस्था लगायत अन्य निकायले समेत हेर हाम्रो कार्यक्रम हो भन्दै जबरजस्ती टिकट नै भिडाइदिन खोज्छन । लिउँ त्यो वाइयात हो जस्तो लाग्ने नलिउँ खुब ठूलो भकी हामी सबै मनाउंदा उस्लाइ चाहिँ के को आदर्शबाद चडेको होला या के को एकलकाटे भएकी होलि या भएको होला है भन्दै खिल्ली उडाउन समेत पछि नपर्न सक्छन । त्यसै कारणले पनि कसैको मन नऐ राख्न भएपनी मुटुमाथी ढुंगा र कांधमा रिन बोकेर त्यो डिस्को अनि दारु र पार्टीको कथित दर खाने कार्यक्रममा सहभागी हुन बाध्यतात्मक भैदिन्छन।

त्यसैले यस्ता सँस्कृतिको रुपमा भित्रिएका बिकृतिलाइ बेलैमा निर्मुल पार्न सकिएन भने हाम्रा महान चाड कहलिएका तीज, दसै तिहारको अस्तित्व पनि कालान्तरमा हुनेवाला र धनीबानीको मात्र चाड हुने अन्य गरिबको लागि थोत्रो टोपीमा पसिनाको मयल पुछ्दै च्यातिएको झुत्ते गुन्द्रीमा हे बरै मेरो चाड पनि आयो अनि अब गैहाल्यो भन्नुसिबाय अरु कुनै बिकल्प बांकी रहनेछैन । तसर्थ सजग बनौं, आफ्नो दक्षता र संस्कृतिको मूल्य र मान्यताभन्दा बाहिर गएर चाडलाइ चोपिलो र खर्चिलो नबनाउँ। धन्यवाद।
बागलुङ
२०७६ साउन २६ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *