प्रशंगवस : प्राकृतिक विपत्ति र पश्चिम बागलुङको सास्ती !

— राम सुवेदी

बुतिृवाङ २०७६ साउन २० । प्रकृति कसैको पहुँचमा हुँदैन । प्राकृतिक विपत्ति जो कोहीलाई, जहाँकही र जस्तोसुकैबेला आइपर्न सक्छ । प्रकृतिक विपत्ति अप्सोचका घटना हुन् । विपत्ति नपर्नसम्म मान्छे त्यही विपत्तिलाई अप्रत्यक्ष निम्तो गरिरहेको हुन्छ । सुन्दर प्रकृतिलाई, अप्राकृतिक तवरले गरिने दोहोन् । छेडछाड र त्यसको अनुचित प्रयोजनले यस्ता विपत्ति निम्तन्छन् ।

अघिल्लो वर्ष भाद्र २९ गते राति बडीगाड गाँउपालिका र ढोरपाटन नगरपालिकाको सीमाक्षेत्रमा मध्यपहाडि लोकमार्ग निर्माण गर्दैगर्दा भीषण पहिरोले गयो । निसी, भूजी र तमानखोला मिसिएर बगेको बडीगाडखोला थुनेर त्यहाँ कृत्रिम ताल पनि बन्यो । जस्को नाम तुरतुरे पहिरो भन्दा भन्दै तालपनि तुरतुरे रह्यो । पहिरो जानु प्रकृतिक नियम थियो । कारण विकास सँगै विनास भनेर भन्छौं । प्राकृतिक स्रोत साधनको अप्राकृतिक छेडखानी नै हो । पहिरोले बडीगाड थुनेर बनाएको कृत्रिम ताललाई एकखालको मानसिकताले सौभाग्य पनि ठान्यौं । अर्कोतिर त्यसको सही संरक्षण वा सदुपयोगका हिसावले दीर्घकालीन योजना बनेनन् । अहिले त्यो अप्राकृतिक ताल, बडीगाड खोलाकै बाढीले भत्कायो । ताल फुट्यो भनेर अहिले सञ्चार माध्यमहरुमा खबरहरु छन् । गत बर्ष भदौ महिनाको अन्तिममा खोलाको बहाव कम भएको समय थुनिएर बनेको तालको भविष्य पक्कै थिएन । अहिले ताल रहेन भनेर खास चिन्ता गर्नुपर्ने पनि देखिदैन । एक बर्ष हिंउँद जानसम्म केही समय डुँगा सयर गराइयो, स्थानीयलाई रोजगारीका कुरा गरियो तर त्यो रोजगारीको दीर्घकालीन सोंच स्थानीय सरकारले पक्कै थिएन । ‘आए आँप गए झटारो’ नेपाली उखान छ, ताल थियो डुँगा शयरका कुरा आए, ताल गयो, पुरानै जग्गामा खेती किसानीका कुरा अव चल्नेछन् ।

तुरतुरे पहिरो, त्यसले खोला छेकेर बनाएको ताल एउटा सामान्य विषय हो । हामीले खोजेको प्राकृतिक विपत्तिपछि त्यसले मानवीय जीवनमा पार्ने प्रत्यक्ष प्रभाव र त्यो प्रभावको व्यवस्थापकीय पक्ष हो । विपद कुनै योजना होईन तर विपत पछिको उद्धार, राहत, बस्ति स्थानान्तरण, बासोवास व्यवस्था तत्कालका योजना हुनुपर्दछ । त्यस्ले पार्ने केही दीर्घकालीन समस्याहरु हुन्छन् । त्यस विषयको योजना पनि दीर्घकालीन सोंच सहित आउन सक्नु पर्दछ । अहिले देशमा तीन तहको राज्य सञ्चालनमा छ । संघीय संरचनाबाट राज्य व्यवस्थापन चुस्त दुरुस्त र छिटो छरितो जनताको पहूँचमा पुग्छ भन्ने मान्यता यो व्यवस्थाले राख्छ । त्यो राज्य व्यवस्थाको सोंच आवश्यकता र समस्याको नजिकबाट राख्नुपर्ने हो । त्यो अझै भएको पाइएको छैन ।

ताल बगेपछि मध्यपहाडी लोकमार्ग सडकमा क्षति भयो । तालको भविष्य प्रति सही समयमा विश्लेषण गरिएन । तालको दीर्घकालीन व्यवस्थापनमा कुनै योजना बनेनन् । ताल संरक्षण पनि भएन त्यसको दीर्घकालीन आयु समेत विश्लेषण नगरिंदा अहिले त्यसको नोक्सान बेहोर्नु परेको छ । तालबाट बगेको पानीको वहावले २ सय मिटर हाराहारीमा सडक पुरै बगाएपछि त्यसको विकल्पको बाटो के भन्ने अव नयाँ चिन्ता जन्मिएको छ । ताल सामान्य अवस्थाबाट फुट्दा त्यसले बडीगाड गाउँपालिका लगायत गुल्मीको भु—भागसम्मको क्षतिको संवेदनशीलताका विषयमा अध्ययन अनुसन्धान र सचेतिकरणको पूर्व अभ्यासहरु भएको पाइएको थिएन । मन्द गतिमा तालको पानी बडीगाडमा बग्दै गर्दा, तल्लो क्षेत्रमा कुनै क्षति नहुनु सुःखद कुरो हो तर चुनौतिको सवालमा योजना नबन्नु, दुरदृष्टि नराखिनु दुःखद पक्ष थियो ।

अव पश्चिम क्षेत्र एकपटक फेरि सास्ती बेहोर्न बाध्य छ । प्रकृतिसँग कस्को के लाग्छ भनेर, यहाँको राज्य निकाय मौनताको दोसाँधमा उभिने दिन पक्कै होइन । हिजोका दिनमा दीर्घकालीन योजना बनाउन सकिएन भनेर आलोचनात्मक चेत सहितको नयाँ चिन्तन अब अपरिहार्य छ । जहाँ सडक बगेको छ, त्यस आसपासमा बैकल्पिक बाटो ल्याउने ठाउँ देखिदैन । अर्थात समय धेरै लाग्ने छ । एकातर्फ अघिल्लो वर्षको पहिरो आफैमा जोखिमपूर्ण छ । अर्कोतिर पहिरोले सडक बगाएको स्थानमा ठूलो चट्टानी पहाड छ । खोलाको वारीपारि सहज रुपमा बैकल्पिक सडक यहाँनेरबाट बनाउन सकिन्छ भन्ने ठाउँ देखिन्न । के अव, पश्चिम बागलुङको ढोरपाटन, तमानखोला र निसीखोलाका जनतालाई तत्काल सडकको बैकल्पिक व्यवस्था गरिदिने सक्षमता यहँका तीनवटा स्थानीय तहले राख्न सक्लान ? के गण्डकी प्रदेशले वर्तमान संकटमुक्त योजना ल्याउन सक्छ ? वा संघीय सरकारबाट सञ्चालित राष्ट्रिय गौरवको आयोजना मध्यपहाडि लोकमार्ग आयोजनाले, समस्याको बैकल्पिक व्यवस्था तत्काल गर्ला ? प्रश्नहरु आफैमा असहज छन् । हिजो तु्रतुरे पहिरोले आधा महिना सडक अवरुद्ध बनाउँदा, सही समयमा मध्यपहाडि लोकमार्ग आयोजनाले सडक खुलाउने हिम्मत नगरेको इतिहासले दावी गर्छ । स्थानीय निर्माण व्यवसायीहरुको हिम्मतले सडक खोलियो । लामो समय प्रक्रियाका कुरा गरेर आयोजनाले पैसा नदिएको गुनासो पनि उत्तिकै थियो । त्यतिञ्जेलसम्म भिमगीठे, दर्लिङखोला, राजकुत, देविस्थान हुँदै बुर्तिबाङसम्मको बैकल्पिक सडक स्थानीय चारबटा तहले लाखांै खर्च गरेर खोलेका थिए । आश्विन महिना भएकाले त्यहाँबाट यातायातका सवारी चल्न केही सम्भव भयो । त्यसवेला लगानी गरिएको सडकलाई हिउँदमा थप व्यवस्थापन गरेर अहिलेपनि सञ्चालन गर्नुपर्छ भन्ने चिन्तन यहाँका राज्य निकायले कहिल्यै गरेनन् । ‘खेली त¥यो, लौरी विस्र्यो ।’ जस्तो कहानी देखियो । अहिले सडक अवरुद्ध भएपछि मध्यबर्खामा खाद्यन्न संकट, औषधि उपचारमा समस्या, यातायात सेवाबाट जनता प्रत्यक्ष प्रभावित हुनेभएका छन् । त्यसबेला खोलिएको बैकल्पिक सडक थप व्यवस्थापन नहुदा अव सहज सञ्चालन हुने अवस्था पनि छैन ।

समयमा विकल्पको सोंच राखेको भए, भिमगीठे, दर्लिङ, राजकुत हुँदै सालझण्डी ढोरपाटन सडकबाट निसीखोलाको देविस्थानसम्म मध्यपहाडी लोकमार्गमा जोडने सडकको व्यवस्थाकीय पक्षमा स्थानीय पालिकाले योजना बनाउन सक्थे । प्रदेश सरकारले बजेट फ्रिज गराइरहँदा त्यसलाई विकल्पको सडक मान्ने दीर्घकालीन योजना बन्नुपर्दथ्यो । त्यो भएन ।
अर्को ढोरपाटन नगरपालिका आफैले पनि भिमगीठेहुँदै मालारानी, सिमलचौर, पात्लेपुलसम्मको अर्को सडक सञ्जालको योजना गत हिंउदमै बनाउन सक्ने सम्भावनामा छलफल गरेको पाइएन । कारण अव यो बर्खा पश्चिम बागलुङलाई यातायात, खाद्यन्न, तरकारी, नुनतेल, औषधि उपचारमा पक्का शास्ति झेल्नुको विकल्प आउला ? आसा गर्ने तर भरोसा चाही गरिहाल्ने अवस्था छैन ।

बडीगाड गाँउपालिका र ढोरपाटन नगरपालिकाको सीमानामा रहेको तुरतुरेताल फुटेसँगै त्यसको वहावले मध्यपहाडि लोकमार्गको करिव २ सय मिटर सडक बगाएको छ । लोकमार्ग सडक बगेसँगै बागलुङ पश्चिमको सडक सञ्जाल अवरुद्ध भएको छ । बैकल्पिक सडक समेत नभएको अवस्थामा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएपछि यहाँका जनतालाई सास्ती हुने देखिएको छ ।

ताल फुटेपछि अहिले करिव ५० प्रतिशत पानी खोलामा बगेको छ । करिव ७ घण्टा थुनिएर बनेको ताल एकैपटक नफुट्दा बडीगाड खोलाको तटिय क्षेत्रमा अरु क्षति भएको छैन । सडक अवरुद्ध भएको मध्यपहाडी लोकमार्गका विषयमा आयोजनाका ईञ्जिनियरहरुसँग परामर्श भइरहेको बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री बताउनुहुन्छ । उता बडीगाड गाँउपालिकाका अध्यक्ष मेयरसिह पाइजाले सडक अबरुद्द भएपनि अरु नोक्सान नभएको बताउनुभएको छ । रातीदेखि नै सञ्चार माध्यमहरु र प्रहरीटोलीले तटीय बस्तिमा सावधानी अपनाउनका लागि अनुरोध गरेका थिए । समयमा नगरिएको दीर्घकालीन सोंच र विकल्पको बाटो पहिल्याउन सक्ने दृष्टि भएन भने, सृष्टि थामिएला तर नागरिकका समस्या समाधान हुदैनन् ।

लेखक ईबागलुङका संपादक हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *