अखण्ड नेपाल पार्टी क्षत्री समाजको होईन : अध्यक्ष थापा

बागलुङ २०७३ चैत २० । क्षत्री समाज बागलुङको नवौँ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । साधारण सभाको क्षत्री समाज नेपालका केन्द्रिय अध्यक्ष प्रा डा चन्द्र बहादुर थापाले उद्घाटन गरेका थिए ।

आफनो उद्घाटन भाषणमा अध्यक्ष थापाले अखण्ड नेपाल पार्टी क्षत्री समाजको भन्ने हल्लामात्र भएको चर्चा गर्दै यो पार्टी क्षत्री समाजको नभएको र क्षत्रीहरुले आफ्नो अधिकारको लागि आफुहरु रहेका पार्टीहरुमा जोड्दार रुपमा कुरा उठाउनु पर्ने बताए ।

पहिले क्षेत्रीहरुको हक अधिकारको लागि भन्दै पार्टीको स्थापना गर्नेहरुले अहिले आफनो स्वार्थको लागि काम गरेको उनको आरोप थियो ।

कार्यक्रममा क्षत्री समाज नेपालका निवर्तमान अध्यक्ष प्रा.डा. दिन बहादुर क्षत्री, भुपु सैनिक समाज नेपालका केन्द्रिय अध्यक्ष अनिरुद्र थापा, क्षत्री समाज नेपालकी केन्द्रीय सदस्य सरस्वती भण्डारी, क्षत्री समाज म्याग्दीकी अध्यक्ष अमृतदेवी बानियाँ, तनहुँका अध्यक्ष भरत बहादुर अधिकारीले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा वयोवृद्ध शक्ति बहादुर खड्का र शैक्षिक क्षेत्रमा उल्लेख्नीय सहयोग गरेको भन्दै दिप्सन बास्कोटालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा केन्द्रिय अध्यक्ष थापाले क्षत्री समाज बागलुङलाई ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग प्रदान गरेका थिए ।

क्षत्री समाज बागलुङका अध्यक्ष बाबुराज कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत वरिष्ठ उपाध्यक्ष महेन्द्रसिंह रायमाझी र संचालन दिपेन्द्र बास्कोटाले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.