कालिका भगवती मन्दिर परिसर भीक्षाटन मुक्त बनाउने अभियान शुरु !
सबै साधु-सन्त,असहाय, अशक्तहरुलाई समेत मन्दिर परिसरबाट निष्काशित गर्नु कति व्यवहारिक ?

राम प्रसाद घिमिरे, बागलुङ, २०७६ साउन १७ । नेपालकै प्रशिद्ध धार्मिक स्थल कालिका भगवती मन्दिर परिसरमा बस्ने साधु, सन्त एवं सडक छेउछाउमा बसेर माग्नेहरुको व्यवस्थापन गरि कालिका भगवती मन्दिरलाई माग्नेहबाट मुक्त बनाउने अभियान सुरु गरिएको छ । आज विहान कालिका भगवती गुठी व्यवस्थापन समिति, प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, पत्रकार लगायतको उपस्थितिमा मन्दिर परिसरबाट साधुसन्त लगायतका भीक्षाटनकारीहरुलाई हटाईएको हो ।

बिभिन्न मठ मन्दिर एवं धार्मिक क्षेत्रहरुमा प्राय: साधु सन्त एवं अशक्त, असहायजन भीक्षाटनका लागी बस्ने गरेको पाईन्छ । यसैको उदाहरण स्वरुप दशकौं देखि कालिका भगवती मन्दिर परिसरमा भीक्षाटनका लागी बस्ने साधु, सन्त एवं अशक्तहरुलाई मानव सेवा आश्रममा व्यवस्थापन गर्ने गरि सुरु गरिएको अभियानमा पहिलो दिन आज ३ जनालाई मानव सेवा आश्रममा व्यवस्थापन गरिएको छ ।

प्रशिद्ध पशुपति नाथ, गुह्येश्वरी देखी लिएर मुलुकभरका धार्मिक स्थलहरुमा साधु सन्त एवं अशक्त, रोगी असहायजनहरु भीक्षाटन गरेर जीवन यापन गर्दै आईरहेको देखिन्छ । बागलुङ कालिका भगवती मन्दिर परिसरमा पनि खासगरी चैत्राष्टमि र बिजया दशमीको अवसरमा सयौँ साधु सन्त एवं अन्यान्य असक्त गरीव रोगीजनहरु आएर भीक्षाटन गर्ने प्रचलन दशकौँ देखी जारी छ । पछिल्लो समय कालिका भगवती मन्दिर परिसरमा बाह्रै महिना भारत र नेपालका विभिन्न भूभागबाट साधु सन्त अशक्त रोगी पीडितहरु भीक्षाटनका लागी बस्ने गर्न थाले पछी यिनीहरुको व्यवस्थापनमा केहि समस्या देखा परेको निश्चित हो ।

कालिका भगवती मन्दिर परिसरमा आश्रयस्थल बनाएर भीक्षाटन गर्नेहरु कोहि मदिरा सेवनगरी झै झगडा गर्ने गरेको पनि देखिन्छ । यस्ता भीक्षाटनकारीहरुलाई कालिका भगवती मन्दिर परिसरबाट हटाउन जरुरी पनि छ । तर भीक्षाटनका लागी कालिका भगवती मन्दिर परिसरमा बस्ने सबै साधुसन्त, असाहाय अशक्तहरुलाई समेत परिसरबाट निष्काशित गर्नु कति व्यवहारिक होला ? साधु,सन्त, महन्तहरु त कुनैपनि मठ,मन्दिर, देवालय एवं शक्तिपीठहरुका शोभा हुन् भन्ने धार्मिक मान्यता रहेको छ ।

दशकौँ देखी साधु सन्त, अशक्त असहायहरुले कालिका भगवती मन्दिर परिसरमा भीक्षाटन गरेर जीवनयापन गरिरहेको प्रचलन हटाउने आजको अभियानले तत्क्षेत्रमा पर्ने नकारात्मक असर प्रति सरोकारवालाहरु गम्भीर हुनु पर्ने देखिन्छ । खराब आचरण भएकाहरुलाई हटाउनु वा अन्यत्र व्यवस्थापन गर्नुलाई नराम्रो भन्न मिल्दैन । जस्ले कालिका भगवती मन्दिर परिसरलाई मागी खाने स्थल बनाएर कमाउको धन्दा सन्चालन गर्दै आएका छन् त्यस्ताका पहिचान गरी परिसरबाट निष्काशित गर्नु पर्छ । तर जस्ले घरगृहस्थी त्यागेर साधु सन्तको रुपमा जीवन अर्पण गरेका छन उनिहरुलाई यसरी प्रहरी लगाएर कालिका भगवती मन्दिर परिसरबाट हटाएको धेरैलाई पचेको छैन । साधु, सन्त, असहाय, अशक्तहरुलाई बदमाशहरु सरह निष्काशित गर्दा धार्मिक आस्थामा समेत प्रतिकुल प्रभाव पर्न सक्ने तिर विचार पुराउनु आवश्यक छ ।

कालिका भगवती मन्दिर परिसरबाट हटाईएका साधु सन्तहरुलाई मानवसेवा आश्रममा राख्ने कुरा कति सान्दर्भिक हुन्छ ? यो पनि एक गम्भीर प्रश्नको रुपमा उपस्थित भएको छ । मानव सेवा आश्रम दीन दु:खी असायहरुका लागी हो कि साधु सन्त महन्तहरुको आश्रम स्थल ?

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.