जिल्लालाई दुर्घटना मुक्त बनाउन प्रहरी सहित सबै सरोकारवाला जिम्मेवार बन्नु पर्छ – प्रहरी उपरीक्षक भट्ट

समुदायमा साझेदारी कार्यक्रम अन्तर्गत ट्राफिक सचेतना कार्यक्रम सम्पन्न !

कोपिला कंडेल, बागलुङ २०७६ साउन १२ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले समुदायमा साझेदारी कार्यक्रम अन्तर्गत ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । बढ्दो सवारी चाप संगै हुन सक्ने सम्भावित दुर्घटना न्युनीकरणका लागि सरोकारवालाका बिच सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको हो ।

सो अवसरमा बोल्दै जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले सवारी दुर्घटनाबाट बच्नका लागि ट्राफिक नियमको पुर्ण पालना गर्नुपर्ने बताउदै ट्राफिकको एक्लो प्रयासबाट मात्र दुर्घटनालाई रोक्नका लागि पुर्णता पाउन नसक्ने बताए ।

प्रहरी प्रमुख भट्टले समुदाय र अन्य सरोकारवाला संग पनि सहकार्य गर्नुपर्नेमा जोड दिँदै बिना लाईसेन्स सवारी चलाउने हेल्मेट नलगाउने तिव्रगतिमा हाक्ने चर्को ध्वनी लगायतका ट्राफिक नियम उल्लंघन गर्नेलाई प्रहरीले नियन्त्रणमा ल्याउने बताए । उनले भने जिल्लालाई दुर्घटना मुक्त बनाउनका लागि प्रहरी सहित सबै सरोकारवाला जिम्मेवार बन्नुपर्दछ ।

कार्यक्रमको सहजिकरण गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख महेन्द्र रानाभाटले दुर्घटनाबाट आफुपनि बच्न र अरुलाई पनि बचाउनका लागि ट्राफिक नियमलाई आत्मसाथ गरेर सवारी चलाउन आग्रह गरे । मादक पदार्थ सेवन, मोबाईलको प्रयोग तथा तीब्रगतिमा सवारी हाक्दा दुर्घटनाको प्रवल सम्भावना हुने भन्दै ट्राफिक प्रमुख रानाभाटले दुर्घटनाबाट हुन सक्ने क्षेतिको अन्त्यका लागि सबै सचेत र सजग बन्नुपर्नेमा जोड दिए । उनले सडकमा सवारी साधनबिच पर्याप्त दुरी कायम गरी सवारी हाक्न तथा गलत दिशा तर्फ ओभरटेक नगर्न आग्रह समेत गर्दै ट्राफिक नियमलाई उल्लंघन गरी सवारी हाक्ने जो कोहीलाई आफुले नछाड्ने चेतावनी समेत दिए ।

कार्यक्रममा उद्योग बाणिज्य सघं बागलुङका अध्यक्ष युवराज राजभण्डारी यातायात ब्यवस्था कार्यालयका राम प्रसाद शर्मा र यातायात ब्यावसायी कुमार मल्ल लगायतले मन्तव्य दिएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.