एकै रातमा बडीगाड- १ को वडा कार्यालय, खड्क देवी मावि सहित झण्डै दर्जन घरमा लुटपाट !

कमल पौडेल, बडीगाड (बागलुङ) २०७६ साउन १० । बडीगाड गाउँपालिका वडा नं. १ को वडा कार्यालय, खड्क देवी मावि तुन्डाडा, स्थानियको पसल समेत तोडफोड गरि लुटिएको छ ।

बुधवार राति सोहि वडा भित्रका फरक फरक स्थानमा झण्डै ८ तोला सुन सहित डेढलाख नगद चोरी भएको हो । ओवाङकी पुष्पा थापाको साढे ७ तोला सुन र ८० हजार नगद, दगातुन्डाडा कृषि समुहको ३६ हजार ५ सय ६० नगद सहित नेपाल बैंक लिमिटेडको चेक, तुन्डाडाका होम बहादुर थापाको सुनका क्लिप, छविलाल भुजेलको १५ हजार नगद, ढाल वहादुर थापाको ५ हजार नगद, देविराम श्रीसको ५ हजार नगद, नेपानेका गंगा वहादुर भुजेलको २२ सय नगद र वच्चाको गहना लुटिएको हो। त्यस्तै नेपानेकै टंक भुजेलको घर र तुन्डाडामा यान वहादुर श्रेष्ठको औषधि पसलको ताला फोडिएको छ । तोडफोड भएका कुनै पनि घर र पसलमा मानिसहरु थिएनन् । तर एकै रातमा डेढ घण्टाको पैदल दुरीमा रहेका फरक फरक टोलमा भएको लुटपाटले स्थानियलाई झस्काएको छ ।

यो घटनालाई वडा नं. १ का अध्यक्ष वोम वहादुर थापाले राज्यमाथिकै हमला भएको टिप्पणी गरेका छन् । वडा अध्यक्ष सहितको टोली वाहिर भएको समयमा सो घटना भएकोले शुक्रवार मात्रै घटना सार्वजनिक भएको हो । शुक्रवार विहान खर्वाङ प्रहरी चौकीबाट प्रहरी सहायक निरिक्षक मन वहादुर कार्किको कमाण्डमा गएको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.