दुई दशक बागलुङलाई कर्मथलो बनाएका पशु स्वास्थ्य प्राविधिक साहलाई यसरी गरियो भव्य बिदाई !

मित्र खरेल, गल्कोट २०७६ साउन ५ । एक्काईस वर्ष देखी बागलुङ जिल्लामा रहेर आफ्नो कार्य क्षेत्रका प्रत्यक कृषकहरुको घरघरमा पुगेर पशु स्वास्थ्यको पाठ सिकाएका पशु स्वास्थ्य प्राविधिक छैठौँ (अधिकृत) राम एकवाल साहलाई स्थानीयले भव्य विदाई गरेका छन् । उनी सर्लाही जिल्लाको बणमती नगरपालिकामा सरुवा भएर जाँदैछन् ।

पशु प्राबिधिक साह, सर्लाही जिल्ला कपिलासी नगरपालिका ३ स्थायी बसोबास भएर बागलुङ जिल्लालाई कर्मथलो बनाएर सेवा गर्दै आएको राष्ट्रसेवक कर्मचारी हुन् । उनि २०५५ पुस २० गते स्थायी नियुक्ती पाएपछी बागलुङ जिल्लाको साविक छिस्ती गाविस (हाल जैमिनी नगरपालिका)को छिस्ती पशु सेवा केन्द्रमा हाजिर भएर सेवा प्रारम्भ गरेका थिए । करीब पाँच वर्ष त्यहाँ कार्यरत रहेका साहलाई २०५९ साल साउनमा पशु सेवा शाखा बागलुङले साबिक काँडेबास गाविस स्थित पशुसेवा केन्द्रमा सरुवा गरेको थियो । काँडेबास पशु सेवाकेन्द्रमा १७ वर्ष कार्यरत रहेर काँडेवास, मल्म, रिघा, सुखौरा लगायतका गाविसहरुका किसानहरुलाई कुनै झिजो नमानी पशु सेवा सम्वन्धी सेवा प्रवाह गर्दै हर कृषकको घर घरमा पुगेर पशुपंक्षीहरुको उपचार र तत्सम्वन्धी यथेष्ठ जानकारी दिँदै कृषकहरुको मन जितेका साहलाई बिदाई कार्यक्रममा बोल्ने बक्ताहरुले मिलनसार कर्तव्य परायण कर्मचारीको रुपमा प्रशंसा गर्न चुकेनन् ।

तराई क्षेत्रका साह गल्कोटको विकट पहाडी क्षेत्रहरुमा उकालो ओरालो नभनि कृषकहरुको घरघरमा पुगेर पशुपंक्षीहरुलाई स्वास्थ्य सेवा प्रवाह गरेको भन्दै उनको मुग्धकण्ठले प्रशंसा गरेका थिए । उनिहरुले साह जस्तो ईमान्दार, कर्तव्यनिष्ट, सेवाप्रति समर्पित राष्ट्रसेवक कर्मचारीको भव्य एवं हार्दिक बिदाई गर्नु गर्वको विषय भएको बताए ।

कृषकहरुको हित नै आफ्नो स्वार्थ हो भन्ने भावनाले ओतप्रोत साहको जति प्रशंसा गरे पनि थोरै हुने कृषकहरुले बताए । राम्रो काम गर्ने राष्ट्रसेवक कर्मचारी साहलाई बिदाई गर्नु पर्दा निकै दुख लागेपनि सरकारले अटाएको ठाउँमा जानु पर्ने भएकाले हामीले गह्रुंगो छाती बनाउदै उहाँलाई बिदाई गर्नु परेको बिदाई कार्यक्रममा भेला भएका दर्जनौँ कृषकहरुले ईबागलुङलाई बताए ।

बिदाई कार्यक्रममा बोल्दै पश् प्राविधिक साहले प्रारम्भिक कालमा यातायातको असुविधा भएकाले धेरै नै कष्टपूर्व कृषकका घर गोठहरुमा पुगेर पशु र पंक्षीहरुको उपचार गर्नु परेको स्मरण सुनाउदै तर कृषकहरुले आफ् प्रति देखाएको सद्भाव, मायाँ र विश्वासले गर्दा एक्काईस वषै छिस्ती र काँडेवास (१७ वर्ष)मा बिताउदा कुनै असहज नभएको बताए । दुई दशक भन्दा बढी समय बिताएको बागलुङ जिल्लाबाट बिदाई भएर जान लाग्दा मनमा निकै पीडा महसूस भएको उनले बताए । आफु जहाँ रहेपनि बागलुङ जिल्लाका कृषकहरुले आफुप्रति देखाएको सद्भाव र सहयोग कहिल्यै नभुल्ने उनले बताए ।

कृषक उपेन्द्र सापकोटाको अध्यक्षता भएको बिदाई कार्यक्रममा कृषकहरु अग्निधर सापकोटा, बाबुराम सापकोटा, डिलाराम सापकोटा, खिमलाल सापकोटा लगायतले बिदाई मन्तव्य राखेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *