बडीगाड गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी !

हेम विश्वकर्मा, बडिगाड २०७६ असार ३१ । प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट सडक नाली सफा गर्ने, झार उखेल्ने, बाँदर लखेट्ने लगायतका काममा खर्च गरिएको भन्दै यो कार्यक्रमको मजाक उडाइएको समाचार संचारमाध्यमहरुमा आइरहँदा बडीगाड गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी देखिएको छ । १० वटा वडा रहेको गाउँपालिकामा कतै गोरेटो बाटो सोलिङ गर्ने, कतै सिँचाइ कुलो मर्मत त कतै मलामीलाइ बिसाइ मेट्ने पौवा समेत निर्माण गरिएको छ ।

जसअन्तरगत वडा नं १ को तुम्डाडा स्थित मोटरबाटोको भलले काटेको ठाउँमा पर्खाल लगाइएको र २१ जनाले रोजगार पाएको वडा अध्यक्ष बोम बहादुर थापाले ईबागलुङलाई बताए । यस्तै वडा नं २ मा रिठे राक्से सिंचाइ कुलो मर्मत गरिएको वडा अध्यक्ष हिमा खरेलले जानकारी दिईन् ।

यस्तै वडा नं ३, ५, ६, ७ र ९ मा मलामीहरुका लागि गर्मी बर्षातमा ओत लाग्ने पौवा निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिए भने वडा नं ४ जलजलाले आख्रेनी लब्धीखोला गोरेटो बाटो सोलिङ्ग गरिएको वडा अध्यक्ष प्रेम गलामीले बताए । यस्तै वडा नं १० ले तल्लो गाउँबाट माथिचौरसम्म, निगलपानीको फेँदी देखि तल्लो गाउँको केही भाग सम्म गोरेटो बाटो सोलिङ्ग गरिएको वडा अध्यक्ष वीरेन्द्र बुढा मगरको भनाई छ ।

सरोजगार कार्यक्रमका लागि प्रत्यक वडालाइ २ लाख ६० हजार बिनियोजन गरिएको प्रमुख प्रसासकीय अधिकृत प्रदिप चन्द्र सुवेदीले जानकारी दिए । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गाउँपालिकाको दश आटै वडाका नागरिकले गाउँमै रोजगारी पाएका छन भने विदेश गएर फर्केका, एकल महिला तथा अन्य नागरिकले पनि रोजगारी पाएको गाउपालिकाले जनाएको छ । दिनभरि खाली बस्दै आउनु परेको र पैसा हातमा नभएका बेला सरकारले केही समयका लागि भए पनि रोजगारको व्यवस्था मिलाइ दिएकोमा खुशी लागेको सिसाखानीका राजन थापाले बताए ।

कार्यविधिले यो योजना अन्तरगत स्थानीय तहका सडकहरुको नियमित मर्मत सम्भार, स्थानीय तहभित्रका वस्ती, स्वास्थ्य चौकी, विद्यालय, आर्थिक केन्द्र, हाटबजार, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थल जोड्ने सडक निर्माण तथा मर्मत सम्भार गर्न सकिने व्यवस्था गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *