चर्चित रुपा गौतम काण्डका हत्यारालाई तत्कालै पत्ता लगाउन मुस्किल !
लागूऔषध नै समाजको प्रमुख चुनौती भएकाले यस विरुद्धको अभियानलाई प्राथमिकता दिन आवश्यक : प्रहरी उपरीक्षक भट्ट

रबिना बोहरा, बागलुङ, २०७६ असार ३० । जिल्ला प्रहरी कार्यालय बागलुङमा सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा नवागन्तुक प्रहरी उपरीक्षक नवराज भट्टले लागुऔषध विरुद्धको अभियानलाई प्राथमिकताका साथ लैजाने प्रतिबद्धता व्यक्त गर्दै लागुऔषधलाई निर्मुल पार्नका निम्ति सक्दो प्रयास गर्ने बताए ।

बागलुङमा मात्र नभई अन्य क्षेत्रमा पनि लागुऔषध सेवन गर्ने युवाहरुको संख्या बढ्दै गएकाले यसको न्युनिकरणकालागि अभिभावकहरुले पनि साथ दिनुपर्ने उनको भनाई थियो । आफ्नो बालबच्चाहरुको व्यवहार तथा साथीको संगतका बिषयमा अभिभावकले नै जानकारी राख्न सक्ने भएकाले पनि गलत क्रियाकलाप गरेको आशंका भएमा प्रहरीलाई खबर गर्न उनले आग्रह गरे । अहिले लागूऔषध नै समाजको लागि प्रमुख चुनौती रहेकाले त्यसलाई समाधान गर्न आफु कटिबद्ध रहने प्रहरी उपरीक्षक भट्टको भनाई थियो ।

प्रहरी उपरीक्षक भट्टले शान्ति सुरक्षालाई मजबुत बनाउने कर्तव्य प्रहरीको भएकाले यहाँका नागरिकहरु संग समन्वय गरी अगाडी बढ्ने बताए । गाउँ गाउँका चौकीहरुमा काम गरेर जनताको सेवा दिने एवं अन्य ठाउँमा प्रहरीको जनशक्ति कम भएकाले पनि काम गर्न समस्या भएकाले प्रहरीको संख्यामा बृद्धि गर्न आवश्यक रहेको उनको भनाई थियो ।

उनले बागलुङ जिल्लाको सुरक्षा व्यवस्थालाई कडा बनाउनका लागि सीसीटीभी (क्यामेरा) जडान गर्न र बिग्रिएका सीसी क्यामेरालाई मर्मत गर्नका निम्ति सम्बन्धित निकाय संग छलफल गर्न थालेको पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रहरी उपरीक्षक भट्टले सामाजिक सञ्जाल, पश्चिमेली संस्कृतिको बिकृति लगायतका कारण अहिले बलात्कारको घटना बृद्धि हुन थालेको भन्दै सबै सचेत रहन आवश्यक रहेको बताए । महिलाहरुका संवेदनशील मुद्दाहरुलाई पहिले दर्ता गरेर पछि मात्रै सत्यतथ्य खोज्नुपर्ने भएकाले पनि समय समयमा झुटा मुद्दा आउने गरेको चर्चा गर्दै प्रहरी उपरीक्षक भट्टले झण्डै ५ बर्ष पुरानो रुपा गौतमको हत्याकाण्डका बारेमा जानकारी लिइसकेकाले प्रहरीले हत्यारा खोज्न प्रयास गर्ने बताए । विगतका कमी कमजोरी तथा कागजातहरुलाई हेरेर मात्रै काम थाल्नुपर्ने भएकाले पनि तत्कालै हत्यारा पत्ता लगाउन मुस्किल रहेको भट्टको भनाई छ ।

कार्यक्रममा बागलुङ स्थित विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुले जिज्ञासा एवं सुझाव राखेका थिए ।

यी लिंकहरुपनि पढौँ
रुपा गौतमको हत्यारा पत्ता लाग्यो : दोषी नेपालमा नभएकाले पक्राउ गर्न समस्या – प्रहरी उपरीक्षक रेग्मी

बागलुङ जिल्लाको प्रहरी प्रमुखमा भट्ट, प्रहरी उपरीक्षक शर्माको ५ महिना नपुग्दै सरुवा !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.