परिसूचन छैठौँ वर्षमा : सञ्चार माध्यमले सत्य लेख्ने साहस गरेर ईतिहासलाई सघाउनु पर्छ – ढुंगाना

बागलुङ, २०७६ असार २९ । बागलुङबाट प्रकाशित हुने परिसूचन साप्ताहिक पत्रिकाको छैठौँ वार्षिकोत्सव ‘पत्रकारिता र प्रविधि’ विषयक अन्तरक्रिया कार्यक्रम गरि मनाइएको छ ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाले सञ्चार माध्यमले सत्य लेख्ने साहस गरेर ईतिहासलाई सघाउनु पर्ने बताए । उनले बोल्नु पर्ने समयमा नबोलेमा इतिहास लोप भएर जान सक्ने चिन्ता व्यक्त गरे । संचार माध्यमले जनताको पक्षमा र वास्तविक घटनालाई दर्पण भएर उजागर गर्नुपर्ने भन्दै समाजले पनि उचित मूल्यांकन गर्ने गरि काम गर्नुपर्ने भनाई राखेका थिए । विसंगती विरुद्ध बोल्न सक्ने संचार माध्यमको गरिमा बढ्ने भन्दै अहिले परिसूचन साप्ताहिकले यही शाहस गरेर अगाडी बढेको बताए । न्यूनतम पारिश्रमिक दिने काममा पनि परिसूचनले अगुवाई गर्नुपर्ने सुझाव दिदैँ चुनौतीलाई आत्मसाथ गर्दै अगाडी बढ्नुपर्ने भनाई राखेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख विष्णु भुषाल, नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष रामबहादुर जिसी, महासंघका सचिव राम थापा ‘अविरल’, सल्लाहकार कोपिला कँडेल, प्रेस संगठनका कार्यदल सदस्य उमाकान्त शर्मा लगायतका वक्ताहरुले सञ्चार माध्यम अब प्रविधिसंग जोडिनुपर्ने बताए ।

अहिले प्रत्येक मानिसहरुको हातहातमा मोबाईल फोन पुगेकाले सञ्चार माध्यमलाई सोही ढंगबाट अगाडी बढाउन आवश्यक रहेको बताएका छन् । उनीहरुले विगतको तुलनामा अहिले धेरै खालका नयाँ प्रविधि भित्रिसकेको भन्दै पत्रिकालाई अनलाईनसंगै युट्युव लगायतका माध्यमबाट पनि सूचना, शिक्षा र उत्प्रेरणा प्रदान गर्नुपर्ने बताएका थिए ।

केही अनलाईनहरुले पैसा कमाउने नाममा गलत तथा भ्रामक समाचार सम्प्रेषण गर्दा सम्पुर्ण संचारजगतमा प्रश्न चिन्ह खडा भएकाले यस प्रति सबैले ध्यान दिन आवश्यक रहेको भनाई राखेका छन् । सोही अवसरमा जिल्ला स्थित विभिन्न पत्रपत्रिका, एमएम, टेलिभिजनमा कार्यरत पत्रकारहरुले सल्लाह, सुझाव एवं शुभकामना प्रदान गरेका थिए । कार्यक्रम पत्रिकाका कार्यकारी सम्पादक विजय रानाको अध्यक्षता तथा स्वागत र सह–सम्पादक डम्मर बुढा मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.