विभिन्न विधेयक पारित गर्दै ताराखोला गाउँपालिकाको पाँचौ गाउँ सभा सम्पन्न !

थम्मन थापा सन्देश, ताराखोला, २०७६ असार २६ । ताराखोला गाउॅपालिकाको आर्थिक वर्ष २०७६/ २०७७ को विनियोजन विधेयक र आर्थिक विधेयक आज गाउॅसभाबाट पारित भएको छ । गाउॅसभाले गाउॅपालिकाको सार्वजनिक खरिद नियमावली पारित गरेको छ । त्यस्तै आर्थिक वर्ष २०७६/२०७७ मा कार्यपालिकाद्वारा भएका निर्णयहरु अनुमोदन गरेको ताराखोला गाउॅपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए । योजना कार्यान्वयनको क्रममा हुने प्रशासनिक एवं अन्य खर्चको कन्टिजेन्सी कट्टा गर्ने प्रस्ताव समेत पारित गरेको अध्यक्ष घर्तीले बताए ।

गाउॅपालिका भित्रका योजनहरुको प्रभावकारी कार्यान्वयनको लागि उपभोक्ता समिति गठन गर्ने म्याद, त्यसको कार्यान्वय, अनुगमनको ३ चरणमा समय तालिकाको प्रस्ताव पारित गरिएको छ । गाउॅपालिकामा उपभोक्ता समितिहरुलाई अनिवार्य काम सम्पन्न गर्न सम्झौता भएको मितीमा कार्य सम्पन्न नभएमा अध्यक्षको स्विकृतीमा ५ लाख भन्दा साना आयोजनाहरु १० देखि २० दिन सम्म म्याद थप गर्न सक्ने, ५ लाख भन्दा ठुला आयोजनाहरुमा अवस्था हेरी एक महिना सम्म म्याद थप गर्न सकिने र यदि उक्त अवधीमा पनि काम सम्पन्न गर्न नसक्ने समितिलाई जिम्मेवारीबाट हटाई नयाॅ उपभेक्ता समिति गठन काम र प्रकृयालाई अगाडी बढाउने व्यवस्था समेत पारित भएको छ ।

गाउॅसभाले महालेखा परिक्षकको प्रतिवेदन उपर आवश्यक छलफल तथा बेरुजु फछ्यौट सहित सुझाव पेश गर्न यम बहादुर श्रीस संयोजक रहेको ३ सदस्यीय सार्वजनिक लेखा समिति गठन गरिएको छ । समितिको सदस्यमा गंग बहादुर छन्त्याल र तेजु माया भण्डारी परियार रहेकी छन । गाउॅसभाको अवसरमा गाउॅपालिकामा कार्यरत कर्मचारी र जनप्रतिनिधीलाई ईमान्दार, कर्तव्यनिष्ठ बनि प्रभावकारी र पारदर्शी ढंगबाट कार्य सञ्चालन गर्न निर्देशन दिईएको छ । गाउॅ सभाले सभा सम्पन्न गर्न सहयोग गर्ने जनप्रतिनिधी, राजनैतिक दल, कर्मचारी, प्रहरी प्रशासन, पत्रकार, सरोकारवाला सबैलाई धन्यवाद ज्ञापन गरेको छ । पाॅचौ गाउॅ सभा ताराखोला गाउॅपालिकाका अध्यक्ष प्रकाश घर्तीको अध्यक्षता तथा सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.