नौघरटोलका बासिन्दा दाहसंस्कार स्थल नहुँदा खेतबारीका कुनामा शव गाड्न बाध्य !

सुमन सुनार, बुर्तिबाङ २०७६ असार २५ । ढोरपाटन नगरपालिका वडा नं. ८ तथा साविक बोबाङ गाविस वडा नं. ४ नौघरटोलका स्थानिय बासिन्दालाई निश्चित दाहसंस्कार स्थल नहुँदा शव दाहसंस्कार गर्न समस्या हुने गरेको छ । मृत्यु पश्चात गरिने दाहसंस्कारका लागि नजिकै पायक पर्ने स्थानमा दाहसंस्कार स्थल नहुँदा खेतबारीका कुनामा शव गाड्नु पर्ने बाध्यता रहेको नौघरटोलका स्थानियले गुनासो गरेका छन् । विगत ४ वर्ष यता आफुहरुले यस्तो समस्या भोग्दै आएको उनिहरुले बताएका छन्् ।

करिव ४ वर्ष पहिले सम्म त्यहाँका स्थानियले नौघरटोल भन्दा केहि माथी हुँकट भन्ने स्थानको खोला किनारमा दाहसँस्कार गर्दै आएका थिए । उनिहरुले पुर्खौँ देखि दाहसंस्कार गर्दै आएको हँुकटमा पछिल्लो समय मानव बस्ती बसेको छ भने सोही स्थानमा भुजीखोला ५ औँ लघु जलविद्युत आयोजनाको विद्युत गृह समेत निर्माण गरिएको छ ।

हँुकटमा बाक्लो मानव बस्ती निर्माण भएसंगै शव जलाउँदा प्रदुषण फैलने र रातीको समयमा तर्साउने भन्दै त्यहाँ शव जलाउन स्थानियले रोक लगाएपछि विगत ४ वर्ष देखि दाहसंस्कारमा समस्या भोग्नु परेको नौघरटोलका स्थानिय जित बहादुर विश्वकर्माले बताए । विश्वकर्माले विगत सम्झदै भने, हँुकटबासीले दाहसंस्कार गर्न नदिने भन्दै अवरोध सृजना गरेपछि दाहसंस्कार स्थल नपाएर दिनभरि शव बोकेर ठाउँ खोज्दै हिंड्नुपर्ने अवस्था समेत आएको थियो । हुँकटका स्थानिय बासिन्दा र शवयात्रामा जाने मलामीहरूबीच दाहसंस्कारको विषयमा पटक÷पटक विवाद हुन थाले पछि आफुहरु बाध्य भएर त्यहाँ जान छोडेको विश्वकर्माले बताए ।

सिंगो दलित समुदायको बसोबास रहेको नौघरटोलका स्थानियलाई मात्रै होइन, त्यस आसपासका ढोलठोकी, सुनार टोल, उपल्लो टोल, तल्लोटोलका स्थानियलाई समेत शव दाह गर्न कठिन हुने गरेको छ । हाल कतिपयले मुस्कीलसंग सिरिम खोला र भुजीखोलाको संगम स्थलमा दाहसंस्कार गर्दै आएपनि कतिपयले भने खेतका कुना र घाँस बारीमा शव गाड्दै आएको नौघारटोलका स्थानिय युवा समाजसेवी तथा नयाँ पुस्ता नेपालका अध्यक्ष कुशल विश्वकर्माको भनाई छ । गाउँ देखि हालको दाहसंस्कार स्थल सम्म पुग्ने गोरेटो बाटो निकै अप्ठ्यारो, साँघुरो र जोखिमपुर्ण रहेको भन्दै आवत जावतमा निकै कठिन हुने भएकाले अधिकांशले आफुले भोगचलन गर्दै आएको जग्गा जमिनमा शव गाड्नुपर्ने बाध्यता रहेको विश्वकर्माले बताए । आ–आफ्नै खेतबारीमा शव गाड्दै गर्दा समेत कतिपय अवस्थामा स्याल, फ्याउरोले गाडेको ठाउँबाट शव बाहिर निकालिदिने र अस्थिपञ्जर समेत देखिने भएकाले स्थानियहरु विच विवाद हुने गरेको छ ।

उता वर्षातको समयमा सिरिम खोला र भुजीखोलामा पानीको बहाव बढ्ने तथा भेलबाढी आउने भएकाले दाहसंस्कार स्थल सम्म पुगेपनि शव दाह गर्न कठिन हुने गरेको उहाँको भनाई छ । दाहसंस्कार स्थल निर्माणका लागि स्थानिय सरकारसंग समेत माग गरिएको र आगामी आर्थिक वर्षमा माग संबोधन हुने आश्वासन पाएको विश्वकर्माले बताउनुभयो । निश्चीत स्थानमा व्यवस्थीत दाहसंस्कार स्थल निर्माण गर्न सकिए नौघर टोल सहित त्यस आसपासका ४ सय घरधुरी स्थानिय बासिन्दालाई धेरै राहत मिल्ने विश्वकर्माको भनाई छ ।

कुनै बेला हुँकटको बाटो भएर दिउँसै हिड्न समेत मानिसहरु डराउथे, अहिले मानिसहरुले घर बनाएर बस्लान भनेर कसैले सोँचेको थिएन, त्यहाँका बासिन्दाले होटल व्यवसाय, किराना पसल सञ्चालन गरेका छन्, त्यसको पत्यक्ष प्रभाव नौघरटोलका स्थानियलाई परेको छ बोबाङ निवासी खुम बहादुर विश्वकर्माले भने । आर्यघाटको अभावमा गाउँमै शव गाड्ने वा जलाउने क्रममा नौघरटोलका स्थानिय विच भएको झै–झगडा आफुले समेत प्रत्यक्ष भोगेको बताउँदै दाहसंस्कार स्थल नहुँदा सामुदायिक मेलमिलापमा समेत खलल पुगेको विश्वकर्माले बताए ।

यस विषयमा वडा अध्यक्ष नन्दे सुनारसंग बुझ्दा, नौघरटोलमा दाहसंस्कार स्थल निर्माण नै जटिल समस्या बनेको भन्दै उक्त समस्या प्रति आफुहरु गम्भीर रहेको बताए । आगामी आर्थिक वर्षका लागि ढोरपाटन नगरपालिकामा वडाका तर्फबाट दाहसंस्कार स्थल निर्माणलाई विशेष प्राथमिकतामा राखेर योजना माग गरिएको उनले बताए । जनताको समस्यालाई मध्यजनर गरी व्यवस्थीत दाहसंस्कार स्थल निर्माणका लागि जग्गा व्यवस्थापनको कार्य जारी रहेको र छिटै व्यवस्थीत दाहसंस्कार स्थल निर्माण हुने वडा अध्यक्ष सुनारको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.