दलित सन्जालव्दारा शैक्षिक सामाग्री वितरण : दलितका नाममा मान्छेव्दारा मान्छे हेपिनु गैह्रकानूनी !

बुर्तिवाङ २०७६ असार २४ । निसीखोला दलित सञ्जालको आयोजनामा आज सचेतना तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपलिकाको आर्थिक सहयोग तथा गाउँपालिका स्तरीय दलित सञ्जालको आयोजनामा गाउँपालिका स्तरका सबै विद्यालयका जेहेन्दार, गरिव, असाह्य तथा अपांगता भएका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो ।

गाउँपालिकाको आर्थिक वर्ष २०७५÷०७६को लक्षित वर्गको कार्यक्रम अनुरुप दलित समुदायका लागि वितरण गरिएको वजेटले, गाउँपालिकाका सबै जातजाति समुदायका जेहेन्दार, गरिब, असाह्य तथा अपांगता भएका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको सञ्जालका अध्यक्ष रिमबहादुर विश्वकर्माले बताए ।

समुदायका रहेका र पिछडिएका वर्ग समुदाय सबै गरिबी र विपन्नताको पीडामा रहेको भन्दै दलित समुदायमा मात्र होईन समस्या अन्य समुदायका गरिवीमा समेत रहेको महसुस गरेर सबैलाई समान ढंगले वितरण गरिएको अध्यक्ष विकले बताए ।

कार्यक्रमका प्रमुख अतिथि एवं निसीखोला गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष कुविर विश्वकर्माले, जातिय विभेद दलित समुदायको मात्र समस्य नभए अन्य गैह्र दलित समुदायको विकास, चेतना र सामाजिक रुपान्तरणको समेत समस्या भएको बताए । सबैको साझा समस्यालाई सबै समुदायले आफ्नो समाजको विकृत रुप हो भन्ने स्वीकार गर्न सक्ने समाज नबन्दासम्म समस्याको निराकरण हुन नसक्ने उनको भनाई थियो । सबैलाई समान व्यवहार अपनत्व हुने गरि निसीखोला दलित सञ्जालले सबै समुदायका गरिब जेहेन्दार तथा विपन्नता भएका वालवालिकालाई सहयोग पुगोस भनेर यस्तो कार्यक्रमको आयोजना गरेको उनले बताए ।

कार्यक्रममा अतिथिका रुपमा बोल्दै सामुदायिक रेडियो परिवर्तनका प्रबन्ध निर्देशक लोकेन्द्र सुनारले, समाजका हुने जातिय विभेदलाई छुवाछुतजन्य अपराधका रुपमा राज्यले कडा कानुन बनाएर कार्वाहीको दायरामा ल्याउन सक्नु पर्ने भन्दै कानून बन्यो, ऐन पनि आयो तर राज्यकै कानुन कार्यान्वन पक्ष फितलो भएका कारण अझैपनि समुदायमा दलितका नाममा मान्छेव्दारा मान्छे हेपिनु परेको बताए । जबसम्म कानुनले बर्जित गरेको गैह्र कानुनी प्रक्रिया लागु हुँदैन, कानुनले दण्डनीय भनेका कुराहरु प्रक्रियामा जाँदैनन तवसम्म समाज परिवर्तन नहुने उनको भनाई थियो ।

कार्यक्रममा प्रभा माध्यमिक विद्यालयका प्रधानाध्यापक नवराज आचार्य, दलित समुदायका अगुवा जानसिंह सुनार, दलित सञ्जाल वडा नं. ६ का अध्यक्ष नैनासिंह घतान, वडा नं. २ का महिला सदस्य थमकुमारी विश्वकर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सञ्जालले निसीखोला गउँपालिकाका ४३ वटा सामुदायिक विद्यालयका गरिब जेहेन्दार, असाह्य र अपांगता भएका २ सय ७ जना विद्यार्थीलाई विद्यालय झोला र स्टेशनरी सामाग्रीहरु वितरण गरेको छ । त्यस्तै विद्यालयका शिक्षकहरुलाई डायरी र कलम वितरण गरिएको थियो । गाउँपालिकाको ३ लाख ५० हजार वजेटले उक्त सामाग्री वितरण गरिएको बताईको छ ।

कार्यक्रम सञ्जालका अध्यक्ष रिमबहादुर विश्वकर्माको अध्यक्षता सदस्य बिमला विश्वकर्माको स्वागत तथा विनोद विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.