जैमिनीमा बाँदर आतंकका कारण बसाईसराई तीब्र, नियन्त्रणका लागि नपाव्दारा ५ लाख बजेट विनियोजन !

सुजन प्रेमी, कुस्मीसेरा २०७६ असार २४ । जैमिनी नगरपालिकाले बाँदर नियन्त्रणका लागि ५ लाख बजेट विनियोजन गरेको छ । सोमबार बसेको नगरसभा बैठकले बजेट बाँडफाँड गर्दा बाँदर नियन्त्रणका लागि रु ५ लाख छुट्याइएको हो ।

नगरपालिकामा बाँदरको अत्याधिक बिगविगी भएको र यसको नियन्त्रणका लागि धेरै आवाज उठेकाले बाँदर नियन्त्रणको कदम चाल्नुपरेको जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले जानकारी दिए । बाँदरकै कारण बसाईँसराई तिब्र हुन थालेपछि आर्थिक बर्ष २०७६/७७ को लागि ५ लाख बजेट छुट्याएर यसको नियन्त्रण गरिने पौडेलको भनाई छ ।

बिभिन्न कार्यक्रमहरुमा बाँदर नियन्त्रणको अत्याधिक चर्चा चल्ने र माग हुने गरेकाले छिमेकी पालिकाहरुको सहकार्य र अभ्यास समेतलाई मध्यनजर गरी बाँदर नियन्त्रणको उपाय अवलम्बन गरिने नगर उप प्रमुख लिला रानाले बताए ।

जैमिनी नगरपालिकाको वडा नं २ र ३ दमेक वडा नं ८ छिस्ती लगाएत नगरपालिकाको दश वटै वडामा बाँदरले अत्याधिक दुःख दिने गरेको किसानहरुले बताएका छन् । जैमिनी नगरपालिकाको वडा नं ७ जैदीमा बाँदरले महिलाहरुलाई जिस्काउने र पिट्न आउनेसम्म गरेकाले यसको नियन्त्रण गर्न स्थानियहरुले माग गरेका थिए । वडा नं ४ सर्कुवा, ५ विनामारे र ६ नम्बर वडा अर्जेवामा पनि बाँदका कारण बसाई सर्न थालेको वडा नं ६ का वडाध्याक्ष कृष्ण बहादुर थापाले जानकारी दिए । वडा नं २ मा अन्य कारण भन्दा बाँदरकै कारण बढी मात्रामा स्थाई रुपमै बसाईसराई हुन थालेको वडा नं २ का वडाध्यक्ष लक्ष्मी प्रसाद सापकोटाको भनाई छ ।

उता जैमिनी नगरपालिकाको ९ पैयुँथन्थाप र १० राङ्खानीमा पनि बाँदर आतंक बढ्न थालेको कृषकहरुले बताएका छन् । लगाएको बाली टिप्नै नपाइने गरी बाँदरले मास्न थालेपछि खेती गर्नै छोडेर बजार बस्न थालेको राङ्खानी बस्नातेकी कल्पना आचार्यले बताईन । खेती गरेपनि खर्च मात्रै हुने र बाली टिप्न नपाएपछि बजार झरेर बस्नुको बिकल्प नभएको उनको भनाई छ । बाँदर नियन्त्रणका लागि नगरपालिकाले बजेट नै विनियोजन गरेर आवश्यक कदम चाल्ने भएपछि यस निर्णयको स्वागत गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *