बुर्तिवाङमा सेनेटरी प्याड सम्बन्धी ३ दिने तालिम सुरु : उत्कृष्ट सहभागीलाई नगरपालिकाले रोजगारको व्यवस्था गर्ने !

सुमन सुनार, बुर्तिबाङ २०७६ असार २२ । ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा आज देखि सेनेटरी प्याड निर्माण तथा प्रयोग सम्बन्धी ३ दिने आधारभूत तालिम सुरु भएको छ । ग्रामिण भेगका गृहिणी महिला, किशोरी, स्वयम् सेविकाहरुलाई विशेष लक्षित गरी ढोरपाटन नगरपालिका नगर कार्यपालिका कार्यालयले पहिलो पटक उक्त तालिमको आयोजना गरेको हो ।

तालिमको उद्घाटन पछी प्रमुख अतिथि ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले नगरपालिकाले सामाजिक विकासलाई विशेष प्राथमिकता दिएको भन्दै पहिलो पटक फरक खालको कार्यक्रम गरिएको बताए । महिनावारी हुँदाको समयमा महिला तथा किशोरीहरुका लागि अत्यन्तै संवेदनशील र जोखिमपुर्ण रहने भएकाले उनिहरुको स्वास्थ्यलाई मध्यनजर गरी सेनटरी प्याड निर्माण सम्बन्धी तालिम अव नगरका प्रत्येक वडामा सञ्चालन गरिने नगरप्रमुख नेपालीले जानकारी दिए ।

नगरप्रमुख नेपालीका अनुसार नगरपालिकाबाटै सेनेटरी प्याड निर्माण गरी नगर स्तरका प्रत्येक विद्यालय र गाउँ÷गाउँमा वितरण गर्ने योजना नगरपालिकाले बनाएको छ, तालिमबाट उत्कृष्ट बन्न सफल सहभागीलाई नगरपालिकाले रोजगारको व्यवस्था गर्ने छ । सेनेटरी प्याड ब्यवसायिक रुपमा निर्माण गर्न सके आर्थिक स्तरमा समेत वृद्धि हुने भएकाले महिलाहरुको आयआर्जनमा बृद्धिका लागि तालिमको अवसर सृजना गरिएको नगर प्रमुख नेपालीले बताए ।

महिलाहरुलाई हुने महिनावारीका समयमा अति आवश्यक पर्ने सेनेटरी प्याड आफै निर्माण गरेर स्वनिर्भर बनाउन तथा महिलाहरुलाई प्याड निर्माण सम्बन्धी शिप सिकाएर उद्यमशिलता तर्फ प्रोत्साहित गर्ने मुख्य उद्देश्य सहित तालिमको आयोजना गरिएको नगर उप–प्रमुख करमती पुनले जानकारी दिईन । घरायसी कपडाको प्रयोग गर्दा निम्तीने स्वास्थ्य समस्या र बजारमा पाईने प्याड प्रयोगमा हुने खर्च कटौतीका लागि घरमै बनाउन सकिने र पुनः प्रयोग गर्न सकिने कपडाको प्याड बनाउने तालिमको आयोजना गरिएको उनले बताईन । तालिममा नगरस्तरका ९ ओटै वडाका ४६ जनाको सहभागिता रहेको छ ।

तालिममा महिला तथा किशोरीहरुलाई घरमै बसेर सुरक्षित कपडाको प्रयोग गरी आफैले सेनेटेरी प्याड तयार गर्ने विधि सिकाइने तालिमकी प्रशिक्षक हरिमायाँ घर्ती मगरले बताईन । एक पटक निर्माण गरिएको उक्त सेनेटरी प्याड करिव २ वर्ष सम्म प्रयोग गर्न सकिने प्रशिक्षक घर्तीको भनाई छ । सो सेनेटरी प्याडलाई एक पटक प्रयोग गरेर राम्रोसंग सफा गरी २ घण्टा सम्म घाममा सुकाएपछि पुनः प्रयोग गर्न सकिने उनको भनााई थियो । बजारमा पाइने सेनेटरी प्याडमा हुने प्लास्टिक र केमिकलका कारण वातावरण प्रदुषण बढिरहेको बताउँदै घरमा निर्माण गरिने सेनेटरी प्याडलाई लामो समय सम्म प्रयोग गर्न सकिने भएकाले पनि प्रदुषण समेत कम हुने प्रशिक्षक घर्तीको भनाई छ ।

नगर उप–प्रमुख करमती पुनको अध्यक्षता रहेको उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत धन प्रसाद पोखरेल, वडा नं. २ का वडा अध्यक्ष युवराज महत, वडा नं. ३ का वडा अध्यक्ष हेमेन्द्र घर्ती मगर, कार्यपालिका सदस्य बेल कुमारी छन्त्याल, वडा नं. ६ का वडा सदस्य जमुना घर्तीको समुपस्थिति रहेको थियो ।
कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष चित्र बहादुर भण्डारीको स्वागत मन्तव्य रहेको थियो भने सञ्चालन पत्रकार सुमन सुनारले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *