स्वास्थ्यकर्मीहरु जनताको स्वास्थ्य सेवामा उत्तरदायी र संवेदनशिल बन्नुपर्छ: नगर प्रमुख पौडेल

बागलुङ कुस्मीसेरा २०७६ असार १२ । जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले स्वास्थ्यकर्मीहरु जनताको स्वास्थ्य सेवामा उत्तरदायी र संवेदनशील बन्नु पर्ने बताएका छन् । जैमिनी ५ बिनामारे स्वास्थ्य चौकीको सामाजिक परिक्षण कार्यको आम भेलालाई सम्वोधन गर्दै नगर प्रमुख पौडेलले यस्तो बताएका हुन् ।

सामाजिक परिक्षण कार्यले सम्बन्धित स्वास्थ्य संस्था र जनतालाई प्रभावकारी सेवा प्रवाहमा प्रत्यक्ष फाईदा पुग्ने नगर प्रमुख पौडेलको भनाई छ । नगर प्रमुख पौडेलले नेपाल सरकारको निती र कार्य विधी भित्र रहेर राष्ट्र सेवामा समर्पित भई कार्य सम्पादन गर्न सके मात्रै सामाजिक परिक्षण कार्यको सार्थकता रहने उल्लेख गर्दै त्यसको लागि जैमिनी नगरपालिकाले खेल्नु पर्ने भुमिका प्रति सदैव तयार रहेको बताए ।

सामाजिक परिक्षण कार्यको पहिलो चरणमा बिनामारे स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिसँग अन्तरकृया, दोस्रो चरणमा स्वास्थ्यकर्मीहरु सँगको अन्तरकृया, तेस्रो चरणमा स्वास्थ्य आमा समुह सँगको अन्तरकृया, चौथो चरणमा दलित बस्तीमा समुदायमा विषय केन्द्रित छलफल गरिएको थियो ।

अभियानको क्रममा जैमिनी नगरपालिका वडा नं ५ बिनामारे स्थित विभिन्न गाउॅ तथा टोलहरुमा तथ्याङ्क संकलन गरिएको थियो । स्वास्थ्य चौकीले प्रवाह गरेका सेवा सुविधा, त्यहाँको सुसासन, पार्दशिता र जवाफदेहिता लाई प्रभावकारी बनाउने कार्यक्रमको मुख्य उद्येश्य रहेको छ ।

आम भेलामा सामाजिक परिक्षण कार्यको प्रस्तुतिकरण र त्यसको विस्तृत जानकारी सामाजिक परिक्षक मञ्जु शर्मा चालिसेले प्रस्तुत गरेकी थिईन।

सो अवसरमा भेलामा उपस्थित बिनामारेबासी समुदायले स्वास्थ्य चौकीले प्रदान गर्ने सेवा सुविधाहरुलाई समय सापेक्ष सुधार गर्दै औषधी व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउन सुझाव दिएका छन ।

भेलामा १ वर्ष देखि स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरको सुविधा भएर पनि स्वास्थ्यकर्मी आवास गृह नहुँदा रातको समयमा प्रसुति गराउन समस्या भईरहेको गुनासो गरेका छन । त्यस्तै स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीको व्यवहार राम्रो रहेको उपलब्ध औषधीहरु सहजै रुपमा प्राप्त गर्ने गरेको, शौचालय, खानेपानी र सरसफाईको व्यवस्थापन राम्रो रहेको समुदायको भनाई रहेको छ । उनीहरुले स्वास्थ्य चौकीमा सिजनको आवश्यकता अनुसार पर्याप्त रुपमा नियमित औषधीको व्यवस्थापन गरिदिन समेत सुझाव दिएका छन । त्यस्तै विद्यालयहरुमा प्राथमिक उपचारका सामाग्री र स्वास्थ्य शिक्षा समय समयमा उपलब्ध भएमा अझ प्रभावकारी हुने शिक्षाप्रेमीहरुको भनाई रहेको थियो ।बिनामारे स्वास्थ्य चौकीमा भौतिक रुपमा व्यवस्थापकिय पक्ष राम्रो रहेको, स्वान नामक संस्थाले स्वास्थ्य चौकी भवन निर्माणको लागि आर्थिक सहयोग गरेको प्रति खुसी व्यक्त गरेका थिए । स्वास्थ्य चौकी जाँदा स्वास्थ्यकर्मीहरुको व्यवहार राम्रो रहेको, स्वास्थ्य संस्थामा खानेपानी, शौचालय र सरसफाइको ब्यबस्थापन राम्रो रहेको भन्दै प्रशंसा समेत गरिएको थियो । बिनामारेमा वडाको तर्फबाट स्वयं सेविकालाई थप सुविधा वापत मासिक १ हजार ५ सय रुपैयॉ वडाले उपलब्ध गराउदै आएको छ । आम भेलामा उठेका प्रश्न, जिज्ञासा र गुनासाहरुको बिनामारे स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष गोपाल प्रसाद शर्मा, जैमिनी नगरपालिकाका स्वास्थ्य संयोजक गोविन्द प्रसाद आचार्य र बिनामारे स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य सचिव टंक बहादुर केसीले प्रतिवद्वता मन्तव्य सहित स्पष्ट पार्नुभएको थियो । सामाजिक परिक्षण कार्यको आम भेलामा बिनामारे स्थित जनप्रतिनिधी, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीहरु, संघ संस्थाका प्रतिनिधीहरु, आमा समुह, स्वंयसेविकाहरु, विद्यालयका प्रतिनिधीहरु, स्थानियबासी लगायतको उपस्थिती रहेको थियो ।

आम भेला जैमिनी नगरपालिका वडा नं ५ बिनामारेका वडा अध्यक्ष एवं बिनामारे स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष गोपाल प्रसाद शर्माको अध्यक्षता, स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य देवेन्द्र रेग्मीको स्वागत र समाजिक परिक्षक थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *