म्यादी प्रहरीमा आवेदन दिन आउनेहरुको जिल्ला प्रहरी कार्यालयमा यस्तो थियो घुँईचो (तस्वीर)

छोटो अवधिको लागि भएपनि आवेदन दिनुको मुख्य कारण गरीवी र बेरोजगारी !

किरण आचार्य, बागलुङ २०७३ चैत १७ । बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको प्रयोजनका लागि जिल्ला प्रहरी कार्यालय बागलुङबाट माग गरिएको म्यादी प्रहरीका लागी आवेदन दिनेहरुको संख्या १४ सयको हाराहारीमा पुगेको छ । आवेदन बुझाउने आज अन्तिम दिन जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीमा आवेदन दिन आउनेहरुको ठूलै भीड लागेको थियो । आवेदन बुझाउन आउनेहरुमा युवतीहरुको संख्या पनि उल्लेख्य रहेको थियो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) चन्द्रकुबेर खापुङले म्यादी प्रहरीमा दरखास्त दिनेहरुको संख्या उल्लेख्य भएको बताउदै आज अन्तिम दिनसम्म करीब १४ सयको दर्खास्त परेको बताए ।

बागलुङ जिल्लाको लागि कति संख्यामा म्यादी प्रहरीको आवश्यकता छ भन्ने प्रश्नमा प्रहरी उपरीक्षक खापुङले संख्या एकिन भैनसकेको जानकारी दिए । आवेदन दिनेहरुमा महिला युवतीहरुको संख्यामा बारेमा एसपी खापुङको भनाई थियो युवतीहरुको संख्या धेरै नै छ ।

म्यादी प्रहरीको लागी चैत ११ गते देखी आज चैत १७ गते सम्म म्याद तोकिएको थियो । आवेदन दिने अन्तिम दिन आज जिल्ला प्रहरी कार्यालय कुनै मेला जस्तै युवा युवती, पूर्व प्रहरी लगायतका घुँईचो लागेको थियो ।

म्यादी प्रहरीमा आवेदन आएका मध्य केहि युवाहरुलाई हामीले सोधेका थियौँ, छोटो अवधिका लागि आव्हान गरिएको म्यादी प्रहरीमा आकर्षित हुनुको कारण के हो ? उनिहरुको सटिक जवाफ थियो, “५५ दिनको छोटो अवधिका लागि भएपनि तलब भत्ता र साशन गरी ४० हजार रुपयाँ बढी सुविधा पाईने भएकै कारण हामी आकर्षित भएका हौँ ।”

आवेदन आएक एक युवतीले भनिन्, “अनुभवका लागि आवेदन दिन आएका हौँ । प्रहरीले गर्नुपर्ने काम कर्तव्यका बारेका जानकारी हुने र पैसापनि मनग्गे पाईने व्यवस्था भएकाले आफनो र परिवारको खर्च टर्ने भएकोले आएका हौँ ।”

केहि अधवैँशे आवेदकहरुले “गरीवीकै कारण आएको बताउदै रोजगारी छैन, महंगी यस्तो बढेको छ दुई महिना काम गरेर ४० हजार रुपयाँ पाईने भएपछी जागीर पाए अहोभाग्य संझिनु पर्ने अवस्था” रहेको बताए ।

म्यादी प्रहरी हुनको लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको, नेपाली नागरिक, राजनीतिक दलको सदस्य नरहेको, साधारण लेखपढ गर्न जान्ने र फैजदारी अभियोग नलागेको हुनुपर्ने प्रावधान रहको छ । धौलागिरिका लागि अञ्चल प्रहरी कार्यालयले म्यादी प्रहरीको नियुक्ति दिने र धौलागिरि क्षेत्रमा खटाउने बताइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.