प्रेम सुनार, गुल्मी , २०७३ चैत १७ । नेकपा माओवादी माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका सचिव गणेश पौड्यालले आफुलाई नेकपा एमालेमा प्रवेश गरेको भन्ने समाचारको खण्डन गरेका छन् । उनले विज्ञप्ती प्रकाशित गरी मलाई कुनै संगठनमा प्रवेश गरेको भनि सामाजिक सञ्जाल र अन्य सञ्चार माध्यमा आएको समाचारको खेद व्यक्त गर्दै आफु नेकपा माओवादी केन्द्रको शुभेच्छुक संगठन अनेरास्वीयु (क्रान्तिकारी ) मै कटिवद्ध रहेको उल्लेख गरेका छन् ।
उनले व्यक्तिगत विषयमा पुर्व उर्जामन्त्री गोकर्णराज विष्टलाई भेट्न गएको तर पार्टी प्रवेश नगरेको जिकिर गरेका छन् । श्रोतका अनुसार एक मुद्धामा विदेशको जेलमा रहेका पौड्यालका एक आफन्तको उद्धारका लागि पौड्यालले आफ्नो पार्टी माओवादी केन्द्र मात्र होईन नेपाली कांग्रेस र एमालेका नेताहरुलाई पनि गुहार माग्दै आएका थिए ।
त्यही कुरा पुर्वमन्त्री विष्ट संग राख्न जाँदा विष्ट र उनका कार्यकर्ताहरले पार्टी प्रवेश गरे तिन दिनमा उनको आफन्तलाई उद्धार गरिने प्रलोभन देखाएका थिए र अविर टिका समेत लगाई दिएका थिए । अविर टिका लगाई दिएको केहि वेरमै माओवादी केन्द्रको पार्टी कार्यालयमा आएर एउटा नेपालीको उद्धार गर्न राजनैतिक निष्ठा खरिद विक्रि ? विपदमा परेका जनताको उद्धार गर्न र राज्यको रकमबाट गाउँको विकास गर्न एमाले बन्नै पर्ने ? जस्ता सवाल उठाउँदै पौड्यालले माओवादी केन्द्रका नेताहरु समक्ष विज्ञप्ती लेखेको त्यस कार्यालय श्रोतले जनाएको छ ।
उनले माओवादी केन्द्रका नेताहरुलाई पनि त्यस्तो प्रलोभन र अक्करमा पारेर कुनै पनि नेपाली जनताको राजनैतिक निष्ठा खरिद विक्रि नगर्न सुझाव दिएको वैठकमा सहभागि एक कार्यकर्ताले बताए ।
ठक्करको जिन्दगी अक्करको राजनीती
विपद परे पछि हर कोही नेता संग गुहार माग्नु हरेक नेपाली जनताको बाध्यता बन्न पुगेको छ । एक हातमा समस्या अर्को हातमा पार्टी सदस्यता नेपाली सर्वसाधरणको बाध्यता । त्यही बाध्यताका प्रतिनिधी पात्र बने पौड्याल पनि । दुई वर्ष अघि उनका भिनाजु सउँदी अरवमा एउटा घटनामा फसे । अर्घाखाँचीको अर्घातोष–१ का उदय अर्याल उनका भिनाजु हुन् । उनि सउदी अरवको जेलमा दुई वर्ष देखि रहेका छन् ।
दुई वर्ष अघि संगै कोठामा सुत्ने उनको साथी कोठामै झुण्डीएर आत्मा हत्या गरे । साथी बचाउन सकिन्छ कि भनेर अर्यालले समात्न पुगे । पछि पोष्टमार्टम गर्दा उनका औलाको चक्र देखा प¥यो । त्यस पछि उनि सउदी प्रहरीबाट पक्राउ परे । पुर्पक्षका लागि अहिले पनि उनि थुनामा छन् ।
झुण्डीएर आत्मा हत्या गर्ने उनका साथीको स्वदेशमै छँदा मानसिक सन्तुलन ठिक नभएको भन्ने यहाँ स्थित सरोकारवालाले बुझे पछि त्यसको सवुत प्रमाण चाँहिने भयो । पौड्याल भिनाजुको उद्धारका लागि आफ्नै जिल्ला अर्घाखाँचीका सांसद तथा पुर्वमन्त्री टोपबहादुर रायमाझीको शरण परे ।
रायभाझीले पाटन अस्पतालबाट कागज पत्र बनाएर पठाई दिए । त्यसले पनि त्यहाँको अदालतले मानेन् । भारतको कुनै अस्पतालबाट पठाउनु पर्छ भन्ने खालका चर्चा चलि रहेको र त्यही प्रकृया माओवादी केन्द्रका नेता रायमाझी लगायतले गरी रहेका वेला साथीका हैसियतले र रेसुङ्गा वहुमुखी क्याम्पसमा अखिलको प्यानलबाट उपसभापति समेत बनेका हैसियतले अखिलका नेता साथीहरु संग पनि उनले उक्त कुरा राखे ।
उनि भन्छन् –‘उनिहरुले आफ्ना नेता गोकर्ण विष्ट जिल्ला आएको वेला राखौला भनेर आश्वासन दिएका थिए । सोही अनुरुप मंगलबार नेता विष्ट आए पछि एमाले पार्टी कार्यालयमा उनलाई भेट्न पुगें । अनि आफ्नो उक्त समस्या राखेर फर्किएँ । फर्केको केहि वेरमा फेरी मलाई फोन गरियो र वोलाईयो । म गएँ । ल तिम्रो समस्या तिन दिनमा हल हुन्छ पार्टी प्रवेश चाँही गर्नु पर्छ भनियो । म अक्कनवक्क परें ।
घरमा दिदीको रुवावासी शान्त हुन्छ भने ठिकै छ नि अविर टिका लागाउँदैमा मेरी दिदीको आँशु पुछिन्छ भने एक् छिन के विग्रन्छ र ? जस्तो पनि मनमा लाग्यो । टिका लगाउन साथ मेरो राजनैतिक निष्ठा र घरयासी विवसताले मलाई पिरल्यो । म भावुक हुँदै आफ्नै पार्टी कार्यालय माओवादी केन्द्रमा आई मेरा नेताहरुलाई वोलाएर विज्ञप्ती लेखेको हुँ ।’
भावुक मुद्रामा रहेका पौड्यालले पार्टी कार्यालयबाट निस्के पछि नेपाली समाजको यो विवसता बारे निकै गुनासो पोखे । उनले भावुक हुँदै भने मलाई मेरो दिदीको आँशु पुछ्नका लागि यति सम्म विवस बनायो ।
म आजै राती अर्घाँखाँची स्थित घर जान्छु । निकै दवाव आएको छ फोन पनि आफ गर्छु । त्यसो भनेका पौड्यालको आज सम्म पनि अफ रहेको छ । उनको त्यो अवस्था र विवसता बुझ्दा यो देशका गरिव जनता देश विदेशमा ठक्कर पाउँछन् र यहाँ अक्करको राजनितीमा फँस्न विवस हुन्छन् भन्ने देखाएको छ । एमाले श्रोतले भने स्वतस्फुर्त पौड्याल पार्टी प्रवेश गरेको जनाउँदै विभिन्न सञ्चार माध्यमा समाचार सम्पे्रषण भएको छ । उनले उक्त विषयमा लिखित कागज पत्र समेत गराईएको समेत जनाए पनि उक्त कागज भने उपलव्ध गराएका छैनन् ।
One Comment