भेँडीखोरमा एकीकृत घुम्ती सेवा शिविर सम्पन्न : ७३ वर्षमा नागरिकताको प्रमाणपत्र लिईन उनीमायाँ पाईजाले !

चार जना महिलाको पाठेघरमा समस्या, एक जना क्षयरोगी भेट्टिए, प्रहरी साझेदारीमा उर्लियो भीड !

बागलुङ (बडीगाड) २०७६ जेठ २५ । बडीगाड गाउपालिका-८ रणसिँहकिटेनीको भेँडीखोरमा जिल्ला प्रशासन कार्यालय बागलुङले आयोजना गरेको एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ । शुक्रबार राति १० बजे सम्म स्थानीय मृकुटी माध्यमिक विद्यालयमा सन्चालित शिविरमा आएका सेवाग्राहीहरुलाई सेवा उपलव्ध गराईएको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत केशव लामिछानेले ईबागलुङलाई जानकारी दिए ।

शिविरमा २४९ जनाले नागरिकताको प्रमाणपत्र लिएकोमा महिलाको संख्या ४४ रहेको छ । नागरिकताको प्रमाणपत्र प्राप्त गर्नेमा सर्बाधिक बढी उमेरकी महिला २००३ सालमा जन्मिएकी उनीमायाँ पाईजा रहेकी छन् । उनले शिविरमा सन्चालित फोटो सहितको मतदाता नामावलीमा नाम समेत दर्ता गराएकी थिईन् । शिविरमा फोटो सहितको मतदाता नामावली दर्ता गराउने १६५ जना मध्य १०१ जना महिला रहेका छन् ।

सोहि अवसरमा गण्डकी प्रदेश स्वास्थ्य कार्यालय बागलुङका तर्फबाट सन्चालित स्त्रीरोग सम्वन्धि विशेषज्ञ शिविरमा ६६ जना महिलाहरुले स्त्रीरोग सम्वन्धी सेवा लिएकोमा चारजना महिलाको पाठेघरमा समस्या देखिएको बरीष्ठ जनस्वास्थ्य प्रशासक दीपक तिवारीले ईबागलुङलाई बताए । बरीष्ठ जनस्वास्थ्य प्रशासक तिवारीका अनुसार शिविरमा ११३ जनाले क्षयरोग तथा सामान्य स्वास्थ्य परीक्षण गराएका थिए । परीक्षणका अवसरमा एक जना क्षयरोगी फेला परेको तिवारीले जानकारी दिए । शिविरमा महिलाहरुको पाठेघर स्क्रिनिङ गरिएको थियो । सेवाग्राहीहरुलाई नि:शुल्क औषधी वितरण गरिएको थियो ।

शिविरमा बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका डा (स्त्रीरोग विशेषज्ञ) दिलिप कोजु तथा गल्कोट प्राथमिक स्वास्थ्य केन्द्रका डा सुजु जमरकट्टेले स्वास्थ्य परीक्षण गरेका थिए भने गण्डकी प्रदेश स्वास्थ्य कार्यालय बागलुङकी अधिकृत हरिकाँशी पालिखे र बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रकी नर्स पार्वती अर्याल सहितको सेवा उपलव्ध भएको थियो ।

यसैगरी शिविरमा जिल्ला प्रहरी कार्यालय बागलुङले सन्चालन गरेको सामुदायिक प्रहरी साझेदारी कार्यक्रममा प्रदर्शित चेतनामुलक चलदृश्यव्दारा स्थानीयलाई निकै आकर्शित गरेको दृश्य देखियो । व्यापक जनसहभागिता रहेको सो कार्यक्रम लाग्थ्यो कुनै महोत्शव या मेला सन्चालन भैरहेको छ ।

शिविरमा बडीगाड गाउपालिकाव्दारा ६ जना अपांगता भएकाहरुलाई परिचय पत्र वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत प्रकाशचन्द्र सुवेदीले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत सुवेदीका अनुसार शिविरमा १०९ घरपरिवारका २०७२ पशुपंक्षीहरुको उपचार गरिएको छ । जस्मा सर्बाधिक कुखुरा ११३९, बाख्रा ७५३, भैँसी ११९, गाईगोरु ६९, र कुकुरको संख्या ३ रहेको छ । गाउपालिकाका पशु प्राविधिक बसन्त गौतमले पशुपंक्षीको उपचार गरेका थिए ।

स्मरणीय छ, एकीकृत घुम्ती सेवा शिविर सन्चालन गर्न प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, प्रहरी उपरीक्षक कृष्णहरि शर्मा, जिल्ला जनस्वास्थ्य प्रमुख दीपक तिवारी, जिल्ला प्रशासन कार्यालयका अधिकृत केशव लामिछाने तथा बडीगाउँपालिकाका अध्यक्ष मेहरसिँह पाईजा, प्रमुख प्रशासकीय अधिकृत प्रदीप चन्द्र सुवेदी लगायत गाउपालिकाको टोलीपनि बिहीवार नै शिविरमा पुगेको थियो ।

तस्वीर सौजन्य : प्रदीपचन्द्र सुवेदी / देवप्रकाश घिमिरे ।

जिल्लाकै अतिदुर्गम स्थल बडीगाड रणसिँह किटेनीको भेँडीखोरमा एकीकृत घुम्ती सेवा शिविर सुरु !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *