एकतर्फी सवारी पार्किङको सुरुवात सँगै ट्राफिक व्यवस्थापनमा देखियो सुधारको संकेत !

राम प्रसाद घिमिरे

बागलुङ जिल्लाको सबैभन्दा ठुलो र व्यस्त ब्यापारिक केन्द्र बागलुङ बजार १ मध्यपहाडी राजमार्ग र कालीगण्डकी करिडोरको संगमस्थल भएर पनि होला सवारी चाप निकै छ। बिक्रम संवत् २०६७ साल तिर म बागलुङ आउँदा सवारी क्षेत्रमा जे थियो बागलुङ हाल सम्म पनि अव्यबस्थित सवारी पार्किङको पर्यायवाची बनिरहेको छ ।

अझ अनौठो कुरा त के छ भने, फुटपाथको अभावमा बानी बसेका नागरिक जो सडकको बिचबाट हिड्छन बागलुङ देखि बाहिरी बजारका सडकको बिचमा अरुकोहि हिड्यो भनेपनि उ बागलुङ्गे आए भन्ने प्रचलन नै बनेको छ।

निर्माण सामाग्रीको अबरोध, विवाह, व्रतवन्ध, सार्वजनिक कार्यक्रमको सधैं निसानामा पर्ने बजारका सडकले नागरिकको दैनिकी निकै कठिनपुर्ण अबस्थाले व्यतित् भईरहेको छ । सरकारका कानुन कार्यन्वयन गर्ने अधिकांश निकायहरु रहेको बागलुङ बजारको पार्किङ वेथिति निकै बर्षदेखि यथावत् रहिरहेको छ ।

सवारी दुर्घटना न्युनिकरण गर्न र सवारी आवागमन सहज गराउने सरकारी निकाय ट्राफिक कार्यलय छ तर सवारी अनुशासन कायम गर्न निकै कठिनाई भईरहेको अनुभूति स्थानीयको छ ।
व्यस्त जीवनशैली सुबिधाभोगी सोचको बिकाश संगै सवारी साधनको प्रयोग दिनानुदिन बढ्दो अवस्थामा गईरहेको छ ।

बागलुङ बजारको बिगतको अभ्यास नियम जान्नेहरु धेरै भए, मान्नेहरु भएनन् ! नियम बनाउनेहरु धेरै भए , मनाउनेहरु भएनन् । पार्किङ ब्यवस्थापन, सिसि क्यामरा ब्यवस्थापन लगायत ट्राफिक नियम सँग सम्बन्धित अवरोध दशकौं देखि झेल्दै आएका बागलुङ बजारबासीहरु बर्तमान समयका केही साता यता यातायात क्षेत्रमा केही सहज एवं सुधार महसूस गर्न पाईरहेको बताएका छन् । बागलुङ नगरपालिलाको मुख्य अगुवाईमा पार्किङ, सिसि क्यामरा ब्यवस्थापन सबन्धि कार्यदल गठन गरि कार्य सुरुवात गरिसकिएको बताईएको छ।

कार्यदलका संयोजक तथा वडा नं २ का वडा सदस्य अर्जुन घिमिरे भन्छन, ‘हामी बजारको ट्राफिक ब्यवस्थापनको सुरुवाती चरण अन्तरगत बजारको मुख्य सडक ट्राफिकचोक देखि जिपपार्क सम्म वन साईड पार्किङको सुरुवात गरिसकेका छौँ यसमा सबैको सहयोग भईरहेको छ भने बजारका अन्य सडकहरुमा यो कार्य निकट समयमा नै सुरु गर्दै छौं यसको अलावा सिसि क्यामरा, नाली ब्यबस्थापन, कन्भेक्स मिरर जेव्राक्रसीङको ब्यवस्था लगायतको लागि बागलुङ नगरपालिकाबाट ६ लाख बजेट बिनियोजन भएको छ ।

बागलुङ बजारबासी सबैको सहयोगमा मात्र अभियान सफल बन्ने बिश्वास व्यक्त गर्दै उनी थप्छन, ‘नागरिकको सहयोग बिना राज्य केही गर्न सक्दैन तसर्थ बागलुङ बजारबासीको पूर्ण सहयोगको अपेक्षा गर्दछु ।’

यस अभियानको बिषयमा नगर प्रमुख जनकराज पौडेल भन्छन, ‘हामी स्वच्छ, सफा, ब्यवस्थित, समृद्ध एवं नमुना नगर बनाउने अभियानमै छौं यसमा सम्पुर्ण बजारबासी लगायत नगरबासीको रचनात्मक साथ र सहयोग बागलुङ नगरपालिका हरपल अपेक्षा गर्दछ ।’

हो त, नगरपालिकालाई सफा, स्वच्छ, हराभरा राख्ने जिम्मेवारी पनि नगरपालिकाकै हो नि । ट्राफिक व्यवस्थापनको लागी बजारका विभिन्न चोकहरुमा सीसीटीभीको व्यवस्था, नगरवासीलाई शुद्ध खानेपानीको व्यवस्था गर्न हरपल सक्रिय रहनुपर्ने निकायपनि नगरपापलका नै हो । जता फर्कियोे त्यतै ब्रह्मलुट, कति सहन सक्छन नगरवासीहरुले ? नगरपालिकाले सवारी साधनहरुको व्यवस्थापनका साथै सीसीटीभी जडान, शुद्ध पेयजलको भरपर्दो व्यवस्था, बिद्युत वितरणमा बैज्ञनिकीकरण, भौतिक (घरहरु) संरचनाहरुको निर्माणमा निश्पक्षता नगरबासीको पुरानो चाहना रहेको छ ।

कानुन कार्यन्वयन गर्ने सरकारी निकायको अर्थपुर्ण अभ्यासको अभावमा देशमा आशातीत सुविधा र बिकास हुन नसकिरहेको परिप्रेक्ष्यमा बागलुङ नगरपालिकाको यो कदम सराहनीय छ । जिल्लाको ट्राफिक ब्यबस्थापन गर्ने निकाय जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रमुख सुक बहादुर बिक भन्छन, ‘यो अभियान कार्यन्वयन गर्न सुरुमा केही कठिनाई भयो तर पछि नागरिकमा जनचेतनाको बिकाश सँगै सुधार भैरहेको छ, सुरुमा उल्लङ्घन गर्नेहरुलाई सम्झाईबुझाई गरि छोडेका छौं भने पटकपटक दोहोर्‍याउने केहिलाई कारबाही पनि गरेका छौं र अहिले लगभग पुर्णरुपमा लागू भईसकेको छ । हरेक देशका नागरिक कानुनका पालनकर्ता र अधिकारका हकदार हुन्छन ।

राज्यले चाहेमा हरेक कानुन लागू गर्न सक्दछ । तर सात दशक यता नेपालमा हुने राज्य परिवर्तनको मौसमी अभ्यासको कारण कानुनको प्रभावकारी कार्यन्वयनमा चुनौति देखिने गर्छ । स्थानिय तहको चुनाव पछि निर्माण भएको तिनै तहको स्थिर सरकार सगैँ देशमा बिकासको नयाँ आशा र बिश्वास बढिरहेको छ भने बिकाश तथा सुधारका नयाँ लहरपनि आईरहेका छन । यदि सरकारको कदम प्रभावकारी हुनेहो भने छोटो समयमै सुधारका सङ्केत देखिन्छन भन्ने उदाहरण बनेको छ, बागलुङको एकतर्फी पार्किङ ।

बिकासे सस्थांहरुको बिचमा देखिएको फराकिलो दुरीका कारण बजारमा समय समयमा एक संस्थाले गरेको बिकाश अर्को संस्थाले भत्काउने अभ्यासले पनि बागलुङ बजार र बजारका नागरिक आक्रान्त छन् किनकि नगरपालिकाले बनाएको सडक नगर खानेपानी संस्थाले भत्क्याउने, नगर खानेपानी संस्थाले बनाएको सडक, सडक बिभागले भत्क्याउने अभ्यासका कारण सधैं जसो बजारमा हिलो, धुलो , खाल्टा, खुल्टी भईरहने बजारमा एकतर्फी पार्किङले निकै सहज र सुधारको सङ्केत देखाईरहेको छ ।

बागलुङ बजारमा देखिएको यो सकरात्मक सुधारको सङ्केतलाई दिगो गराउन एवं सडकको मापदण्ड बिपरीत निर्माण गरिएका संरचनाहरुलाई कानुनको दायरामा ल्याई सुधार गर्नसके बागलुङ बजारको गुमिरहेको सुन्दरता फर्कनेमा कुनै दुईमत छैन । तर यसको लागि नगरपालिकाको निरन्तर प्रभावकारी कदमको आबश्यकता छ भने नागरिक स्तरबाट रचनात्मक सहयोगको पनि आबस्यकता रहन्छ।

लेखक सामाजिक अभियन्ता हुन् ।
बागलुङ, २०७६ जेठ २३ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *