पोखरामा निर्बाध रुपमा ई-रेक्सा संचालन गर्न दिन व्यवसायीको माग
कविता घर्तीमगर पोखरा २०७३ चैत १६ । पोखरामा ईरेक्सा प्रतिवन्ध हुने भए पछि व्यवसायीहरुले निर्बाध रुपमा संचालनको माग गरेका छन । विगत दुई बर्ष अघि देखि पोखरामा संचालन हुदै आएको ई रेक्सा केहि व्यक्तिहरुको स्वार्थको लागि एकाएक प्रतिवन्ध गराउने निर्णय भएको भन्दै आफुहरुलाई इ रेक्सा निर्बाध रुपमा संचालन गर्न दिन बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा व्यवसायीहरुले माग गरेका हुन ।
आफ्नो निजी सवारी साधन व्यक्तिगत प्रयोजनको लागि समेत प्रतिवन्ध गर्ने गण्डकी यातयात व्यवस्था कार्यालय पोखरा बिरुद्ध आफुहरु अदालतमा जाने तयारी गरेको पोखरा ईलेक्ट्रिक तदर्थ समिति कास्कीका अध्यक्ष चन्द्र बहादुर नेपालीले कार्यक्रममा बताए । उनले भने “ निम्न बर्गका व्यत्तिहरुको स्वरोजगार भएको अबस्थामा हामीहरुलाई विकल्प विना प्रतिवन्ध गर्नु उचित हुदैन । ”
वातावरण मैत्री पेट्रोलिय पदार्थ विना संचालन गर्न सकिने ई रेक्सा पोखरामा प्रतिवन्ध गर्नु आफुहरुको लागि निकै दुख लाग्दो कुरा भएको उनले बताए । आफुहरुले ऋण धन गरेर साँढे दुई लाखको लागतमा उक्त ई रेक्सा पोखरामा व्यत्तिगत प्रायोजनको लागि प्रयोगमा ल्याएको उनले बताए ।
उनले त्यसो भनि रहदा भने केहि ई रेक्सा व्यवसायीहरुले पोखराका गल्ली गल्लीमा केहि सहुलियतमा फलफुल तरकारी विक्री गर्दै हिडेका थिए । पोखरामा ई रेक्साको दर्ता नदिएका कारणले गर्दा आफहुरुले भेरी र नारायणीबाट दर्ता गराई संचालन गर्दै आएको समितिका सचिव युवराज रानाभाटले बताए । उनले भने हामीले दुई बर्ष अघि १० वटा बाट सुरुवात गर्दा किन समयमै प्रतिवन्ध भएन, १० हुदै हाल ३९ वटा पुग्दा सम्म किन हामीलाई समयमै प्रतिवन्ध गराईएन, अहिले आयर प्रतिवन्ध गर्नु हामीहरु माथि लात हान्ने काम भएको छ । ” आफुहरुलाई निश्चित समय र मुख्य सडकमा संचालन नगर्ने गरी पोखरामा भित्रिएका ई रेक्सालाई संचालन गर्न दिनु पर्ने रानाभाटले माग गरे ।
तीन पाङग्रे ई रेक्सा व्यवसायिक हिसावले सामानहरु ओसर पोसारमा धेरै सहज भएको व्यवसायीहरुले बताएका छन । पोखराका एक ई रेक्सा चालक देविप्रसाद पौडेलले आफुहरुले विगत दुई बर्ष देखि पोखरामा ई रेक्सा संचालन गरे पनि हालसम्म कुनै दुर्घटना नभएको दाबी गरे ।
गण्डकी यातयात व्यवस्था कार्यालय पोखराले पोखराको ट्राफिक व्यबस्थापनमा ई रेक्साले थप समस्या पारेको तथा उपत्यका र पहाडी क्षेत्रमा ई रेक्सा अनुमती नदिएकोले पोखरामा ई रेक्सा पुर्ण रुपमा प्रतिवन्ध गर्ने निर्णय गरेको कार्यालय प्रमुख तिलक पौडेलले बताए । उनका अनुसार यातयात व्यबस्था कार्यालय जिल्ला समन्वय समितिका अध्यक्ष हरी प्रसाद मैनालीको अध्यक्षतामा हालै बसेको बैठकले उक्त निर्णय गरेको हो ।
कार्यालय प्रमुख पौडेलका अनुसार समितिले उक्त निणर्य पुर्ण रुपमा कान्वयन गर्न जिल्ला ट्राफिक कार्यालय कास्कीलाई दिइएको छ । जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी निरिक्षक विश्वराज अधिकारीले समितिको निर्देशन कार्यान्वयनको लागि आफुहरुले काम सुरु गरेको बताए ।
यही चैत ८ देखि १५ गतेसम्म इ रेक्सा चालकहरुलाई सम्झाई बुझाई गर्ने अभियानमा रहेको उनले बताए । चैत १६ गते देखि संचालन गर्न नदिने बताएका उनले चैत १८ गते देखि कुनै पनि ई रेक्सा पोखरामा चल्न नदिने यदि चलेको भेटिएमा कारवाही गरिने चेतावनी दिए ।