बाह्रौँ गणतन्त्र दिवस : सरकारले प्रेस माथि अङ्कुश लगाउन खोज्नु दुर्भाग्यपूर्ण – वक्ताहरु

बागलुङ २०७६ जेठ १६ । बाह्रौँ गणतन्त्र दिवस मनाइरहँदा बागलुङमा आयोजित कार्यक्रमका सहभागिले गणतान्त्रिक व्यवस्था प्रति नै शंका उत्पन्न हुने परिस्थिति बनेको बताएका छन । मानवअधिकार तथा शान्त्रि समाज बागलुङले आयोजना गरेको लोकतान्त्रिक गणतन्त्रको आधार प्रेस स्वतन्त्रता, मानवअधिकार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले सो कुरा बताएका हुन ।

सहभागीले हजारौँ नेपाली जनताको रगत र बलिदानले आएको गणतन्त्रमा प्रेस स्वतन्त्रता कुण्ठित हुँदै गएको, मानव अधिकारलाई शंकुचन पारिएको र न्यायलयमा राजनीतिक हस्तक्षेप गरिएकाले व्यवस्था प्रति नै शंका उब्जन थालेको बताए ।

उनीहरुले गणतन्त्र ल्याउन प्रेसले महत्वपूर्ण योगदान पुर्याएको बताउँदै सरकारले प्रेस माथि अङ्कुश लगाउन खोज्नु दुभाग्यपूर्ण भएको बताए । वक्ताहरुले सरकारले अन्यायको विरुद्ध बोल्ने संघ संस्था तथा व्यक्तिको मुख बन्द गर्न खोजेको आरोप लगाउँदै मुलुकमा गणतन्त्रको मर्म अनुसार राज्य संचालन हुन नसकेको बताए । ‘सरकार अहिले जुन प्रेस काउन्सिल विधेयक लिएको छ यो मान्य छैन,’ वक्ताहरुले भने ‘यसले आम जनताको वाक स्वतन्त्रता माथि कुण्ठित गरेको छ ।’

कार्यक्रममा प्रमुख बक्ताकाे रुपमा रहेका शान्ति समाजका आजीवन सदस्य एवं वरिष्ठ अधिवक्ता पद्यमनाथ शर्माले न्याय क्षेत्र लथालिङ्ग हुँदा नेपाली जनता न्याय पाउनबाट वञ्चित भएको बताए । सरकारले राजनीतिक दवाबमा अयोग्य र अनुभवि नभएका न्यायधिसलाई अदालतमा राख्दा न्याय क्षेत्र फितलो बनेको शर्माको भनाई छ ।

शर्माले प्रधानमन्त्रीले राज्य सत्ता एकलौटि ढंगले चलाउन खोजेको आरोप लगाउँदै सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक खारेज गर्नु पर्नेमा जोड दिए । ‘सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकको विरुद्धको आन्दोलनमा प्रेस एक्लै छैन,’ शर्माले भने ‘प्रेसको पछाडि आम नेपाली छन् ।’ उनले सरकार शान्ति सुरक्षाको काम गर्न तर्फ ध्यान नदिएको बताउँदै देशलाई भताभुङ्ग बनाउन तर्फ लागेको आरोप लगाए । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य संगम घर्ती मगर, पत्रकार महासंघ बागलुङका सचिव राम थापा, युवा नेता हरिहर शर्मा महासंघका कोषाध्यक्ष विजय राना, प्रेस संगठनका जिल्ला कार्यदल सदस्य उमकान्त शर्मा लगायतले बोलेका थिए ।

कार्यक्रम मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा बागलुङका सभापति लक्ष्मीकान्त पौडेल, राजेन्द्रको अध्यक्षता, सह–सचिव बालकृष्ण शर्माको स्वागत र सचिव हरि शर्मा हरिशको संचालनमा संचालनमा सम्पन्न भएको थियो ।

यसैबीच, बाह्रौँ गणतन्त्र दिवसको अवसरमा जुलुसले बागलुङ बजार परिक्रमा गरेपछी जिल्ला समन्वय समितिको कार्यालयमा आयोजित मुख्य समारोहमा मन्चासीन हुनेहरुमा एक जना महिलापनि नहुनुले सामाजिक सन्जालमा तीखो टिप्पणी गरिएको छ । यस कार्यलाई व्यवस्थपकीय पक्षको चरम लापर्वाहीको रुपमा हेरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.