मिडिया काउन्सिल विधेयक अधिनायकवादी छ – वक्ताहरु

बागलुङ, २०७६ जेठ १३ । मिडिया काउन्सील विधेयक मार्फत सरकारले जनताको मुख थुन्न खोजको बागलुङमा आयोजित कार्यक्रमका सहभागीले बताएका छन । नेपाल प्रेस युनियन बागलुङको २० औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको मिडिया काउन्सिल विधेयक सम्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागीले आलोचना सहन नसक्नेहरु प्रेसमाथि आक्रमण गर्ने गरेको बताए । ‘अहिले सरकार मिडिया काउन्सील विद्येयक मार्फत जनताको आवाज दबाउने प्रयो गरेको छ,’ कार्यक्रममा सहभागीले भने,‘ अहिले तत्कालका लागि हेर्दा यो पत्रकार र सञ्चारमाध्यमप्रति लक्षित जस्तो देखिन्छ । पछि गएर यसको प्रतिफल स्वरुप जनताले आफ्नो वाक स्वतन्त्रताको उपभोग गर्न नसक्ने अवस्थाको सिर्जना हुने देखिन्छ ।’ सरकारको आलोचना र गुनासो पोखिने माध्यम पत्रकारिता भएकैले सरकारले अंकुश लगाउने खोजेको उनीहरुको तर्क छ । ‘सबैभन्दा पहिलो पत्रकारलाई ठिक पारेपछि विपक्षी आवाज आफै हराउँछ भन्ने सरकारको उद्देश्य छ,’ उनीहरुले भने । कार्यक्रमा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले मिडिया विकेयक अधिनायकवादी र फाँसीवादी चरित्र बोकेर आएको बताए । ‘तपाईहरुले कार्यक्रममा बोलाएपछि मैले पनि यो मिडिया विद्येयक पढें,’ उनले भने,‘यो अहिलेको अभिव्यक्ति स्वतन्त्रतालाई रोक्नेगरी आएको छ । यो फाँसीवादी र अधिनायकवादी शैलीको छ ।’ निरङ्कुशताले जनताको आवाज थुन्ने प्रयासमा आफ्नै अन्त्यको बाटो खोल्ने उनको भनाई छ । ‘यो विषयमा नियत प्रष्ट देखिन्छ,’ ढुङ्गाना भन्छन,‘यो विद्येयक राम्रा नियतले आएको छैन ।’ नेपाली काँग्रेस बागलुङका सभापति दिपेन्द्रबहादुर थापाले दुई तिहाईको डर देखाएर सरकारले हरेक क्षेत्रलाई कमजोर पार्ने दाउमा लागेको बताए । ‘अदालत, संसद सबैलाई दुई तिहाईको नाममा निकम्मा बनाउने काम हुँदै गएको छ,’ थापा भन्छन्,‘यो लोकतन्त्रको लागि उपयुक्त विषय होईन ।’ कार्यक्रमा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य ज्ञानेन्द्र गौतमले लोकतन्त्रका लागि प्रेस स्वतन्त्रता अनिवार्य विषय भएको बताए ।

‘प्रेस स्वतन्त्रता र नागरिक अधिकार लोकतन्त्रका आधारभूत पक्ष हो,’ गौतम भन्छन्,‘अहिलेको सरकार लोकतान्त्रिक चरित्र भन्दा बेग्लै ढंगले अगाडी बढ्न खोज्दैछ ।’ नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष दिल शिरीषले प्रेस स्वतन्त्रता पत्रकारका लागि मात्रै नभई आम नागरिकका लागि पनि आश्यक भएको औंल्याए ।

‘हामी झट्ट हेर्दा प्रेस स्वतन्त्रता पत्रकारका लागि मात्र हो कि जस्तो लाग्छ, त्यसो होईन,’ शिरीषले भने,‘यस विस्तारै नागरिकका आवाज बन्द गर्न थाल्छ । हामी अहिले नै सचेत बनेनौं भने नियतसंग जोडिएर आउने यस्ता कुराले धेरै ठूलो अप्ठ्यारो पार्छ ।’ कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य जगदिशचन्द्र उपाध्याय, नेपाल ट्रेड युनियन काँग्रेस केन्द्रीय महिला उपाध्यक्ष शकुन्तला शर्मा, प्रेस युनियन बागलुङका पूर्व अध्यक्ष जगन्नाथ आचार्य, अन्नपूर्ण पोष्ट गण्डकी प्रदेश संयोजक केशवशरण लामिछाने, प्रगतिशील पत्रकार संघ बागलुङका अध्यक्ष रामनारायण सुवेदीले मिडिया काउन्सिल विद्येयकले पत्रकारितालाई खुम्च्याउने र नियन्त्रण गर्ने प्रयासमा रहेको उल्लेख गरे । नेपाल विद्यार्थी संघका पूर्व सहमहामन्त्री हरिहर शर्मा, प्रेस युनियनका पूर्व सचिव विकास पौडेल, पत्रकार किरण आचार्य, नविन शिशिर विक, राजेशचन्द्र राजभण्डारी सत्तामा पुगेपछि प्रेसलाई बाधा देख्ने प्रचलन समस्याको रुपमा रहेको बताए । कार्यक्रमा कान्तिपुर दैनिकका उपसम्पादक प्रकाश बरालले अवधारणापत्र प्रस्तुत गरेका थिए । नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष प्रदिप पन्तको अध्यक्षता, उपाध्यक्ष संगम घर्तीमगरको स्वागत र सचिव नारायण रिजालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.