तीन दिन भित्र तलब नपाए पठनपाठन ठप्प पार्ने निसीभूजी क्याम्पसका शिक्षकको चेतावनी !

बुर्तिवाङ २०७३ चैत १५ । बुर्तिबाङ स्थित निसीभुजी जनता क्याम्पसमा अध्यापनरत उप प्रध्यापकहरुले ९ महिना यताको तलव प्रशासनले भुक्तानी नगरेको कारण देखाउदै व्यवस्थापन समितिका अध्यक्ष र क्याम्पस प्रमुख क्याम्पसमा उपस्थित नभएको मौकामा क्याम्पस प्रशासन समक्ष ३ दिनभित्र तलव भुक्तानका लागि लिखित निवेदन दिँदै आउदो शुक्रबार सम्म तलब भुक्तानी नदिए आईतवार देखी क्याम्पसको पठनपाठन बन्द गरी आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

स्मरणीय छ, यस क्याम्पसको गत फागुन ११ गते रजत महोत्सवका अवसरमा क्याम्पसको नवनिर्मित भवनको भव्यताका साथ उद्घाटन गरिएको थियो ।

अघिल्लो आर्थिक वर्षको गत असार महिनामा तलब भत्ता बुझेका क्याम्पसका उपप्रध्यापकहरु यस आर्थिक वर्षमा अहिलेसम्म तलबभत्ता पाउन नसकेको भन्दै तत्काल तलव भुक्तानीको माग गरेको उपप्राध्याक इश्वरी शर्माले बताए ।

क्याम्पसमा विद्यार्थीबाट उठाइने शुल्क क्याम्पस सञ्चालक समितिले भवन निमार्ण र अन्य शीर्षकमा खर्चदै आएको प्रध्यापकहरुको भनाई छ । क्याम्पसमा आर्थिक स्रोत नभएको कारण देखाउँदै क्याम्पसले स्टाफहरुको तलब भुक्तानी नगरेको क्याम्पस प्रध्यापक संघका प्रतिनिधि लोकेन्द्र सुनारले बताए ।

श्रोतका अनुसार हाल क्याम्पस प्रमुख कृष्णकान्त आचार्य र संचालक समितिका अध्यक्ष धीरप्रताप सिंह दुबै जना अहिले काठमाडौमा रहेका छन् । संचालक समितिका अध्यक्ष सिंहसंग संपर्क राख्दा उनले आफू चैत १६ गतेपछि काठमाडौबाट आउने र छलफल गरि समस्याको समाधान गरिने बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.