बरेङमा एमालेको १५१ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन !

बागलुङ, २०७३ चैत १५ । स्थानीय तहको निर्वाचन अभियानलाई केन्द्रीत गरेर नेकपा एमाले बागलुङले सञ्चालन गरेको जिल्ला व्यापी अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम अन्तरगत शनिवार बरेङ गाउँपालिकामा कार्यक्रम सम्पन्न भएको छ ।

नेता कार्यकर्ताहरुलाई निर्वाचन सम्बन्धी प्रशिक्षण दिने, उमेदवार छनोट लगायत निर्वाचन केन्द्रीत योजना निर्माण गर्ने उदेश्यले एमालेले बागलुङ दशवटै स्थानीय तहमा अभियान थालेको हो ।

बरेङ गाउँपालिका स्तरीय अगुवा कार्यकर्ता भेलाले गाउँपालिका संगठन कमिटि गठन गर्नुका साथै जिल्ला कमिटि सदस्य तथा सो गाउँपालिकाका संयोजक धनिश्वर पौडेलको संयोजकत्वमा १ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरेको छ ।

निर्वाचनलाई केन्द्रीत गरी सबै वडामा भेला तथा घरदैलो लगायतका कार्यक्रम गर्ने गरी निर्वाचन कार्ययोजना निर्माण गरिएको बरेङ गाउँपालिका वडा नं. ३ का एमाले अध्यक्ष लिलानाथ पौडेलले जानकारी दिए ।
कार्यक्रममा बरेङ गाउँपालिकाका १ सय जना जेष्ठ नागरिक र एकल महिलालाई सम्मान गरिएको थियो । एमाले नेतृत्वको सरकारले २०५१ सालमा शुरु गरेको जेष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएकाहरुको सम्मानको अभियानलाई निरन्तरता दिने सो अवसरमा बताइएको थियो ।

कार्यक्रममा बोल्दै एमाले जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले लोकतन्त्रको संस्थागत विकास, राष्ट्रियताको संरक्षण तथा आम जनताको जनजिवीकाका लागि देशभर एमालेको नेतृत्व आवश्यक रहेको बताए ।

एमाले बागलुङका निवर्तमान अध्यक्ष श्रीप्रसाद शर्माले स्थानीय सरकार निर्माणका लागि हुन लागेको स्थानीय तहको निर्वाचनबाट विगतदेखि नै जनपक्षीय काम गर्दै आएको एमालेलाई विजयी बनाउन आव्हान गरे ।
कार्यक्रममा एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका सदस्य रामबहादु जिसीले सामाजिक सुरक्षा भत्ता, आफ्नो गाउँ आफै बनाऔ जस्ता लोककल्याणकारी राज्यले गर्ने काम नेपालमा एमालेले शुरुवात गरेको र त्यसको संस्थागत विकासका लागि एमालेकै नेतृत्व आवश्यक रहेको धारणा राखेका थिए ।
कार्यक्रममा एमालेका युवा नेता डा.सूर्य पाठक, एमाले जिल्ला सचिवालय सदस्य सावित्रा रानाले पनि बोलेका थिए ।

नेकपा एमाले बागलुङका सदस्य तथा बरेङ गाउँपालिकाका संयोजक धनिश्वर पौडेलको अध्यक्षता, वडा नं. ३ का अध्यक्ष लिलानाथ पौडेलको स्वागत र २ का अध्यक्ष प्रेम पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *