कुसुम थिङ्ग, बागलुङ (ढोरपाटन) २०७६ जेठ ४ । ढोरपाटन नगरपालिका ९ ढोरपाटन स्थित प्रशिद्ध ढोरबराह मन्दिरमा वर्षको दुई पटक विशेष मेला लाग्छ । पहिलो मेला बैशाख पूर्णिमा अर्थात चण्डी पूर्णिमा मेला र दोश्रो जनैपूर्णिमा ऋषितर्पणी मेला लाग्ने परम्परा रहि आएको छ । जनै पूर्णिमा मेलामा ढोरबराह मन्दिरमा लाग्ने मेला यस क्षेत्रको सबै भन्दा प्रख्यात र व्यापक जनसहभागितामा मनाईन्छ ।
यस वर्षको पहिलो मेला आज चण्डी पूर्णिमाको दिन हजारौँ श्रद्धालुहरुले भगवान ढोरबराहको श्रद्धा,आस्था एवं भक्तिपूर्वक पूजा अर्चना गर्नुका साथै मन्दिरमो सयौँ भेँडाका साँडहरुको बलि दिने प्रचलन रहिआएको छ ।
आज ढोर बराह मन्दिरमा बागलुङ, रुकुम, रोल्पा, म्याग्दी, गुल्मी, पर्वत, कास्की, प्यूठान लगायत जिल्लाहरुबाट ठुलो संख्यामा श्रद्धालुहरुले ढोरपाटनमा ढोर बराह मन्दिरमा पूज अर्चना गरेका छन् । सवारी साधनहरु प्रशस्तै पाईन थाले पछी पछिल्लो समय श्रद्धालुहरुको संख्यामा निकै बृद्धि भएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार बैशाख पूर्णिमाका दिन ढोर बराह मन्दिरमा ४ देखी ५ सय सम्म भेँडाको बलि दिईएको छ ।
श्रद्धालुहरु उत्तरगंगा स्नान र ढोर बराहमा पूजा अर्चनाका लागि ढोरपाटन आईपुगेका र यहाँ बस्नको समस्याका कारण आजै केहि श्रद्धालुजन ढोर बराहको पूजा अर्चना गरी बुर्तिवाङ फर्किएको सहकर्मी दिलमायाँ अदैले जानकारी दिईन् ।
धार्मिक दृष्टिले मात्र नभएर ढोरपाटन पर्यटकीय दृष्टिले पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । ढोरपाटनको समथर भूभाग, त्यसदेखी माथीको बुकी, चरीचरण स्थल, विभिन्न प्रकारका चराचुरुंगी, जैविक विविधताको अध्ययनका लागि पनि ढोरापाटन आकर्षणको केन्द्र बनेको छ ।
तस्वीर सौजन्य: ऋतुवर्ण पौडेल, बुर्तिवाङ ।