मिडिया काउन्सिल विधेयक बिरुद्ध पत्रकार महासघ आन्दोलनमा !
समाचार लेखेको आधारमा पत्रकार माथि गरिने कुनैपनि प्रकारको हस्तक्षेप पत्रकारलाई अमान्य !

ताराप्रसाद शर्मा, बागलुङ २०७६ जेठ ३ । संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक बिरुद्ध नेपाल पत्रकार महासघ आन्दोलनमा उत्रिएको छ । मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता माथि हस्तक्षेप गर्ने गरि संसदमा दर्ता भएकाले यसको संसोधनको माग गर्दै महासंघ आन्दोलमा उत्रिएको हो । संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक सहितका कानूनमा रहेका केही प्रावधानका बिरुद्ध पत्रकार महासंघको पहिलो चरणको आन्दोलन अन्तर्गत बागलुङमा पनि नेपाल पत्रकार महासंघ बागलुङको आयोजनामा जिल्ला प्रशासन कार्यालय परिसरमा सञ्चार साधनसहित बिरोध प्रदर्शन गरिएको छ । बिधेयक खारेज र प्रेस स्वतन्त्रताको ग्यारेन्टीको माग गर्दै जिल्लामा क्रियाशील बिभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुले संचार सामाग्री सहित जिल्ला प्रशासन कार्यलयमा बिहान १० बजेदेखि ११ बजेसम्म घण्टा धर्ना दिएका थिए ।

पत्रकारहरुले ल्यापटप, क्यामेरा, भ्वाइस रेकर्डर लगायतका सञ्चार सामग्री प्रदर्शन गर्दै सरकारले पेस गरेको विधेयक विरुद्ध धर्ना दिएका हुन ।

बिरोध प्रदर्शन पछि महासंघका शाखा अध्यक्ष दिल शिरीषल लोकतन्त्रकै लागि लडेर आएको पार्टी सम्वद्ध लोकतान्त्रिक सरकारले समाचार लेखेकै आधारमा पत्रकारलाई लाखौं रुपैयाँ जरिवाना तिर्नुपर्ने र जेल जानुपर्ने कानुन बनाउन खोज्नु बिडम्बना भएको बताए । ‘सरकारले प्रेसलाई नियमन गर्नु अन्यथा होइन, तर अहिले नियन्त्रण नै गर्ने नियत राखेर बिधेयक ल्याइएको छ, यो गम्भिर बिषय हो,’ उनले भने, ‘पत्रकारितालाई व्यवस्थित, मर्यादित बनाउने नाममा नियतबस आएका बुँदाले प्रेस स्वतन्त्रतामा कुनै पनि बाहनामा आक्रमण गर्नेछ, यसले प्रेस स्वतन्त्रता सँगै अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रमा समेत प्रभाव पार्न सक्ने खतरा देखिन्छ, यसमा पत्रकार मात्र नभई नागरिक समाज लगायत सम्वद्ध पक्ष पनि गम्भिर बन्न आवश्यक छ ।’

अध्यक्ष दिल शिरीषले संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकले आम श्रमजिवी पत्रकारहरुको भावनामा ठेस पु-याउने भएकाले उक्त बिधेयक तत्काल संबोधन गरि पत्रकारहरुलाई सहज रुपमा काम गर्ने बातावरण सिर्जना गर्नुपर्ने बताए । उनले समाचार लेखेको भरमा पारिश्रमीक पाउने पत्रकारहरुले कसैको गलत कामको बिरुद्धमा समाचार लेखेपनि मुद्दा खेप्नुपर्ने अवस्था आउने देखिएकाले बिधेयक सशसोधन नभए पत्रकार महासंघ थप सशक्त आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए । उनले बिधेयक संशोधन भएर नआएमा जिल्लाका उत्च पदस्थ निकायका व्यक्तिहरुको कार्यक्रम बहिष्कार जस्ता कार्यक्रम गर्न पत्रकार महासंघ र पत्रकारहरु बाध्य हुने चेतावनी दिएका थिए ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका सल्लाहकार कोपिला कँडेलले समाचार लेखेको आधारमा पत्रकार माथि गरिने कुनैपनि प्रकारको हस्तक्षेपले मानिसको बोल्न पाउने र बिरोध गर्न पाउने अधिकारलाई हनन् गर्ने बताईन् । सरकारले यो वा त्यो ढंगले मिडिया र पत्रकार माथि अधिनायकवाद लाद्न खोजेको उल्लेख गर्दै उनले श्रमजीवी पत्रकारहरुकोे हित बिपरीत संसदमा दर्ता भएको बिधेयक तुरुन्त संशोधन गर्नुपर्ने माग पनि गरिन् । क्रियाशिल महिला पत्रकार समूहकी अध्यक्ष तथा महासंघका सल्लाहकार कंडेलले प्रेस स्वतन्त्रताको घाँटी निमोठ्ने गरि ल्याइएको बिधेयक नसच्याए दुर्भाग्य हुने बताएकी थिईन् ।

कार्यक्रमको संचालन पत्रकार महासंघ बागलुङका सहसचिव नविन शिशिर बिकले गरेका थिए ।

बिरोध कार्यक्रमको पहिलो दिन पत्रकारहरुले हातमा कालोपट्टि बाँधेर काम गरेका थिए । काउन्सिलबाट जारी भएको बिद्येयकमा आचार संहिता विपरित कुनै सामाग्री प्रकाशन वा प्रसारण गरेको कारण मर्यादावा प्रतिष्ठामा आँच पु¥याएको भनी सम्बन्धित व्यक्तिले दफा १६ बमोजिम दिएको उजुरी उपर दफा १७ बमोजिम जाँचबुझ गर्दा कसैको मर्यादा वा प्रतिष्ठा आँच पु¥याएको देखिएमा काउन्सिलले सम्बन्धित आमसञ्चार माध्यम, प्रकाशक सम्पादक, पत्रकार वा संवाददातालाई पच्चिस हजार रुपैयाँदेखि दश लाख रुपैँयासम्म जरिवाना गर्न सक्ने व्यवस्था गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.