ढोरपाटनमा बस्ने ५६ जना तिव्वती शरणार्थीको परिचय पत्र नवीकरण !
६ दशक, तीन पुस्ता देखी ढोरपाटनमा बसोबास गरेका छौँ, सरकारले हाम्रो लागी सोँच्नु पर्छ : शरणार्थी

बागलुङ २०७६ बैशाख २९ । ढोरपाटनमा बसोबास गर्दै आएका तिव्वती शरणार्थीहरुलाई सरकारका तर्फबाट दिईएको शरणार्थी परिचय पत्र प्रत्यक वर्ष जिल्ला प्रशासन कार्यालय बागलुङबाट खटिएको टोलीले पुगेर नवीकरण गर्ने गरिन्छ ।

यसैसिलसिलामा आज ढोरमा शरणार्थी परिचय पत्र नवीकरण गर्ने कार्य सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङबाट प्रशासकीय अधिकृत धिरेन्द्रराज पन्तको नेतृत्वमा नासु विष्णु प्रसाद ढकाल र कर्मचारी अर्जुन ढकाल सहित ढोर पुगेको टोलीले तिव्वती शरणार्थीहरुको परिचय पत्र नवीकरण कार्य सम्पन्न गरेको हो ।

६१ वर्ष पहिले ढोरमा आएका ७३ वर्षिय झ्याम्पा याङ्तेन

ढोरपाटन स्थित नोर्जेलिङ तिव्वतियन क्याम्पमा बसोवास गर्ने ढोरपाटनमा भेला भएका ५६ जना तिव्वती शरणार्थीले आज परियचय पत्र नवीकरण गराएको प्रशासकीय अधिकृत पन्तले ईबागलुङलाई जानकारी दिए । सो अवसरमा ढोरपाटन स्थित टासी गेगे थर्तेलिङ गुम्बाको पनि टोलीले अवलोकन गरेको थियो ।

ढोरपाटन नगरपालिका ९ ढोरपाटन (भुजेल ढोर)मा झण्डै ६१ वर्ष देखी बसोवास गर्दै आएका तिव्वती शरणार्थीहरुको सख्या प्रत्यक वर्ष कम हुँदै गएको छ । १२ वर्षको उमेरमा तिव्वती शरणार्थीको रुपमा ६१ वर्ष पहिले ढोरमा आएका ७३ वर्षिय झ्याम्पा याङ्तेनका अनुसार ढोरमा आउने शरणर्थीको संख्या पहिले ३ सय ६० जना थियो, तर हाल विविध कारणले शरणार्थीहरुको संख्या ह्वात्तै घटेको छ ।

शरणार्थी परिचय पत्र नवीकरणका लागी जम्मा भएका तिव्वती शरणार्थी ७३ वर्षिय याङ्तेन संग ईबागलुङले पछिल्लो समय ढोरमा तिव्वती शरणार्थीहरुको संख्या कति छ त ? भनी सोधेको प्रश्नमा उनी भन्छन्, कोहि पोखरा, कोहि काठमाडौँ लगायत विभिन्न ठाउँहरुमा बसाई सराई गरेकाले यहाँ शरणार्थीको संख्या पछिल्लो समय ५६ जना (घर)रहेका छन् ।

शरणार्थीहरुको नाम हेर्दै घट्टे माईला दाई भनेर चिनिने झ्याम्पा थिन्ले
शरणार्थी परिचय पत्र नवीकरणका आएका अर्का तिव्वती शरणार्थी घट्टे माईला दाई भनेर चिनिने झ्याम्पा थिन्लेले तीन पुस्ता देखी ढोरमा बसोबास गर्दा पनि नागरिकता नपाएकोमा निकै चित्त दुखाए । केहि तिव्वती शरणार्थीहरुले अंगिकृत नागरिकता प्राप्त गरेर आफ्नो कारोबार गरिरहेको सुनाउदै घट्टे माईला दाई भन्छन, नेपाली नागरिकताको प्रमाण पत्र दिएर हामीलाई गरिखाने अवसर दिन सरकारले ध्यान दिनुपर्ने दुखेसो पोखे । तीनपुस्ता देखी बसोबास गर्दै आएका छौँ, परिचय पत्र नवीकरण गर्दा गदैँ परिचय पत्रमा ठाउँनभएर कागज थप्दै (गाँस्दै) नवीकरण गर्दै आएका छौँ, अंगीकृत नागरिकता भएपनि सरकारले दिए दुखसुख गरेर भावी जीवन बिताउन हुन्थ्यो ।

ढोरपाटन तिव्वती क्याम्प समितिकी सचिव ५१ वर्षिया छिरिङ बुटी (दायाँ)

यसैवीच शरणार्थी परिचय नवीकरणकालागी आएकी ढोरपाटन तिव्वती क्याम्प समितिकी सचिव ५१ वर्षिया छिरिङ बुटीले एक महिना पहिले देखी समितिको सचिवको जिम्मेवारी पाएको बताउदै आफ्ना बाबुको ढोरमा निधन भएको र आमा छिरिङ नितेल ढोरमा नै रहेको बताईन् । आफ्नो बिबाह पनि तिव्वती शरणार्थीसंग भएर तीन जना बालबालिकाकोे जन्मभएको उनले बताईन । सचिव बुटीले नेपाल सरकारले हामी शरणार्थीहरुका लागी दीगो व्यवस्था गरिदिनु पर्ने माग उठाएकी थिईन् ।

परिचय पत्र नवीकरण गर्न भेल भएका केहि तिब्वती शरणार्थीहरुका अनुसार ढोरपाटनमा पहिले पहिले जस्तो शरणार्थीहरुको रमझम देख्न पाईन्न । प्रत्यक वर्ष मे महिनामा धर्मगुरु दलाईलामाको जन्मोत्सव विविध कार्यक्रमहरुको आयोजना गरी मनाउने प्रचलन हराएको छ ।

२०३२ सालमा भारतको धर्मशालाबाट प्रशासकको रुपमा ढोरपाटन आएका प्रशासक, उनकै अनुरोधमा यो हरफकार पहिलो चोटी ढोरपाटन पुगेको हो ।
तिव्वती शरणार्थी क्याम्प ढोरपाटनमा भारतको धर्मशालावाट खटिई आउने प्रशासक आउन छोडेको पनि वषौँ भयो । तिव्वती शरणार्थी क्याम्प ढोरपाटनमा सन्चालित ‘ढोरपाटन ह्ण्डीक्राफ्ट सेन्टर’ बन्द भएको पनि तीन दशक पुग्यो । यस गलैँचा कारखानाकी प्रशिक्षिका मास्टर्नीको केहि वर्ष पहिले निधन भएको तिव्वती शरणार्थीहरुले ईबागलुङलाई जानकारी दिए । उनका श्रीमान भने काठमाडौँमा बस्ने गरेको उनिहरुले बताए । ढोरमा रहेका शरणार्थीहरुमा ८० वर्ष उमेर माथीका दुईजना मात्र जेष्ठ नागरिक रहेको उनिहरुको भनाई छ ।

नेपालीहरुसंगै मिलेर जीवन यापन गरिरहेका तिब्बती शरणार्थीहरु, शिक्षक सोनाम तोप्के ।
दुई दशक पहिले सम्म निकै चहल पहल हुने वोद्ध गुम्वाहरु अहिले सुनसान बनेका छन् । एक जना लामाको अज्ञात समुहव्दार हत्या गरिएपछी शरणार्थीहरुमा सन्त्रास फैलिनाले शरणार्थीहरु पलायन हुन सिलसिला बढेको उनिहरुको भनाई छ ।

ढोरपाटन ह्याण्डीक्राफ्ट सेन्टर र ईन्सेटमा मास्टर मास्टर्नी, २०४३ ।

मरमत सम्भारको अभावले गुम्वा र त्यस आसपासका भौतिक सरचनाहरु भत्किने क्रम जारी छ । हालै परेको अत्याधिक हिमपातका कारण एनकेन प्रकारले ठडिई रहेका थुप्र भौतिक संरचनाहरु धराशायी बनेको शरणार्थीहरले बताए ।

तिब्बती शरणार्थीव्दारा जीर्ण भौतिक संरचनाहरुको संरक्षणको माग ।

जीर्ण बनेका बौद्ध गुम्वाहरु र निर्माणाधीन गुम्बा तथा त्यस आसपास रहेका धार्मिक एवं प्राकृतिक चिकित्सा औषधीको संरक्षणको लागी आवश्यक पहल गरिदिन ढोरपाटन नगरपालिका, प्रदेश सरकार एव संघीय सरकारको ध्यान केन्द्रित हुन पनि शरणाथीहरुले माग गरेका छन् ।

ढोरपाटनलाई पर्यटकीय गन्तव्य बनाउन हामी तिव्वती शरणार्थीहरुको पनि योगदान रहेको छ, सरकारले हाम्रो समस्यालाई सम्वोधन गरेर नेपाली भएर नेपालीहरु वीच बाँच्न पाउने व्यवस्था मिलाई दिए हाम्रा उद्धार हुनेथियो, एकै स्वरमा भन्छन तिव्वती शरणार्थीहरु ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.