न बन्यो बास, न रह्यो गास : समयमै बजेट निकासा नहुँदा जनता आवास कार्यक्रमका भवनहरु अलपत्र !

मित्र खरेल, बागलुङ २०७६ बैशाख २४ । बागलुङ जिल्लामा जनता आवास कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा १ सय घर छनौट भएकोमा ७२ जनाले सम्झौता गरेर ६५ भवन सम्पन्न भैसकेको र चालु आवमा ११७ भवन छनौट गर्नु पर्नेमा १०९ सिफारिस गरिएकोमा १०१ घरको संझौता भएको र ९९ जनाले काम सुरु गरेको शहरी विकास तथा भवन कार्यालय बागलुङले जनाएको छ ।

जनता आवास कार्यक्रम अन्तर्गत निर्माण भैेरहेका भवनहरुमध्य काठेखोला गाउपालिकामा २, तमान गाउपालिकामा ८, बडीगाड गाउपालिकामा ५, ताराखोला गाउपालिकामा ८, ढोरपाटन नगरपालिकामा २२ र बाँकी १२४ भवनहरु बागलुङ नगरपालिकाको वडा नं ३,४,६,७,८,९,१०,११,१२ र १३ गरी १० वडाहरुमा निर्माण भैरहेको शहरी विकास तथा भवन कार्यालय बागलुङका सबईन्जिनियर योगेशचन्द्र काफ्लेले ईबागलुङलाई जानाकारी दिए । उनले समय मै बजेट निकासा नहुँदा बाँकी किस्ता रकम उपलव्ध गराउन नसकिएको बताउदैदजेठ महिनाको पहिलो सातामै बजेट निकासा हुने जानकारी प्राप्त भएकोले बजेट निकासा हुँदा साथै बाँकी किस्तारकम भुक्तानी दिने ईबागलुङलाई जानकारी दिए ।

प्रति भवन निर्माणका लागी रु ३ लाख ३३ हजार ३ सय ३३ बजेट विनियोजन गरिएको भएपनि धेरैजसोले संपूर्ण किस्ता रकम प्राप्त गर्न नसकेपछी भवनहरु अलपत्र अवस्थामा रहेको पीडितहरुले बताएका छन् । जनता आवास कार्यक्रको सुविधा पाएका केहिले किस्ता रकम नपाएपनि वरपर सरसापट ऋणधन गरी भवन निर्माण गरेर बाँकी रकम निकासाको लागी कार्यालयमा दबाब दिईरहेको अवस्था छ भने केहिको आर्थिक अवस्था नाजुक भएकोले भवन अलपत्र बनेर भत्किने अवस्थामा पुगेका छन् । भवन निर्माणको सम्झौता गर्नेहरु कसैले तेश्रो किस्ता र अन्यले दोश्रो किस्ता रकम मात्र पाउन सकेको बताएका छन् ।

जनता आवास कार्यक्रम अन्तर्गत भवन निर्माणको निम्ति छनौट गरिएका गल्कोट नगरपालिका ९ का ५ जना गरीब निमुखाहरुले योजनाको दोश्रो किस्ता रकम मात्र प्राप्त गरेकाले भवनहरु निर्माणाधीन अवस्थामै भत्किने संभावना रहेको वडाध्यक्ष तेजबहादुर थापाले ईबागलुङलाई बताए । पाँच भवनहरु मध्य तीन जनाले सरसापट गरे कर्कट पाताले छाएर पानीबाट जोगाउने प्रयास गरेपनि जयराम दर्जी र दिलबहादुर बिकले भने भवनको गाह्रोमा प्लास्टिकले ढाकेका छन् । बैकल्पिक बास नभएको ५/७ जनाको परिवारका लागी बिहान बेलुकी हातमुख जोर्न समेत समस्यामा रहेका जयराम दर्जी तथा दिलबहादुर बिकका परिवारको दुर्दशा अति नै कष्टकर र दयनीय भएको बताउदै भवन निर्माण गर्ने ज्यामीहरुले ज्याला भुक्तानी नपाउदा थप समस्यामा जेलिएको वडाध्यक्ष थापाले चिन्ता व्यक्त गरेका छन् ।

शहरी बिकास तथा भवन कार्यालयका ईन्जिनियर तेजेन्द्र पौडेलका अनुसार जनता आवास कार्यक्रम अन्तर्गत गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय पोखराबाट रु १० करोड विनियोजन भएकोमा २ करोड ५९ लाख रकम मात्र निकासा भएकोले सम्झौत गरिएका भवनहरुलाई किस्ता रकम भुक्तानी दिन नसकिएको इन्जिनियर पौडेलको भनाई छ ।

जनता आवास कार्यक्रमका अध्यक्ष एवं गण्डकी प्रदेशका सांसद ईन्द्रलाल सापकोटासंग हामीले यस कार्यक्रमका बारेमा जानकारी लिन खोजेका थियौँ, सांसद सापकोटाले आफुले यसको अध्यक्षता ग्रहण गरेको डेढ महिना मात्र भएको र एक बैठकमात्रमा भाग लिएकोले यस सम्वन्धमा बुझीरहेको जानकारी दिँदै समयमै आवश्यक बजेट निकासा नहुुनाले कार्यक्रममा समस्या देखिएको बताए ।

बजेट निकासाको लागी संघीय सांसद डा सूर्य पाठकलाई मन्त्रालयमा बुझ्न अनुरोध गरेको जानकारी दिँदै अध्यक्ष सापकोटाले थप बजेट निकासा भएको जानकारी भरखर प्राप्त भएको बताउदै दोश्रो किस्ता रकम पछी भुक्तानी नलगेकाहरुलाई तत्कालै उपलव्ध गराईने बताए ।

प्रदेश सांसद सापकोटाले कुनैले तेश्रो किस्ताको रकम लगेको र कसैले दोश्रो किस्ताको रकम लगेको देखिएको छ , जस्ले गर्दा योजना कार्यान्वयन गर्नमा जटिल समस्या देखिएको हो, यसको छिटो समाधानको लागि प्रयास गरिरहेको ईबागलुङलाई जानकारी दिए ।

तस्वीर- गल्कोट नगरपालिका ९ स्थित अलपत्र भवन : वडाध्यक्ष तेजबहादुर थापा

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.