विजय राना, बागलुङ, २०७३ चैत १३ । महिला तथा बालबालिका कार्यालय बागलुङले आईतबार आयोजना गरेको जिल्ला तथा सामुदायिक सेवा केन्द्रहरुको प्रगति समिक्षा कार्यक्रमका सहभागी वक्ताहरुले लैङ्गिक हिँसाका घट्नामा संलग्नलाई राजनीतिक दलबाटै संरक्षण हुने गरेको बताएका छन् । उनिहरुले सेवाकेन्द्रका प्रतिनिधिहरुले हिँसापीडित महिलाहरु न्यायको लागि सेवा केन्द्रमा आउँदा राजनीतिक दलले पीडकलाई भगाउने गरेको बताएका हुन् ।
अल्पकालीन महिला सेवा केन्द्र बागलुङका प्रमुख शर्मिला थापाले पीडकलाई कार्वाही गरि जवाफदेही बनाउनुको साटो दलहरुले उल्टै संरक्षण गर्ने गरेको भन्दै महिला माथि हुने हिँसा न्युनिकरणको लागि त्यस्तो कार्य बन्द गर्नु पर्ने बताईन् ।
कार्यक्रममा स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यले पीडितको सुरक्षा तथा व्यवस्थापनका लागि न्याय दिलाउने व्यक्तिहरु संयम भएर अभियानमा निरन्तर लाग्नु पर्नेमा जोड दिए ।
प्रहरी उपरिक्षक चन्द्र कुवेर खापुङले मादक पदार्थ सेवन र अबैध सम्बन्धका कारण जबरजस्ती करणी जस्ता अपराधका घट्नाहरुमा वृद्धि भएको बताउँदै त्यस्ता प्रकृतिका घट्नालाई समाजमा मिलाउने नभई अदालती प्रक्रियामा अगाडी बढाउनु पर्ने बताएका थिए ।
कार्यक्रममा तित्याङ महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष बिष्णु खड्काले केन्द्रमा आर्थिक बर्ष ०७३/७४ को फागुन मसान्त सम्म भएका ७९ वटा मुद्दा दर्ता भएको जानकरी दिँदै दर्ता मध्ये ६९ वटा फर्छौट भई १० वटा प्रक्रियामा रहेका जानकारी दिएकी थिईन् ।
जैमिनी नगरपालिका कुश्मिसेराकी खगिश्वरा शर्मा, नारायणस्थानकी धनादेवी शर्मा, खर्बाङकी शान्ति अधिकारील, बुर्तिवाङ महिला विकास बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष रत्ना शेरचन लगायतले आफ्नो केन्द्रमा दर्ता भएका लैङ्गिक हिँसाका घट्ना बारे जानकारी गराएका थिए ।
महिला विकास अधिकृत सीता अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महिला विकास निरिक्षक सरस्वती रेग्मीले गरेकी थिईन् ।