प्रशंगवस : स्मृतिमा पत्रकारिताको ५० वर्ष, ट्रेडल देखी अनलाईन पोर्टल सम्म …. !

पत्रकारिता जीवनको ५० वर्षमा धेरै उतार चढावको अनुभव गर्ने अवसर मिल्यो । प्रारम्भिककालमा ट्रेडल मेशिनमा ढिकीच्याँउ ढिकीच्याउँ गरेर ५ सय प्रति पत्रिका छाप्दाको अनुभूति अहिले विकसित विद्युतीय प्रविधिको तुलनामा अति नै परिश्रमपूर्ण थियो ।

२०२४ सालमा पाटन कलेजमा बीए अध्ययन गरी रहँदा कलेजका श्रद्धेय गुरु प्रिन्सिपल मंगलराज जोशीले कलेजको बार्षिक मुखपत्र ‘ललिता’ को विद्यार्थीहरुबाट मलाई संपादकमा मनोनयन गर्नु भएर संपादकको महत्वपूर्ण जिम्मेवारी प्रदान गर्नु भएको थियो ।

२०२१ सालमा त्रिचन्द्र कलेजमा आईएस्सी पढीरहँदा बागलुङतिरबाट उपचार वा झैझगडाका कारण काठमाडौ पुग्ने चिनजानका ईष्टमित्रहरुसंग सोधसाध गरी यतातिरको समाचार टिपेर गोरखापत्रमा दिने गर्थेँ। गोरखापत्रमा श्रद्धेय दाजुहरु रामचन्द्र न्यौपाने, भैरव अर्याल, भैरव रिसाल, पुरु रिसालसंग मेरो चिनजान थियो । यसै सिलसिलामा २०२७ सालमा म गोरखापत्रको विधिवत सम्वाददाता बनेँ । तस्कालीन सम्पादक गोपाल प्रसाद भट्टराईले मलाई नियुक्ती दिनु भएको थियो । त्यसको एक वर्ष पछी २०२८ साल असार १७ गते आफ्नै संपादन र प्रकाशनमा बागलुङ सदरमुकामबाट धौलाश्री साप्ताहिक पत्रिका प्रकाशनमा ल्याउने जमर्को गरेको हुँ । यसमा तत्कालीन गृहमन्त्री रुद्रप्रसाद गिरी र धौलागिरी अन्चलाधीश जयाप्रसाद शर्माको विशेष सद्भाव रहेको थियो । र अन्तत: उहाँहरुकै प्रेरणाबाट पत्रकारिता नै जीवनको अभिन्न अंग बन्न पुग्यो ।
***
त्यसबेला प्रेस (छापाखाना) न्यूज पेपर (पत्रिका छाप्ने कागज) मसी, बिभिन्न साईजका अक्षर (टाइृप) तथा अन्य प्रेस सम्वन्धि सामाग्री (औजार) लिन या राजधानी काठमाडौँ या छिमेकी मुलुक भारतको सीमा क्षेत्र गोरखपुर सम्म पुगेर ढुवानी गरेर ल्याउनु पर्ने बाध्यता थियो । त्यतिमात्रपनि कहाँ हो र, अक्षर कम्पोज गर्ने कम्पोजिटर भेट्टाउन पनि हम्मे हम्मे । धौलागिरी अन्चल समितिको धौलागिरी छापाखाना (प्रिन्टिङ मेशिन) थियो । त्यसमा धवलागिरी साप्ताहिक छापिन्थ्यो र धौलाश्री साप्ताहिक पनि सोहि छापाखानाबाट छाप्न सुरु गरिएको हो । मेरा श्रद्धेय दाजु स्वामी रमेशानन्द केसरीको अथक सहयोग प्रशंसनीय छ । धौलाश्री साप्ताहिकको प्रकाशनको प्रारम्भिक कालमा दाजु डा भूपेन्द्र खड्का, दाजु स्व. देवेन्द्रराज अधिकारी, देव बहादुर श्रेष्ठ, मित्रहरु लालचन्द्र राजभण्डारी, काजि रोशन, कल्याण श्रेष्ठ (पूर्व प्रधानन्यायाधीश) ध्रुब प्रसाद श्रेष्ठ, स्व. कृष्णप्रसाद दुखी, स्व. राजकुमार श्रेष्ठ, महेश कुमार श्रेष्ठ, दिपेन्द्र केसी, महेन्द्र पन्त, अशोक गोविन्द राजभण्डारी लगायत थुप्रै समकालीन मित्रहरुको अपार सहयोग प्राप्त भएको यहाँ स्मरण गर्नु अन्यथा नहोला ।

धौलाश्री साप्ताहिकको विमोचन ।
समाचार श्रोतकै कुरा गरौँ, टेलिफोन, मोबाईलको सुविधा थिएन । काठमाडौबाटा बागलुङ चिठी पत्रपत्रिका आईपुग्न ५ देखी ७ दिन सम्म लाग्थ्यो । तत्कालीन अवस्थामा जिल्ला र यसका आसपासका समाचारहरु प्राप्त गर्न पनि निकै सास्ती थियो । आपसी चिनजान, विश्वास र सम्पर्कका आधारमा समाजमा घटेका केहि असामाजिक घटनाहरुका बारेमा जानकारी लिनु पथ्र्यो ताकि यो सूचना पत्रिकामा कसरी पुग्यो भन्ने सरोकारवालाहरुलाई थाहा नहुने विश्वासका साथ साथीहरुले सम्प्रषण गर्नु हुन्थ्यो । यस्ता सुचना या समाचारहरुमा सरकारी कार्यालयहरुमा हुनेगरेका गलत क्रियाकलाप (भ्रष्टाचार अनियमितता) पन्चभलाद्मीहरुका अनैतिक कार्यहरु पाठकहरुका रोजाईमा पर्ने हुनाले यसप्रकारका खोजमुलक सत्यतथ्यमा आधारित समाचार प्रकाशित गर्ने तर्फ विशेष चासो बढ्यो । जसका कारण केहि प्रशासकहरुको कोपभाजनको शिकार पनि हुन पुगियो ।

प्राय: जसो ढीलोगरी प्राप्त समाचार अनुसार भनेर समाचारको सुरुवात गरिन्थ्यो, किनकि म्याग्दी, मुस्ताङ, डोल्पो र पर्वत आसपासका खबरहरु एक महिना सम्ममा पत्रिकाको कार्यालयमा आईपुग्थे बरु राजधानी काठमाडौका समाचारहरु भने रेडियो नेपाल सुनेर त्यसलाई टेप गरेर प्रकाशित गर्ने गरिन्थ्यो ।

परिश्रम र प्रतिक्षाको फल मीठो हुन्छ । कुनै कुरामा हतार गर्नु आफैमा प्रत्युत्पादक हुन सक्छ । जीवनमा धैर्यको महत्वपूर्ण भूमिका रहन्छ । धैर्यलाई आत्मसाथ गर्न सके अवश्य फल मिल्छ । धौलाश्री साप्ताहिक प्रकाशित गरेको १० वर्ष पछी २०३८ साल माघमा श्री ५ वीरेन्द्र तथा श्री ५ ऐश्वर्यको ईजिप्टको राजकीय भ्रमण तथा बहराईनको अनौपचारिक भ्रमण दलको सदस्यको रुपमा सरीक हुन पाउनु मेरो अहोभाग्य थियो भने संयुक्त राज्य अमेरिकी सरकारको निमन्त्रणामा ईन्टरनेशनल भिजिटर्स प्रोग्राम अन्तर्गत विक्रम सम्वत २०३९ साल कात्तिक महिनामा एक महिना अमेरिका भ्रमणको शुअवसर मिल्यो । यो पनि धौलाश्रीको योगदान थियो । अहिले पनि वर्षै पिच्छे विश्वका विकसित देशहरुको भ्रमण गर्ने अवसरले पछ्याई रहेको छ । त्यसैले म भन्छु, अर्काको कुभलो नचिताउँ, आफ्नो कर्तव्य प्रति दत्तचित्त रहुँँ । आफुले पनि गरौँ, अरुलाई पनि गरिखान दिउँ, कसैमाथी नाकाबन्दी गर्ने कुचेष्टा नगरौँ । पत्रकार मित्रहरुमा मेरो सादर आग्रह छ ।
***
अहिले त्यस्तो छैन । अफसेट प्रिन्टिङ मेशिनको प्रवेश पछी बागलुङमा पत्रिका छपाईले ठुलो फड्को मा-यो । साप्ताहिक पत्रिकाहरु दैनिकरुपमा रुपान्तरित हुन थाले । टेलिफोन, मोबाईल, ईमेल, फ्याक्स आदि सन्चार सम्पर्कका माध्यमहरुले समाचार संकलन र प्रकाशनमा निकै छरितो पन ल्यायो । डिजिटल फोटोग्राफीको विकास सँगै पत्रपत्रिकाहरुमा आवश्यकता अनुसार तस्वीरहरु छापिन थाल्यो । पछिल्लो समय त अनलाईन पत्रिकाको बाढीले गर्दा सेकेण्ड सेकेण्डमा समाचार अपडेट गरी पाठकहरुलाई सुसूचित गर्ने होडबाजी नै चलेको छ । सामाजिक सन्जाल फेसबुक पनि सूचनामुलक जानकारी दिन पछी छैन ।

२०२८ साल असार देखी २०५८ साल सम्म साप्ताहिक र त्यस पछी २०६३ सालको बैशाख महिना सम्म धौलाश्री पत्रिका दैनिकरुपमा प्रकाशित गरेपछि दुईवर्ष प्रकाशन बन्द रहेर २०६५ साल साउन देखी धौलाश्री डट कम अनलाईन र पछिल्लो समय सुगंगा सन्चार प्रालिबाट ईबागलुङ डटकम (सूचना विभाग काठमाडौँमा दर्ता नं ४९५/२०७४/२०७५) नियमितरुपमा अपडेट गरि प्रकाशित हुँदै आएको छ । केहि समय धौलाश्री अनलाईन ‘कानेखुसी’ डटकम र ‘तजवीज’ डटकम अनलाईनमा पनि प्रकाशित भएको थियो ।

अनलाईन पत्रकारिता सुरुगरेपछी पुराना र नयाँ मित्रहरुबाट निकै राम्रो सहयोग प्राप्त भैरहेको छ । सूचनाहरु तत्कालै फोनबाट टिपाउने र मेल मार्फत पठाउने सहकर्मी साथीहरुको स्वत:स्फूर्त सहयोगले ईबागलुङ डटकम (धौलाश्री डटकमं) पाठकहरुवीच निकै विश्वसनीय एवं लोकप्रिय बनेकामा आत्म सन्तोषको अनुभूति मिलिरहेको छ । धन्यवाद छ ती सबै सहकर्मी पत्रकार मित्रहरुलाई जस्को परिश्रमले ईबागलुङलाई आजको स्थानमा पु-याउन सहयोग पुग्यो ।

रेडियो परिवर्तन बुर्तिवाङका स्टेशन.म्यानेजर राम सुवेदी (संपादक) तथा अध्यक्ष लोकेन्द्र निराशी, बडीगाड खर्वाङ स्थित रेडियो सारथीका समाचार संपादक कमल पौडेल जस्ता सदैव असामाजिक गतिविधीप्रति सशक्त कमल चलाउने जुझारु पत्रकार मित्रहरुको निरन्तर सहयोग र शुभेच्क्षा पाउन सक्नाले नै ईबागलुङ (धौलाश्री) अहिलेको अवस्था स्थापित हुन पुगेको बास्तविकतालाई कहिल्यै विर्सन सकिन्न ।

पत्रकारहरु प्रशान्त घर्ती, कविता घर्ती मगर, बिमल खडका, हेम विश्वकर्मा, ढोरपाटन रेडियोकी तत्कालीन स्टेशन म्यानेजर, शान्ति छन्त्याल, हालका स्टेशन म्यानेजर छविलाल पाण्डे, पत्रकार डम्मर बुढामगर, पत्रकार मिनु विसी, ढोरपाटनबाट नियमित समाचार सम्प्रेषण गरेर सहयोग गर्ने ईन्द्र बहादुर शाही, दीपक पराजुली, राजु आचार्य, तमानका युवा पत्रकार बसन्त घर्तीमगर, बुर्तिवाङ रेडियोकी पत्रकार झरना कँडेल, अमिशा कुँवर, बोवाङ ढोरका सहकर्मीहरु भतिजी दिलमायाँ अदै र अस्मिता कायत, पत्रकारहरु सुमन सुनार, योगेन्द्र विश्वकर्मा, टीकाराम भट्टराई, खेम अर्याल, निसीका पत्रकारहरु कुम्बिर विश्वकर्मा, झम सिर्पाली, मिलन हमाल, बडीगाड गाउपालिका पत्रकार दिनेश शर्मा, वामी टक्सार स्थित रेडियो पुष्पान्जलिका पत्रकार अनिश शर्मा गैरे, पत्रकार कौरब खत्री, पत्रकार प्रेम सुनार (संपादक), माधव खरेल, गल्कोट एफएमका स्टेशन म्यानेजर पत्रकार घनश्याम गौतम, पत्रकार गुमानसिँह भण्डारी, पत्रकारहरु बालकृष्ण सुवेदी, कृष्ण कँडेल, चन्द्रमणी न्यौपाने र मित्र खरेल, ताराखोलाका पत्रकार पूर्णभद्र निउरे, खगेन्द्र विश्वकर्मा, मन्दिप निउरे, बिहुँका पत्रकार भरतप्रसाद सापकोटा, बरेङ गाउपालिका स्थित रेडियो विहानीका पत्रकार व्दय प्रकाश छन्त्याल र शेखर थापा, रेडियो सुभेक्षा कुस्मीसेराका पत्रकार व्दय सुजन प्रेमी र सन्ध्या आचार्य, रेडियो कुुसुम कुस्माका पत्रकार निर्मल पौडेल, पर्वतका पत्रकार महेन्द्र केसी लगायत थुप्रै पत्रकार मित्रहरुको मायाँ र सद्भाव स्तुत्य छ ।

मुस्ताङ जोमसोमबाट पत्रकार केशव विश्वकर्मा, म्याग्दी बेनीबाट पत्रकार अगन्धर तिवारी, सन्तोष गौतम लगायत पत्रकार मित्रहरुको सहयोग प्रशंसनीय रह्यो ।

बागलुङ सदरमुकाममा रहेर पत्रकारिता गर्दै आउनु भएका थुपै पत्रकार मित्रहरुको न्यानो सद्भाव ईबागलुङले प्राप्त गरिरहेको छ । पत्रकार ज्ञानेन्द्र गौतम(संपादक) फोटो संपादक किरण आचार्य, पत्रकार महासंघका अध्यक्ष दिल श्रीस, पत्रकार बहिनीहरु कोपिला कँडेल (संपादक), रविना बोहोरा, सिर्जना पन्त, पत्रकार राम अबिरल, विजय राना, प्रदिप पन्त, रामबहादुर जीसी, सुमन जीसी, नारायण रिजाल, ताराप्रसाद शर्मा, राजेन्द्र ढकाल, सुवास पन्त, कृष्ण सापकोटा जस्ता पत्रकार मित्रहरुको सहयोगको अभावमा ईबागलुङको लोकप्रियतामा चारचाँद लाग्ने थिएन ।

बिहुँमा जीप दुर्घटना
अनलाईन पोर्टलको प्रकाशन सँगै कसरी छिटो छरितो गरी समाचार सम्प्रेषण गर्ने होडबाजी चलि रहेकैछ । यसै सिलसिलामा ४ वर्ष पहिले सन २०१५ जनवरी ९ तारीखको अपरान्ह ३ बजेर २६ मिनेटको समयमा पत्रकार झरना कँडेलले बिहुँबाट ४।५ तस्वीरहरु पठाउनु भयो । तस्वीर जीप दुर्घटनाको थिया,े जुन जीपमा पत्रकार सहकर्मी परिवर्तन रेडियोका स्टेशन म्यानेजर राम सुवेदी र समाचारवाचिका कँडेल बागलुङ देखी बुर्तिवाङ यात्रा गरिहनु भएको थियो । तस्वीरमा पत्रकार सुवेदीको शिरमा चोट लागेको भएपनि अरु यात्रुहरुको उद्धारमा लागेको देखिन्थ्यो । दुर्घटनाको ५ मिनेट भित्रै तस्वीर सहित समाचार धौलाश्रीमा अपडेट गरिएको यो पहिलो समाचार बन्यो । दुर्घटना डरलाग्दो भएपनि कुनै मानवीय क्षेती भने भएको थिएन । क्षणभरमै यो समाचार भाईरल बन्यो ।

बुर्तिवाङमा आगलागी
यतिमात्रै होईन, सन २०१८ जनवरी २ को मध्य रात्रि ०.५८ बजेको समयमा झरना कडेलले ‘अंकल बुर्तिवाङमा आगलागी …’भनेर केहि आगलागीका तस्वीर पठाउनु भयो र त्यस्को विवरण ईलाका प्रहरी कार्यालय बुर्तिवाङमा सम्पर्क गरी आगलागीको समाचार अपडेट गर्न भन्नु भयो । हामी सबै आयो निभाउनमा लागेका छौँ । ईबागलुङमा समाचार अपडेट गरिएको क्षणभर मैै त्यो समाचार भाइरल बन्यो, समाचारले निकै तहल्का मच्चायो ।

२०७३ साल साउन १० र ११ गते तमान, भूजी र निसी (बडीगाड) खोलामा आएको भीषण बाढी पहिरोका समाचार राति साढे १० बजेको समय देखि विहान उज्यालो नभएसम्म कभर गर्ने पत्रकार बिमल खड्का र सुवास पन्तका साथै अन्य पत्रकार मित्रहरुको अथक परिश्रम काबिले तारीफ थियो । टर्चलाईटको रोशनीमा तस्वीर खिचेर पलपलको खवर हरपल अपडेट गरेर सुसूचित गर्ने उहाँहरुको प्रयास साँच्चीकै प्रशंसनीय थियो ।सहकर्मी राम सुवेदीले अधिकारीचौर प्रभावित क्षेत्रमा पुगेर बाढी पहिरो बाट पुगेको अपुरणीय क्षतीको स्थलगत सचित्र विवरण, खर्वाङबाट सहकर्मी कमल पौडेलले त्यस खण्डमा बडीगाड खोलाले मच्चाएको उत्पातका बारेमा बारम्बार जानकारी दिएर प्रकृतिको यस दुखद घटनाबारे समाचार अपडेट गर्नु भएको थियो ।

बडीगाड खोलामा आएको बाढी पहिरोले मच्चाएको ताण्डव मात्र नभएर सहकर्मी पौडेलले रिघाको सुख्खा पहिरोले दरम खोला थुनिएर बनेको ताल र त्यस्बाट हुन सक्ने संभाव्य खतराका बारेमा समयमै सुसूचित गर्नु, बडीगाड खोलामा नृशंस हत्या गरिएर बगाइएकी एक महिलाको हत्या प्रकरणलाई गम्भीररुपमा लिएर त्यसको पर्दाफास गरी, खर्वाङ केहि वरै रहेको वामीटक्सार जाने दरम खोलाको पुल नजिकै लागु औषध कारोबारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको समाचारलाई जति छिटो १० मिनेटममै सम्प्रेषण गर्नु भयो त्यस्ले अनलाईन पत्रकारिताको महत्वलाई बढायो ।

मैले पत्रकार मित्र पौडेललाई तत्काल फोन गरेर समाचारको लागी धन्यवाद ज्ञापन गर्दै भने साँझ परिसक्यो कमलजी, प्रहरीले नियन्त्रणमा लिएका अभियुक्तहरु, चरेसको (तस्वीर) भए कति राम्रो हुन्थ्यो भन्न नपाउदै उहाँले पख्नुस हैत म तस्वीर सहित पठाउने प्रयास गर्छु भनेर फोन राख्नु भयो । नभन्दै १५ मिनेटको अन्तरालमा तस्वीर पनि आयो र मैले ईबागलुङमा समाचार अपडेट गरेँ । पत्रकार मित्र पौडेल शारीरिकरुपमा जति अग्लो देखिनु हुन्छ व्यवहारमा त्यत्तिनै उच्च विचार राख्नु हुन्छ । पत्रकार मित्र पौडेलमा अन्तर्निहीत सरल र स्वच्छ स्वभाव नै उहाँको पहिचान बनेको उल्लेख गर्न पाउँदा खुशी अनुभूति भैरहेको छ ।

ताराखोला जस्तो दुर्गम स्थलमा सामाजिक संस्थामा आवद्ध रहेर शैक्षिक पेसा गर्दै आउनु भएका सन्चारपे्रमी पूर्णभद्र निउरे तथा पत्रकार खगेन्द्र विश्वकर्मा बाट बेला मौकामा प्राप्त हुने सुझावले मलाई प्रेरणा प्रदान गरेको बताईरहदा औधि खुसीको अनुभव हुन्छ । उहाँहरुबाट प्राप्त सहयोग र सुझाव चिन्तन योग्य रहेका छन् ।

विदेशमा रहनु हुने पत्रकार मित्रहरुले पनि समाचार सम्प्रेषण गरेर ईबागलुङलाई प्रशंसनीय सेवा प्रदान गरिरहनु भएको सन्दर्भ पनि त्यत्तिकै महत्वपूर्ण रहेको छ । युरोप, अमेरिका, कतार, युएई जापान लगायतका मुलुकहरुबाट नेपाली पत्रकार बन्धुहरुले निरन्तर समाचार सम्प्रेषण गरिहनु भएको छ । बेल्जियमबाट दिपेन्द्र केसी, महेन्द्र पन्त, अमेरिकाबाट विवेक खडका, युएईबाट सचिन्द्र श्रेष्ठ, कतारबाट उद्धव मगर, जापानबाट रिष्मेली मेघराज, राजविन थापा, अस्ट्रेलियाबा सानु घिमिरे, बहराईनबाट भव कुँवर, युएईबाटै शिवसंगम केसी, खिमलाल पाण्डे लगायतका मित्रहरुबाट ईबागलुङले प्राप्त गरेको सहयोग र सद्भाव उल्लेखनीय रहेको छ ।

२०७४ साल साउन २० गते दिउँसो साढे १२ बजेतिर सहकर्मी डम्बर बुढामगरको फोन आयो । उहाँ संग प्रत्यक्ष चिनजान त थिएन, कहिले कसो बुर्तिवाङबाट समाचार सम्प्रेषण गर्नु हुन्थ्यो । के छ डम्बरजी ? मैले सोधेँ । सर म अहिले हुल्दीको पहिरोको धुरीमा आईपुगेकोछु । नेटले राम्ररी काम गरेको छैन समाचार टिप्नुस्त, छिटो….। यहाँ पहिरो जानेक्रम रोकिएको छैन, तस्वीरहरु पनि मेसेन्जरमा पठाएको छु ….फोन राख्नुस म कलव्याक गर्छुु भन्दापनि उहाँ मान्नु भएन । चाँडो टिप्नुस यहाँ नेटवर्कले राम्रो काम गर्दैन भनेर घच्घचाई रहनु भयो । सुरक्षा प्रथम हो, आफु सुरक्षित हुने काम गर्नुस, तल झर्नुस समाचार पछी अपडेट गरौँला भन्दापनि उहाँ मान्नु भएन र मैले छिटो छिटा समाचार टिपेर पहिरोले देविस्थानको हुल्दी गाउँनै उच्च जोखिममा : गाउवासी घरवास छोडेर जंगलतिर ! शीर्षकमा ईबागलुङमा समाचार अपडेट गरेँ । ज्यानै हत्केलामा राखेर समाचार सम्प्रेषण गर्ने पत्रकार मित्र बुढामगरको मनसुवाको जतिसुकै प्रशंसा गरेपनि कम नै हुन्छ । क्षण भरमै यो समचार ४ हजारले बाँडे (शेयर) पनि । सहकर्मी किरण आचार्य, छविलाल पाण्डे, सुमन सुनार, कुम्विर विश्वकर्माले पनि पहिरोको समाचार अपडेट गरिरहेर त्यस्को जानकारी पाठक समक्ष पुराउने काम भैरहेको थियो ।

तुरतुरेको पहिरो ।
पछिल्लो समय गत २०७५ साल कात्तिक महिनामा ढोरपाटन र बडीगाड गाउपालिकको सीमाना भिङगिठेको तुरतरेमा गएको भीषण पहिरोबाट मध्यपहाडी लोकमार्ग अबरुद्ध बनेको र बडीगाड खोला थुनिएर विशाल ताल बनेको समाचारलाई पहिरो गएलगत्तै राति १०.३० बजे देखी लगातार (रातभर नै) ईबागलुङमा समाचार अपडेट गरेर सहकर्मी पत्रकार दिनेश शर्माले मलाई सुत्न दिनु भएन भन्ने भन्दापनि पत्रकारिता क्षेत्रमा उहाँमा रहेको लगनशीलता, आत्मविश्वास र जागरुकता साँच्चिकै प्रशंसनीय मान्नु पर्छ । यतिमात्र हो र, सहकर्मी शर्माले तुरतुरेको पहिरोको स्थलगत विवरण दिई रहँदा उहाँकै अगाडीे पहिरोबाट हिँडी रहेकी एक महिलालाई ढुंगा खसेर थिचिएको तस्वीर खिचिरहँदा ढुंगाको छिर्कोले उहाँलाई लागेर बालबाल बच्नु भएको थियो । आफ्नो मोबाईल बिग्रिएपनि अरुसंग मागी तस्वीरहरु खिचेर सम्प्रेषण गर्नु भयो, जस्लाई हजारौँ पाठकहरुले अभिरुची पूर्वक पढ्ने अवसर प्राप्त भयो । यसका लागी पत्रकार मित्र शर्मा धन्यवादका पात्र हुनुहुन्छ ।

यहाँ प्रस्तुत गरिएका यी त केहि उदाहरण मात्र हुन् । यसलाई अन्यथा नलिईकन सबै सहकर्मी पत्रकार मित्रहरुले जे जसरी जस्तो सुकै परिस्थितीमा पनि बिचलित नभै समाचार सम्प्रेषण गर्नु भएको छ, त्यस्का लागी हार्दिक धन्यवाद दिनु मेरो पहिलो कर्तव्य बन्दछ । ७६ वर्षको पाउदानमा पत्रकारितासंग लडीबुडी खेल्दैे जीवनको उकाली ओराली पारगर्ने मेरो प्रयासमा यहाँहरु जस्ता जुझारु, सशक्त, क्रियाशील युवा पत्रकारहरुको आत्मिय मायाँ र सद्भाव नै प्रमुख हो भन्ने मैले सोँचेको छु । धन्यवाद ।

मध्य पहाडी लोकमार्गको तुरतुरे खण्ड २३ दिन पछी सन्चालनमा !

एकहप्ता देखी लोकमार्ग अवरुद्ध, बैकल्पिक मार्ग नहुँदा जनजीवन कष्टकर !

आजको तस्वीर : ज्यान हत्केलामा राखेर पहिरो वारपार !

तुरतुरेको पहिरोमा परेर एक जना महिलाको मृत्यु !

स्थानीय र प्रहरीको अथक प्रयासले आगो नियन्त्रणमा आएपछी, जोगियो बुर्तिवाङ बजार !

गीता नेपालीलाई लब्दीखोलामा फाली हत्या गरिएको पुष्टी : अभियुक्त हिरा बलामी प्रहरी नियन्त्रणमा

बडीगाड खोलामा फेलापरेको महिलाको शव गुल्मी अमराईकी गीता नेपालीको भएको खुलासा

बडीगाड खोला किनारमा समयमै तटवन्ध निर्माण नगरिदा बुर्तिवाङ बजार उच्च जोखिममा

बडीगाडको बाढीले बागलुङ,गुल्मी,पाल्पा समेत २१ जनाको मृत्यु, कैयौँ बेपत्ता !

बडीगाडको बाढीले उत्पात, नदी किनार जलमग्न, सयौँ रोपनी जग्गा बगायो !

बागलुङ २०७६ बैशाख २२ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *