बागलुङ नगरपालिका र प्रदेश सरकारको रु ३ लाख लगानीमा सीम-कालीमाटी सडक कालोपत्रे कार्य सुरु

बागलुङ २०७६ बैशाख १९ । बागलुङ नगरपालिका वडा नम्बर ६ सिमदेखि वडा नम्बर ७ कालिमाटीसम्मको सडक कालोपत्रेको काम थालेको छ । नगरपालिकाको प्राथमिकतामा रहेको उक्त सडक प्रदेश सरकारसँगको सहकार्यमा कालोपत्रेको काम थालिएको हो । प्रदेश सरकारको एक करोड रुपैयाँ र नगरपालिकाको १ करोड ९२ लाख रुपैयाँको लागतमा सिम–कालिमाटी सडक खण्डको एक हजार आठ सय मिटर सडक कालोपत्रे गर्ने कामको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले शिलान्यास गरेका छन् ।

आठ मिटर चौडा सडकमा पाँच मिटरमा कालोपत्रे हुने र बाँकी तीन मिटर दायाँ बाँयाँ छोड्ने गरी सडकको स्टमेट गरीएको छ । आगमी ६ महिनामा निर्माणको काम सम्पन्न गर्नेगरी फेवा कन्ट्रक्सनले कामको ठेक्का पाएको छ । नगरका योजनामा प्रदेश सरकार र केन्द्र सरकारले समेत साझेदारीमा बजेट उपलव्ध गराएको नगरप्रमुख पौडेलले बताए । पाँच वर्ष भित्र नगरका सबै वडामा नगर बस चल्नेगरी सडकको स्तरोन्नती र कालोपत्रे गर्ने नगरपालिकाको योजना अनुसार सडक विस्तार तथा स्तरोन्नतीको काम भइरहेको प्रमुख पौडेलले बताए । सडक खण्डको शिलान्यास गर्दै पौडेलले सडकलाई रोजगारीसँग जोडेर उपयोग गर्न स्थानीय सर्वसाधारणलाई आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस वडा समितिका अध्यक्ष पदमबहादुर क्षेत्री, नेकपाका विकास बिक, नगरपालिकाका इन्जिनियर मनोज शर्मा लगायतले बोलेका थिए । वडा नम्बर ७ का अध्यक्ष खगराज सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रम स्वागत वडा नम्बर ६ का अध्यक्ष खिमराज सापकोटा र सञ्चालन तेजप्रसाद न्यूरेले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.